कृषि

आजदेखि डीडीसी दूध लिटरको ९७ रुपैयाँ

इकागज |
चैत २, २०७९ बिहीबार ७:७ बजे

काठमाडौं - सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आजदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ । संस्थानले बिहीबारदेखि लागु हुनेगरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मूल्य बढाइसकेका छन् ।  

'मन्त्रिपरिषदले निर्णय अनुसार बृद्धी भएको मूल्यमा संस्थानले किसानबाट दूध खरिद गरिसकेको छ भने बिहीबार (आज) बाट उपभोक्ताले नयाँ मूल्य अनुसारको दुध पाउनेछन्,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने ।


उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ । यसअघि सो दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा बिक्री गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाइएको छ । जसअनुसार अबदेखि हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ । 

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैया बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।  


Author

थप समाचार
x