कृषि

पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा पर्ने गरेको छ : मन्त्री भुसाल

इकागज |
जेठ १४, २०८० आइतवार १७:६ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री वेदुराम भुसालले मानव स्वास्थ्य सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताएका छन् । आइतबार काठमाडौँमा भएको महिला पाराभेटेनरीयनहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषि मन्त्री भुसालले यस्तो बताएका हुन् ।

उनले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्व दिने जिकिर गरे । उनले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रूपले जोडिएको विषय बुझ्न नसकिएको बताए ।


मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्व नदिएको स्वीकार गरे । उनले अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानुन परिमार्जन र नयाँ कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताए ।

मन्त्री भुसालले भेटेनरी क्षेत्रमा देशैभर महिलाहरू सक्रिय सहभागिता देख्दा खुसी लागेको बताए । उनले समाज रूपान्तरणको क्षेत्रमा महिलाले नेतृत्व लिन आवश्यक रहेको भन्दै अब महिलाहरू हेपिए भनेर बस्न नहुने बताए । उनले महिलाहरू चुलो चौकामा मात्रै बस्नुपर्छ भन्ने युगको अन्त्य भएको पनि बताए । 

 


Author

थप समाचार
x