कृषि

जाे दूध बेचेर मासिक २ लाख बढी कमाउँछन्

इकागज |
जेठ २३, २०८० मगलवार २१:१ बजे

मकवानपुर- गाई-भैँसी पालेर, खेती गरेर पनि जीवन स्तर माथि उठ्छ र ? व्यापार व्यवसाय र नोकरीले जीवन सरल बनाउँछ भन्ने धेरैको सोच हुन्छ । तर, गाई-भैँसी पालक किसानहरू यसैबाट मनग्गे कमाउँछन् ।

यसका उदाहरण हुन् मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–१६ हटिया निवासी उपेन्द्रप्रसाद गौतम । गौतमले विगत साढे दुई वर्षअघिबाट गाई र भैँसी पालन गर्दै आएका छन् । फरक प्रकृतिका ३ वटा गोठमा गाई र भैँसी पालेका छन् उनले ।


गौतम दम्पतीको हर समय गोठमै बित्छ । गाई-भैँसीको स्याहारमा उनीहरू दुई मात्रै व्यस्त छैनन् । उनीहरूले अन्यलाई रोजगारी समेत दिएका छन् । हाल गौतमको गोठमा १९ वटा गाई र तीन वटा भैँसी छन् ।

गाई पाल्नका लागि सुधारिएको गोठ निर्माण गरिएको छ । प्रत्येक गाईको टाट्नुमा धाराबाट नै पानी झर्ने बनाइएको छ । आधुनिक गोठका कारण पनि गाई पालन निकै सहज छ । उनी दैनिक ८० लिटर दूध घर नजिकैको चेतनशील दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा बिक्री गर्छन् । दूध बिक्रीबाट मासिक २ लाख ८० हजार रुपैयाँ आम्दानी हुन्छ गौतमको ।

उनको सुधारिएको गोठ निर्माण गर्नका लागि नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइ हेटौंडाले चेतनशील दुग्ध उत्पादक सहकारी संस्था मार्फत सहयोग प्राप्त गरे । त्यसपछि गाई-भैँसी पालनमा उत्साही बने । 'संस्थाले ५ वटा गाई खरिदमा पनि सहयोग प्रदान गर्यो,' उनले भने 'त्यसपछि अझै गाई-भैँसी पाल्ने जोश थपियो ।'

'काम गरेपछि मेहेनत अनुसार आम्दानी सबै ठाउँमा हुन्छ, हामी पनि सन्तुष्ट छौं तर, गाई-भैँसीका लागि दाना, ढुटो, चोकर लगायतका धेरै खर्च बढी छ,' उनले भने ।

गौतम मात्रै हैनन् उनी नजिकै अर्को परिवार पनि छ । जसले दैनिक ७० लिटर दूध बेच्छ । उनी हुन् शम्भुप्रसाद दुलाल । दैनिक ७० लिटर दूध बिक्री गर्दै आएका छन् दुलालले । यसै क्षेत्रका रणबहादुर न्यौपानेले दैनिक ५० लिटर दूध बिक्री गर्दै आएका छन् । पछिल्लो एक वर्षमा सहकारी मार्फत गाई खरिद गर्न र सुधारिएको आधुनिक गोठ निर्माणका लागि इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइ हेटौंडाले चेतनशील दुग्ध उत्पादक सहकारी संस्था मार्फत सहयोग गरेको छ ।

याे सहकारीमा दैनिक ४ हजार लिटर दूध संकलन हुने गरेको छ । सहकारीका अध्यक्ष महेश ढकालका अनुसार व्यावसायिक किसानको सङ्ख्या बढेपछि दूध संकलन बढेको छ ।

इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजनाले दूध उत्पादन वृद्धिका लागि ६६ लाख ८३ हजार ३ सय ६७ रुपैयाँ सहकारी मार्फत १२ जना किसानका लागि सहयोग गरिएको कार्यालयका प्रमुख डाक्टर बिदुरप्रसाद गौतम बताए । सहकारी, बैंकको लगानी र इकाइको अनुदानमा दूध उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ सहकारीकाे ३ हजार लिटर क्षमताको चिलिङ भ्याट खरिद, स्टीलनेस क्यान, पानी टंकीलगायतका सामग्रीहरू खरिद गरिएको सहकारीका व्यवस्थापक दिपक ढकाल बताउँछन् ।

सहकारीमा दूध बिक्रीबाट नै यहाँका किसानहरूले मासिक १ करोड रुपैयाँ भुक्तानी लिने गरेका छन् । अहिले यस क्षेत्रका ४ सय ३० जना किसानले दैनिक दूध बिक्री गरिरहेका छन् । 

हटियाका किसानले दूध उत्पादनमा वृद्धि गर्नका लागि दुग्ध सहकारीको २८ लाख ९ हजार रुपैयाँ, बैंकको ४४ लाख ४६ हजार र इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइ हेटौंडाले ६६ लाख ८३ हजार रुपैयाँ लगानी गरेको कार्यालयका प्रमुख डाक्टर गौतमले बताए ।

सहकारीकै नेतृत्वमा १२ वटा नयाँ गोठ निर्माण गरेर ६० वटा गाई थप गरिएको हो । बितेको आर्थिक वर्षमा यसका लागि कार्यालयले सम्झौता गरेको भए पनि चालु आर्थिक वर्षमा काम सकिएको उनले बताए ।

लप्की स्किन रोगका कारण पछिल्लो समय सबैजसो किसानका गाई बिरामी परेका छन् । जस कारण दूध संकलन घटेको अध्यक्ष ढकालले बताए । संकलन गरिएको दूध जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड मकवानपुरलाई बिक्री गर्दै आएको छ ।​ लप्की स्किन रोगका कारण गाईहरू बिरामी हुने र दूध संकलन कम हुने समस्याबारे सरोकारवाला निकायमा पटकपटक जानकारी गराउँदा पनि कुनै निरूपण नभएको किसानहरूकाे गुनासाे छ ।


Author

थप समाचार
x