कृषि

मलमा मन्त्रीको झेली : आयो..आयो... अन्तत: आएन !

इकागज |
जेठ ३१, २०७८ सोमबार ९:५५ बजे

काठमाडौँ : नेपालमा मनसुन भित्रिनुअघि सरकारको दाबी गर्‍यो, किसानलाई रासायनिक मलको अभाव हुँदैन । गत १४ फागुनमा तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले यो दाबी गरेकी थिइन् । सिंहदरबारस्थित मन्त्रालयमा पत्रकारहरूसँग छलफल गर्दै मन्त्री अर्यालले यसपटक रासायनिक मलको अभावमा किसानहरू छट्पटाउनु नपर्ने बताएकी थिइन् ।

मन्त्री अर्यालको भनाई यस्तो थियो-


 ‘तपाईहरूलाई ढुक्कको साथ भन्छौँ अब कृषि मन्त्रालयमा रासायनिक मलको अभावमा किसानहरू छट्पटाउनु पर्दैन, त्यसको आवश्यकता पूर्ति गर्नेगरी हाम्रो क्षमतालाई विकास गरेर हामी अगाडी बढ्याछौँ । खुल्ला सिमानालाई अहिले बन्द गर्न सकिदैन । ठ्याक्कै बन्दै गर्छौ भनेर जान सक्दैनौँ तर सिस्टममा ल्याउनको निम्ति हामी प्रयत्न गर्छौ । खुल्ला सिमानाको कारणबाट मल भित्रिने र त्यसबाट हुने जे विकृतिहरु छन् त्यसलाई ब्यवस्थित गर्नको निम्ति हाम्रो ध्यान पुग्छ र हामी गर्छौँ ।’

मलको अभावमा किसानहरू छट्पटाउनु नपर्ने मन्त्रीको दाबीको तीन महिनापछि किसानहरू छट्पटाउन थालेका छन् । कञ्चनपुरका किसानले मलखाद नपाउँदा खेती फस्टाउनेमा चिन्तामा छन् । वेदकोट नगरपालिका–५ का लालबहादुर डगौँरा भन्छन्,'न सरकारले किसानलाई कोरोना विरुद्धको खोप लगाउन लक्षित समूहमा राख्यो न त चाहिएका बेला मलखाद उपलब्ध गराउन पहल नै गर्‍यो ।'

उनले खेती गर्ने बेला हरेक समय मलखाद अभाव झेल्नुपरेको दुखेसो पोखे । भारतबाट यहाँ लुकिछिपी आउने डिएपी, युरियालगायतका रसायिनक मल आयातमा स्थानीय प्रशासनले रोक लगाउँदा किसान थप मारमा रहेको उनको भनाइ छ । 

तत्कालीन कृषिमन्त्री अर्याल

'बर्खाका बेला किसानहरुलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने हो', उनले भने,'महामारीका बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, ज्येष्ठ नागरिकलाई खोप दिइए पनि उत्पादनमा लागेका किसानहरु जोखिम मोलेरै खेतमा काम गर्न बाध्य छन् ।'

चीनबाट पछिल्लो समय आयात गरिएको कोरोना विरुद्धको खोप कञ्चनपुरमा सात हजारभन्दा बढी मात्रामा आएको थियो । यहाँ केन्द्रको परिपत्रअनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई उक्त खोप लगाइँदैछ । त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीयवासी मदन चन्दले मलखाद आयातमा रोक लगाउन नहुने बताए ।

'कि त सरकारले किसानलाई मलखाद उपलब्ध गराउनु पर्‍यो होइन भने सीमावर्ती भारतीय बजारबाट सहजरूपमा आयात गर्न दिनुपर्छ', उनले भने,'एकाध बोरा मलखाद सीमामा नियन्त्रणमा लिएर कुनै ठूलो उपलब्ध हुने होइन ।' उनले भारतबाट लुकिछिपी आउने तस्करीको मल किसानले चर्को मूल्यमा खरिद गर्नुको विकल्प नरहेको बताए ।

त्यसैगरी नेपाल किसान सङ्घका केन्द्रीय सदस्य नारायणदत्त पन्तले अहिलेको परिस्थितिमा किसानले सास्ती खेप्नुपरेको बता । 'सरकारले मल दिन नसकेको परिस्थिति छ', किसान नेता पन्तले भने,'अन्यत्रबाट ल्याउँदा प्रहरी प्रशासन लगाएर नियन्त्रणमा लिइन्छ ।'

कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले जिल्लामा किसानको मागअनुसार मलखाद पाउन नसकेको बताए । उनका अनुसार कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । यो वर्ष १० प्रतिशत मात्र रोपाइँ सकिएको छ ।

'कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङ लिमिटेडले सहकारी र समूहमार्फत किसानलाई मलखाद बिक्री वितरण गर्ने गर्छन्', उनले भने,'कोरोना कहरका बीच किसानहरु रोपाँइमा व्यस्त हुन थालेका छन् ।' (रासस समाचारको सहयोगमा)


Author

थप समाचार
x