कृषि

जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो

इकागज |
असोज ३१, २०७८ आइतबार १८:५६ बजे

जुम्‍ला - जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी धान उत्पादन हुँदै आएको छ । धान पाकिसकेपछि किसानलाई यतिबेला धान काट्न भ्याइनभ्याइ भएको किसान सन्देश कठायतले बताए ।

उनले भने, 'यहाँका किसानले लगाएकोे प्रायःसबै खेतको धान एकैपटक पाक्छ । कठायत भन्छन, ‘जुम्लामा घटस्थापनाका दिन मार्सी धानको नगी खाने चलन छ । त्यो दिन धान काट्नको लागि उपयुक्त दिनसमेत मानिन्छ ।’ गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमि आएको छ । धेरै पानी  परेका कारण यसवर्ष धान बालीमा कमि आएको किसानको अनुमान छ । 


जुम्लाका किसानले दसैँ सकिन नपाउँदै मार्सी धान काट्ने थालेका छन । दुई हजार नौ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । 

उनका अनुसार एक हजार ४००  हेक्टरमा काली मार्सी र  खैरो मार्सी धान खेती हुने गरेको छ । बाँकी एक हजार ५०० हेक्टरमा उन्नत जातको धानखेती हुने गरेको छ । 

जुम्लामा मात्रै पाइने काली मार्सी यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुग्ने गरेको यहाँका जेष्ठ नागरिकहरुको भनाई छ । अहिले पनि जुम्लाी मार्सी चामलको चर्चा चलेकै छ । 

त्यस्तै करिब सात सय वर्षअघि जुम्लीहरूका देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएर लाछुज्युलाको गुरुफोक्टोमा  धान खेतीको सुरुवात गरेको विश्वास गरिन्छ । जुम्ली मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् ।

त्यसैले जुम्ला लगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको  हुने गरेको कृषि विकास कार्यालयका प्रमुख देवकोटाकाले बताए  । 

उनले भने, ‘खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरमा यसको माग पनि बढी नै हुने गरेको छ । यो चामलको माग सहरबाट बर्सेनि बढेर आएको छ । जुम्लामा मार्सी चामलको मूल्य प्रतिकिलो एक सय ८० रुपैयाँसम्म पर्ने गरेको छ ।
 


Author

थप समाचार
x