कृषि

चामलको मूल्यभन्दा ढुवानी खर्च बढी

इकागज |
मंसिर २७, २०७८ सोमबार १४:२७ बजे

जाजरकोट- उपल्लो डोल्पामा खाद्यान्नको मूल्यभन्दा ढुवानी खर्च बढीपर्ने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार उपल्लो डोल्पाको सालदाङ बिक्री केन्द्रमा चामल ढुवानी गर्न प्रतिकिलो ९० पर्छ । उपल्लो डोल्पाको सालदाङमा प्रति क्विन्टल जिरा चामलको मूल्य सात हजार, मोटो चामल पाँच हजार र सोना पाँच हजार ६०० मा कम्पनीले उपलब्ध गराउदै आएको छ । 

सुर्खेतदेखि धोसम्मको प्रतिकिलो चामलको ढुवानी भाडा ६५, धारगाउँको ५६ र  सालदाङसम्मको ९० पर्छ । सालदाङमा चामल पु¥याउन नौ हजार ढुवानी भाडा लाग्छ भने चामलको मूल्य सबैभन्दा बढी प्रति क्विन्टल सात हजार छ । ढुवानी भाडा चामलको मूल्यभन्दा दुई हजार बढी छ । 


निजी क्षेत्रबाट बिक्री गरिँदै आएको ३० किलो  चामललाई ‘धो’ मा ६ हजार पर्छ भने तिन्जेमा सात हजार पर्ने डोल्पोबुद्ध गाउँपालिका–१ का पेमा गुरुङले बताए । सात हजार तिरेर पनि चामल पाउन नसकेको उनको भनाइ छ । हिमपातका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल ढुवानी रोकिएको छ ।

 चामल ढुवानीको जिम्मा लिएका ठेकेदारले तोकिएको समयमा चामल उपल्लो डोल्पामा ढुवानी नगर्दा समस्या भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाका प्रमुख कमलराज पाण्डेले बताए । 

पाँच सय कोटा रहेको शे फोक्सुण्डोको सालदाङमा अहिलेसम्म  १८० क्विन्टल चामल ढुवानी गरिएको छ । 

डोल्पोबुद्ध गाउँपालिका ‘धो’मा ५०० क्विन्टल चामलको कोटा रहेकामा ढुवानी गर्ने जिम्मा पाएको ओम जयदुर्गे ढुवानी सेवाका रामचन्द्र रोकायले अहिलेसम्म ढुवानी गर्न नसकेको बताए । हिमपातका कारण ढुवानी गर्न नसकिएको उनको भनाइ छ । रासस

 


Author

थप समाचार
x