किसानको समस्या
रुकुममा मह उत्पादनमा भारी गिरावट
रुकुम : रुकुम पूर्वमा यस वर्ष मह उत्पादनमा भारी गिरावट आएको छ । जिल्लाभरमा यसवर्ष गत वर्षको तुलनामा ८० प्रतिशतले मह उत्पादनमा कमी आएको हो । यस वर्ष जिल्लारभरमा ७२० किलो मह उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्व ले जनाएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार यसवर्ष उत्पादन भएको ७२० किलो मह गत वर्षको तुलनामा ८० प्रतिशतले कम हो । जिल्लामा मह उत्पादन यस वर्ष मात्र घटेको होइन । पछिल्ला केही वर्षयता वर्षैपिच्छे मह उत्पादनमा कमी आउँदै गएको छ । जिल्लाको सिस्ने गाउँपालिकाको ३ नं वडा झन माहुरीको पकेट क्षेत्र नै हो । पकेट क्षेत्रसँगसँगै जिल्लाभर नै यसपालि मह उत्पादनमा ८० प्रतिशतले कमी आएपछि कृषक समस्यामा परेका छन् ।
व्यावसायिक रूपमा नै माहुरीपालन गर्दै आएका कृषक झन् बढी समस्यामा परेका हुन् । सिस्ने–३ पोखराका ओमबहादुर खड्काले एक हजार १२५ घार माहुरी पालेका छन् । ओमप्रकाश खड्काले १८०, कमलाल खड्काले १२०, कलबहादुर घर्तीले १२५ घार माहुरी पालेका छन् ।
उनीहरु जस्तै जिल्लामा विभिन्न फर्म दर्ता गरी माहुरीपालन व्यवसायलाई अँगाल्ने धेरै कृषक छन् । मह उत्पादनबाटै घरव्यवहार चलाउँदै आएकाले पछिल्लो समयमा उत्पादन भएको महको परिमाणलाई हेरेर चिन्ता व्यक्त गरेका छन् । हाल जिल्लाभर दुई हजार ३५० घार तथा गोला माहुरी रहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिए ।
उनका अनुसार एक हजार ५६५ वटा आधुनिक घार छन् भने ७८५ वटा मुढे घार छन् । जिल्लामा मह उत्पादन घट्दै जानुको प्रमुख कारण माहुरीको घार सङ्ख्या थपिँदै जानु तर चरन क्षेत्रको विस्तार नहुनु रहेको कृषि अधिकृत बस्नेतले बताए । पोखरालाई माहुरीको पकेट क्षेत्र घोषणा गरेपछि कृषक माहुरीपालनमा आकर्षित भएका छन् । पोखरा माहुरीमय भइरहेका बेलामा जिल्लाको अन्य ठाउँमा पनि माहुरीपालक कृषक वृद्धि हुँदै गएको तर माहुरीका लागि चरन क्षेत्रको विस्तारतिर कसैले ध्यान नदिँदा यस्तो समस्या आएको बस्नेतको भनाइ छ ।
यस्तै, माहुरी चरनको प्रमुख स्रोत चिउरी हो । यहाँ चिउरी फुल्ने बेलामा वर्षा भएपछि अर्को समस्या थपिएको हो । किसानले आधुनिक घारको प्रयोग गर्नु तर त्यसमा आधार चाका प्रयोग नगर्नु, रोग किराको प्रकोपले गर्दा मह उत्पादनमा कमी आएको निष्कर्ष एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको छ । “चिउरीबाट रस प्राप्त हुन्छ, माहुरीलाई रससँगसँगै कुटको पनि आवश्यकता पर्छ,” कृषि अधिकृत बस्नेतले भने, “कुट तोरीमा पाइन्छ, चिउरी फुल्ने बेलामा तोरी लगाउने चलन हराउँदै गएको छ ।”
यसकारण पनि मह उत्पादनमा कमी आएको कार्यालयका कृषि अधिकृत बस्नेतको भनाइ छ । मह उत्पादनमा कमी आएर कृषक निराश बनिरहँदा कार्यालयले सिस्नेको ३ र ४ मा मौरी ब्लक कार्यक्रम सञ्चालन गर्दै छ भने अन्य ठाउँमा मौरी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । विकास र ब्लकमार्फत कृषकको मागमा आधारित कार्यक्रमहरू सञ्चालन गरिने कार्यालयले जनाएको छ ।
जिल्लामा सिस्नेको ३ र ४ मा सबैभन्दा बढी मह उत्पादन हुन्छ । यसैगरी, ५, ६, ७, ८, भूमे गाउँपालिका–८ र ९ तथा पुथाउत्तरगङ्गा गाउँपालिकाको १० र ११ मा माहुरीपालन व्यवसाय राम्रो हुने गरेको छ । जिल्लामा मह उत्पादनबाट आयआर्जनको सम्भावना राम्रो रहेको छ । अहिले कृषकले उत्पादन गरेको महले बजारको माग धान्न सकिरहेको छैन । “अन्य जिल्लाबाट महको माग आउने गरे पनि जिल्लाभित्रैको माग धान्न नसक्दा बाहिरको माग पूरा हुने कुरै भएन”, कृषक ओमप्रकाश खड्काले भने। अहिले रु दुई हजार ५०० देखि तीन हजार प्रतिधार्नीमा मह बिक्री भइरहेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया