‘कृषि उत्पादन वृद्धिका लागि हरियाली मोडेल’
फाइल फोटो
काठमाडौँ - राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताएका छन् । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रालिको तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्दै डा श्रेष्ठले जल, जमिन र जङ्गललाई समृद्धिको आधार बनाउनुपर्ने बताए ।
“आयात घटाउन, उत्पादन बढाउन र रोजगारी सिर्जनाका लागि जमिनको खण्डीकरण रोकेर चक्लाबन्दी गरी ठूलो परिणाममा खेती गर्न प्रोत्साहन गर्ने नीति लिनुपर्छ”, उनले भने, “जमिन बाँझो राख्ने समस्या घटाएर उत्पादनमूलक क्षेत्रमा जमिनको उपयोग गर्न आवश्यक छ ।”
कृषकलाई समूहकृत गरी जग्गा एकीकरण गर्ने, लगानी जुटाउने र आधुनिक प्रविधि प्रयोग गरी व्यावसायिक कृषि तथा पशुपक्षीपालन गर्ने कार्यलाई अघि बढाउन श्रेष्ठले हरियाली मोडेलको कृषि फार्मको परिकल्पना गरिएको बताए । कृषिको आधुनिकीकरण र व्यावसायीकरण गरी रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र त्यसबाट कृषकको आम्दानी बढाउने उद्देश्य राखेर तीन वर्षअघि म्याग्दीबाट सुरु भएको हरियाली परियोजना देशका अन्य जिल्लामा पनि विस्तार भएको परिकल्पनाकार श्रेष्ठले बताए ।
कम्पनीको अगुवाईमा स्थानीय ३६ जग्गाधनी कृषकसहित ६४ जनाको रु पाँच करोड लगानीमा स्थापना भएको हरियालीले सिँगा र आँगेबगरमा १५५ रोपनी जग्गालाई चक्लाबन्दी गरेको छ । कुखुरापालन, तरकारी खेती, माछापालन, कालिजपालन, बोयर जातको बाख्रा पालन, माहुरीपालन, ड्रागन फुड ९सिउडी फल० र पुष्प खेती गरेको छ ।
फार्ममा राष्ट्रिय वाणिज्य बैंकको बेनी शाखाले परियोजना धितोमा राखेर रु पाँच करोड सहुलियत ब्याजदरको कर्जा लगानी गरेको छ । कृषकलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा ६र६ महिनामा अग्रिम भुक्तानी दिने गरिएको छ । कम्पनीले गत आव २०७७/७८ मा रु तीन करोड ९३ लाख १७ हजार तरकारी, अण्डा, कुखुरा, चल्ला, कालिज, माछालगायत कृषि उपज बिक्री गरेको अध्यक्ष चिनीमाया श्रेष्ठले बताए ।
हरियाली कृषि सहकारी संस्थाका अध्यक्ष दण्डपाणी सापकोटाले नेपाल लाइभस्टक सेक्टर इन्नोभेशन आयोजना एनएसआइपीको ५० प्रतिशत अनुदान, प्रभु बैंकको ३० प्रतिशत ऋण र सहकारीको २० प्रतिशत गरी रु दुई करोड लागतमा व्यावसायिक बाख्रापालन सुरु गर्न लागिएको जानकारी दिए । छुट्टाछुट्टै रुपमा भएको कम्पनी र सहकारीको साधारणसभाले अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया