कृषि

कम्पनीले धान खरिद नगर्दा किसान चिन्तित

इकागज |
पुस २२, २०७८ बिहीबार १९:५८ बजे

फाइल फोटो

जनकपुरधाम - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामले धान खरीद नगर्दा किसानहरु चिन्तित भएका छन् । प्रत्येक वर्ष पुसको पहिलो सातादेखि नै कम्पनीले किसानहरुबाट धान खरीद गर्ने गथ्र्यो । तर यसवर्ष तीन साता बितिसक्दा पनि धान खरीद गर्ने कुनै छांटकांट नदेखिएपछि किसानहरु चिन्तित भएका हुन ।

पुस १ गतेदेखि नै प्रत्येक दिन दर्जनको संख्यामा किसानहरु धान कहिलेदेखि खरीद गर्ने हो कम्पनीको कार्यालयमा आउने गर्छन । तर अहिले कुनै निर्णय नभएको कार्यालयबाट जवाफ पाएपछि रितै हात फर्किनु परिरहेको छ ।


धनुषाको लक्ष्मिनिया गाउँपालिका ५ का किसान रामसागर यादवले भने, 'पुसको पहिलो सातादेखि नै कम्पनीको कार्यालय धाइरहेका छौं, तर कार्यालयमा कर्मचारीहरुले अहिले रेट निर्धारण सम्बन्धी छलफल हुन नसकेको जवाफ दिदैं आएको कारण विचल्लीमा परेको छु ।'

उनले भने, 'धान काटेर घरमा थन्कियाएको दुई/तीन महिना भइसक्यो, कम्पनीले धान किन्छन भन्ने आशमा निजी राईस मिल्सहरुलाई समेत बिक्री गर्न पाएको छैन । यदि समयमै कम्पनीले धान नकिन्ने बरबादै हुने अवस्था आउन सक्नेछ ।'

त्यस्तै शहीद नगरपालिका ५ ननुपट्टीका किसान सुरेश मुखियाले पनि प्रत्येक पुस महिनाको पहिलो सातामै धान किन्दै आएको कम्पनीले यसवर्ष समयमा धान किन्न नसकेको कारण विचल्लीमा परेको बताउंछन । उनलेसरकारबाट मूल्य निर्धारण भइसकेको सुन्दैछु, तर जनकपुरधाम स्थित कम्पनीकै कारण ढिलाई भइरहेको छ । कम्पनीको कार्यालयमा करीब १० दिन धाइसके दररेट निर्धारण हुन्छ, दुई÷चार दिन अझै पर्खुसन जवाफ मात्रै पाउने गरेको दुखेसो सुनाए ।

यता कम्पनीका निमित प्रमुख उपेन्द्र लिम्बुले नेपाल सरकारको धानको मूल्य निर्धारण भएपनि आन्तरिक व्यवस्थापन र जिल्लास्तरीय निर्णय हुन नसकेको कारण ढिलाई भइरहेको थियो । तर अब चाडैं एक सातापछि धान खरीद बिक्री प्रत्रिया शुरु गर्ने बताए ।

उनले भने, 'प्रमुख जिल्ला अधिकारी, व्यापार संघ, कृषि ज्ञान केन्द्र सम्मलित जिल्ला स्तरीय बैठक भइसकेको छ, सरकारले निर्धारण गरेकै मूल्यलाई आधार मानेर खरीद गर्ने निर्णय भइसकेको छ। तर कार्यालयको गोदाममा गतवर्षकै करीब १५ सय क्विन्टल धान थन्किएको कारण नयाँ धान राख्ने जग्गाको आभाव, कर्मचारी आभाव लगायतका आन्तरिक व्यवस्थापन गर्न बांकी छ, ती व्यवस्थापन हुने बितिकै खरीद प्रक्रिया शुरु गर्नेछौं ।'

जनकपुरधाम स्थित कम्पनीको कार्यालयले यसवर्ष नेपाल सरकारको निर्णय अनुसार १५ हजार क्विन्टल सोना मन्सूली धान २ हजार ९ सय २ रुपैयाको दरले किन्नेछ । कम्पनीले यसअघिसम्म सोना मन्सुली र बासमति धान किन्दै आएको थियो । तर बासमति धान गतवर्षकै पर्याप्त मात्रा रहेको कारण यसवर्ष बासमति धान नकिन्ने सरकारको निर्णय रहेको निमित प्रमुख लिम्बुले जानकारी दिए ।

कम्पनीले किसानबाट धान किनेर चामल तयार गरी महोत्तरी कारागार, काठमाडौ स्थित कारागार र गोरखा कारागारमा विक्री वितरण गर्दै आएका छन । बजार दरभन्दा बढी रेट कम्पनीले धान किनेर तयार पारेर अलि महंगो दरमा विक्री गर्ने गरेको कारण बासमति धान खपत नभई गोदाममै थन्किन गएको उनको भनाई छ ।

धानको उत्पादनमा वृद्धि

कृषि ज्ञान केन्द्रका अनुसार गतवर्ष भन्दा चालु आर्थिक वर्षमा ११ हजार ४ सय ७० मेट्रिक टन बढी धान उत्पादन भएको छ । चालु आर्थिक वर्षमा ५९ हजार हेक्टर जग्गामा धान खेती गरिएकोमा १ लाख ८८ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको छ भने गत आव ०७७/०७८मा ५९ हेक्टर जग्गामा १ लाख ७७ हजार ३ सय ३० मेट्रिक टन धान उत्पादन भएको थियो ।

कम्पनीलाई नै किन धान बिक्री ? 

बजार भाउभन्दा बढी मूल्य र सही तौलमा लिने गरेको कारण कम्पनीलाई धान बेच्नु पर्ने बाध्यता रहेको किसानहरु बताउंछन । किसान सुरेश मुखियाले भने बजार राईस मिलहरुले अहिले २४ सय रुपैया मूल्यमा धान लिइरहेका छन, तर कम्पनीले २९ सय रुपैया मूल्य निर्धारण गरेका छन । 

निजी राईस मिलहरुले तौलमा पनि कमी गरिदिन्छ र रेट पनि कम दिन्छ, तर कम्पनीले प्रति क्विन्टल ५ सय रुपैया बढी रेट दिन्छ र तौल पनि सही गर्ने गरेका कारण कम्पनीलाई बेच्नु पर्ने बाध्यता रहेको उनले बताए ।

त्यस्तै अर्का किसान क्षिरेश्वर नगरपालिकाका इच्छापुर निवासी प्रमोद यादवले पनि निजी मिलहरुले तौल कम गर्ने र दररेट पनि कम दिने गरेको कम्पनीलाई बेच्दा फाइदा देखिएको कारण कम्पनीलाई बेच्ने गरेको बताए । 

उनले भने, ‘यहाँका राईस मिलभन्दा बढी रेट भारतीय व्यवसायीहरुले रेट दिने गरेका छन तर तिनीहरुले पनि तौल कम गर्ने गरेको छ, अब एक साता अझै पर्खिन्छु कम्पनीले धेरै ढिलाई गरे भने बाध्य भएर यहाँका राईस मिल वा भारतीय व्यापारीलाई बेच्ने बाध्य हुनेछु ।


Author

थप समाचार
x