‘भ्यालेन्टाइन डे’को लागि भारतबाट दुई लाख गुलाफको फूल ल्याइदै
फाइल फाेटाे
काठमाडौँ- फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाफको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइन डेलाई लक्षित गरी हामीले भारतबाट दुई लाख सात हजार थान गुलाफको फूल मगाएका छौं,’ फानका अध्यक्ष मीनबहादुर तामाङले भने, ‘एक करोड रुपैयाँको गुलाफ भारतबाट ल्याउँछौ ।’
'भ्यालेनटाइन डे' पश्चिमी संस्कृति भए पनि पछिल्ला वर्षहरूमा नेपालमा यो दिनलाई युवायुवतीले विशेष रुपमा मनाउने गरेका छन् । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ ।
भ्यालेनटाइन डेको दिनमा आफूले माया गर्ने व्यक्तिलाई गुलाफको फूल दिने प्रचलन रहेको छ । सोहीकारण उक्त दिन गुलाफको फूलको माग बढी हुने गर्छ । नेपालमा पनि अन्य दिनको तुलनामा भ्यालेन्टाइन डेको दिन गुलाफको फूलको माग १३ गुणा बढी हुने गरेको छ ।
फानका अध्यक्ष तामाङका अनुसार आउँदो 'भ्यालेनटाइन डे'मा नेपालमा दुई लाख ३० हजार गुलाफको फूल बिक्री हुने अनुमान छ । जसमध्ये १० प्रतिशत माग नेपालमा उत्पादन भएको गुलाफ र बाँकी ९० प्रतिशत भारतबाट ल्याइने गुलाफले धान्ने तामाङले बताए ।
यस वर्षको भ्यालेन्टाइन डेमा नेपालमा उत्पादन भएको २३ हजार थान गुलाफको फूल बजारमा आउने छ ।
गत वर्षको भ्यालेनटाइन डेमा एक लाख ८० हजार थान गुलाफको फूल बिक्री भएको थियो । यस वर्ष गुलाफको माग र बिक्री बढ्ने अनुमान गरिएको छ । ‘कोरोना संक्रमण दर घट्दै गएको छ । बजार पनि खुल्दै गएका छन् । यसकारण यस वर्षको भ्यालेनटाइ डेमा गत वर्षको भन्दा बढी गुलाफको माग हुने हाम्रो अनुमान हो,’ फानका अध्यक्ष तामाङले भने ।
सामान्य बेला नेपालमा दैनिक आठ हजार देखि १० हजार थानसम्म गुलाफको फुल बिक्री हुने गर्छ । भ्यालेनटाइन डेको दिन भने गुलाफको बिक्री निकै बढी हुने गर्छ । भ्यालेनटाइन डेलाई लक्षित गरी भारतबाट गुलाफको फूल ल्याउने कार्य सुरु भइसकेको उनले जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया