पशु चिकित्सक पदका लागि खुलाएको विज्ञापनमा आपत्ति
फाइल फोटो
हेटौंंडा : नेपाल भेटेरिनरी एशोसिएशनले पशु चिकित्सक पदका लागि खुलाएको विज्ञापनप्रति आपत्ति जनाउँदै बागमती प्रदेशका मुख्यमन्त्री, कृषि तथा पशुपक्षी विकासमन्त्री, आन्तरिक मामिला तथा कानूनमन्त्री र प्रदेश लोकसेवा आयोग हेटौँडालाई ध्यानाकर्षण गराएको छ ।
एशोसिएशनका अध्यक्ष डा शितलकाजी श्रेष्ठसहितको टोलीले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, मन्त्रीहरु र लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठलाई एक ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो । लोकसेवा आयोग हेटौँडाले यही माघ १० गते प्रदेशका विभिन्न सात वटा स्थानीय तहमा स्थायी पदपूर्तिका लागि नेपाल कृषि सेवा, भेटेरिनरी समूह ‘पशु चिकित्सक’ अधिकृत छैठौँ तहको विज्ञापन खुलाएको थियो । विज्ञापनअनुसारको पदमा कम्तीमा सातौँ तह कायम गरी योग्यता सच्चाउन माग गरिएको छ ।
ध्यानाकर्षण पत्रमा साविकमा सङ्घीय संरचनाको राजपत्राङ्कित प्रथम श्रेणीमा कम्तीमा पाँच वर्ष कार्यरत योग्यता पुगेको प्राविधिक कर्मचारीलाई समायोजन गर्ने क्रममा प्रोत्साहनस्वरूप एक तह बढुवा गराई स्थानीय तहमा खटाइ पठाउने विशेष प्रयोजनका लागि कर्मचारी समायोजन ऐन, २०७५ अन्तर्गत छैठौँ तहका उक्त पदहरु सिर्जना गरिएको पृष्ठभूमिमा यी पदहरु खुला प्रतियोगिताबाट पूर्ति गर्न नहुने उल्लेख छ ।
‘प्रमाणपत्र तह विज्ञान उत्तीर्ण गरी मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा पाँच वर्षको कोर्ष अध्ययन गरी नेपाल पशु चिकित्सा परिषद्को लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेका दर्तावाल पशु चिकित्सकहरु स्वास्थ्य सेवा अन्तर्गतका मेडिकल अफिसर आठौँ तह सरहको तहमा नियुक्त हुनुपर्नेमा राजपत्राङ्कित प्राविधिकहरुको प्रोत्साहनका लागि सिर्जना गरिएको छौठौँ तहका लागि निर्धारित न्यूनतम योग्यता पशुचिकित्सा शास्त्रमा स्नातकोपाधि कायम गरी विज्ञापन गरिनु न्यायपूर्ण नभएको उल्लेख गरिएको छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया