कृषि

कृषिमा यान्त्रिकीकरण प्रयोगले उत्पादन बढ्दो

इकागज |
फागुन ४, २०७८ बुधबार १७:४८ बजे

विराटनगर- कृषिमा यान्त्रिकीकरणको प्रवेशसँग किसान हर्षित भएका छन् । उत्पादन र उत्पादकत्व बढ्ने, लागत कम र लाभ ज्यादा लिन यान्त्रिकीकरणले मद्दत गर्ने भएकाले किसान हर्षित भएका हुन् । मोरङको जहदा गाउँपालिका र कटहरी गाउँपालिका क्षेत्रमा तरकारी जोन लागू भएपछि किसानले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङबाट ५० प्रतिशत अनुदानमा खेत खनजोत गर्ने पावर टिलर प्राप्त गरेका छन् ।    
    
लगभग ५०० हेक्टर जग्गामा लागू भएको तरकारी जोनमा किसान मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर लाभ लिइरहेका छन् । केही वर्ष जीवन निर्वाह हुने खेतीबाट अहिले किसानले लाखौँ आम्दानी गर्नुका साथै प्रशस्त रोजगार पनि दिएका छन् ।    
    
तरकारी जोनमा फार्म र समूह गरी २९ वटा समूह सूचीकृत भएका छन् । किसानको माग र आवश्यकताअनुसार कृषियन्त्र प्रदान गर्न लागिएको हो । केही किसानले पम्पिसेट, बोरिङ, डिजिटल नापतौल गर्ने मेसिन, शीतगृह, टिपर माग गरेका छन् । अहिले कटहरीमा एक थान टिपर उपलब्ध गराइसकेको र बाँकी माग क्रमशः पूरा गर्दै जाने परियोजनाका प्रमुख विनोदकुमार मण्डलले बताए।    
    
तरकारी जोनका देवानन्द साहले यस क्षेत्रका किसान परियोजनाबाट लाभान्वित मात्र नभई खेती गर्न थप उत्साहसमेत मिलेको बताउनुभयो । उनले पाँच बिघामा तरकारी खेती गरेर खर्च कटाएर रु १५ लाख आम्दानी गर्न सफल भएको बताए । उनले दैनिक १५ जना कृषि मजदुरलाई रोजगार दिएका छन् । महिला रु ३०० र पुरुषलाई रु ६०० दैनिक हाजिरामा काम लगाउने गरेके उनले बताए । हाम्रो उत्पादनलाई खेर जान नदिन सरकारले बाटोघाटो, शीतगृह, बजार र ढुवानीका साधन व्यवस्था गर्नुपर्ने साहले माग गरे ।
    
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा जहदा गाउँपालिकाको कुशवहामा ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकीकरण हस्तान्तर कार्यक्रममा आठ जना तरकारी जोनका किसानले पावर टिलर प्राप्त गरेका छन् ।    
    
चिनियाँ कम्पनीका सिफाङ पावरको खरिद मूल्य रु दुई लाख ५० हजारमा परियोजनाले ५० प्रतिशत अनुदान दिएको छ । किसान हरिहर साह, सियाराम राजवंशी, ताराचन्द मण्डल, मनोजकुमार सिंह, हरिनाथ सिंह, राकेश सिंह, गणेश राजवंशी र पवनकुमार सिंहले जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, परियोजना प्रमुख मण्डल र सहायक प्रमुख जिल्ला अधिकारी महेश तिमिल्सिना सामूहिकरूपमा हस्तान्तरण गरे।    
    
 संयोजक पोखरेलले जीवन निर्वाहमुखी खेतीले परनिर्भरता नहटाउने भन्दै कृषिलाई व्यावसायिक बनाउन, उत्पादन र उत्पादक बढाउन तथा रोजगार सिर्जना गर्न परियोजना आएको बताए। उनले किसानले उत्पादन मात्र होइन स्वस्थ्यकर उत्पादनमा जोड दिन सकेमात्र भारतबाट आयात हुने विषादीयुक्त तरकारी प्रतिस्थापन हुने विश्वास व्यक्त गरे । संयोजक पोखरेल परियोजनाले किसानको मागलाई क्रमशः सम्बोधन गर्दै जाने र यसैबाट मुलुकमा समृद्धि आउने बताए।    

सहायक प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले राज्यको लगानी भएको यन्त्रलाई सुरक्षित एवं व्यवस्थित ढङ्गले सञ्चालन गर्न सकियो भने मात्र अधिक लाभ लिन सकिन्छ बताए । परियोजनाका प्रमुख मण्डलले तरकारी जोनलाई सुपरजोनमा लैजान किसानले थप मेहनत गर्नुपर्ने भन्दै स्वस्थ्यकर तरकारी उत्पादनमा जोड दिए।    
जहदा गाउँपालिका अध्यक्ष कैलाश मण्डल र उपाध्यक्ष सालो साहले सरकारले यस क्षेत्रलाई छनोट गरेर तरकारी जोन बनाएकोमा खुसी व्यक्त गर्दै प्रशस्त मकै उत्पादन हुने यो क्षेत्रमा किसानका लागि मकै दाउन्नी गर्ने मेसिन माग गरे । तरकारी जोन सञ्चालक समितिका अध्यक्ष शिवनाथ सिंहले हरेक क्षेत्रबाट निराश रहेका यहाँका किसानको घरदैलोमा सरकारको योजना आएकोमा खुसी व्यक्त गरे।    
 



Author

थप समाचार
x