कृषि

सुनसरीका किसान ‘बालुवा खेती’मा आकर्षित

इकागज |
फागुन ११, २०७८ बुधबार १४:३८ बजे

फाइल फाेटाे

सुनसरी- सुनसरीका किसानहरु बालुवामा उब्जने खेतीमा आकर्षित भएका छन ।

अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लागेका हुन । उनको दैनिकी र लक्ष्य भनेकै कोशीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोशी गाउँपालिका वडा नम्बर ५ कुम्याही, हुर्कीटोल घर भएका अली बालुवामा खेती गर्ने नमूना कृषक समेत हुन ।


उनले यस अघिका बाली भने उठाई सकेका छन । मनग्यै आम्दानी गर्दै आएका अलीले यतिबेला १२ विगाह भन्दा बढी बालुवामा मौसमी खेती लगायतका विभिन्न बाली लगाएका छन ।

गाउँपालिकाको सहयोगमा राजस्थान समेतको भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेला कागती खेतीसँगै अन्य बाली उब्जाउको क्रममा छन ।

अलीले बालुवामा लगाएको बालीमा डिप बोरिङ र थोपा सिँचाईको माध्यमबाट पानीको प्रबन्ध मिलाएका छन । जलकुम्भी लगायतका झारपात कुहाएर प्राङगारिक मल बनाइएको छ । बालुवालाई उब्जाउ योग्य बनाउन बाहिरबाट माटो ल्याएर लेबलिङ गरी अलीले खेती गरेका छन ।

कृषि पेशालाई निरन्तरता दिएका अली आधुनिक खेती थालेसँगै आम्दानी समेत मनग्यै कमाएको बताउँछन । उनी भन्छन, 'घर खर्च मज्जाले चल्छ । पहिला एउटा ट्याक्टर थियो । अहिले तीनटा भैसक्यो । राम्रो आम्दानी छ ।'

अलीसँगै उनका छोरा समेत यही पेशामा छन । ६ वर्ष बिदेशमा श्रम गरेका समी उल्लाह दुःख र कष्ट सहनु परेको र कमाई समेत राम्रो नभएपछि घर फर्किएका छन । उनी समेत बाबुले धानेको पेशामा मनग्यै कमाई देखेपछि खेती किसानीमै रमेका छन ।

कोशी गाउँपालिकामा ३३ सय विगाह जग्गा बालुवा जमिन छ । सप्तकोशीको बाढीले बालुवामा परिणत गरेको बन्जर जमिनलाई गाउँपालिकाले लेवलिङ गर्ने देखि किसानकालागि राहत प्याकेजका काममा सघाउँदै आएको छ ।

विदेशमा कष्ट सहेर काम गरिरहेकाहरुका लागि सुनसरीको कोशी गाउँपालिकाका यी बाबु र छोराको लगन र परिश्रम पक्कै उदाहरणीय बन्न सक्छ ।

 


Author

थप समाचार
x