कृषि

हालसम्म नेपालका १३ जिल्लामा बर्डफ्लू

इकागज |
चैत १८, २०७८ शुक्रबार १८:५० बजे

काठमाडौं– हालसम्म देशभरका १३ जिल्लामा बर्डफ्लू देखिएको छ । 

मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौँ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्डफ्लू देखिएको हो । 
ती जिल्लामा ८८ हजार ८०० पक्षी मारिएको, ५१ हजार ७६३ अण्डा नष्ट गरिएको, ३० क्वीन्टल २१ किलो दाना र २० किलो मासु नष्ट गरिएको पशु सेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारीले जानकारी दिए।     


सरकारले दिने राहत रकमको सरदर हिसाब गर्दा आजसम्म आठ करोडभन्दा बढी भएको भन्दै उनले विभागसँग एक करोड २१ लाख मात्रै बजेट रहेको बताए। यद्यपी प्रदेश र सङ्घका निकायहरूले राहात रकम उपलब्ध गराउने विश्वास दिलाउँदै यथासक्य छिटो पक्षी नष्ट गर्न निर्देशन दिए। यसका लागि व्यवसायी, प्रशासन र सरोकारवालाहरूको सहयोगको आवश्यक भएको उनको भनाइ थियो ।     
     
बैठकमा पोल्ट्री महासङ्घका उपाध्यक्ष टिकाराम पोखरेलले कुखुरा बिक्री गर्नु पहिला परीक्षणका लागि आवश्यक किट उपलब्ध गराउन अनुरोध गरे । रोग फैलिँदै जाँदासमेत सरकारी तवरबाट काममा ढिलासुस्ती भएको भन्दै उनले तीब्ररूपमा पक्षी नष्ट गर्न र परीक्षण गर्न अनुरोध गरे ।     
     
बैठकले बर्डफ्लू नियन्त्रण गर्न आवश्यक जनशक्ति तथा स्रोत साधन परिचालन गरी रोग अन्यत्र फैलिन नदिन सो क्षेत्रको ७ किलोमिटर भित्र रोगको निगरानी जारी राख्ने निर्णय गरेको छ । बर्डफ्लू नियन्त्रण नियमावली २०७८ को नियम ११ अनुसार नष्ट गरिएको पक्षी तथा पक्षीजन्य पदार्थ उत्पादन सामग्रीको हानी नोक्सानी भएको व्यक्तिलाई राहत दिन पशु सेवा विभाग र कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको उनले जानकारी दिए ।          
जिल्लामा बर्डफ्लू बढेकाले नियन्त्रणका लागि थप जनशक्ति र साधन स्रोतका लागि पशु सेवा विभाग र प्रदेश निर्देशनालयमा अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ ।
     
चितवन जिल्लालाई बर्डफ्लू प्रभावित क्षेत्र वा प्राविधिक (इडिट) समितिले तोकेको निगरानी क्षेत्रबाट पक्षी तथा पक्षीजन्य पदार्थ वा उत्पादन सामग्री र रोग सार्न सक्ने अन्य वस्तुको ओसारपसारमा पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ को दफा १५ बमोजिम प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बजारमा शङ्कास्पद रोगी पक्षीको प्रवेशमा रोक लगाउने प्रयोजनका लागि रोगको प्रारम्भिक यकीन गर्न रेपिड रेष्ट किट परीक्षण गर्ने निर्णय बैठकले गरेको छ ।      

नेपालमा विसं २०६५ मा पहिलो पटक बर्डफ्लू देखापरेको हो । त्यसैगरी २०७० सालमा यो रोग भयावह भएको थियो । तत्कालीन समयमा भक्तपुर जिल्लाका सबै पक्षी मारिएका थिए ।         

यस वर्ष माघ १४ गते पहिलो पटक मोरङमा रोग देखिएको हो । चितवनमा माघ २८ गते पहिलो पटक रोग पुष्टि भएको थियो । सरकारले बर्डफ्लू देखिएका ठाउँमा नष्ट गरिएका पक्षी र सामग्रीको राहात दिने गर्दछ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने मूल्य निर्धारण समितिको बैठकले तोकेको दररेटको ७५ प्रतिशत राहात रकम दिने मापदण्ड अन्तिम चरणमा पुगेको छ ।     
 


Author

थप समाचार
x