हेटौंडामा खोरेतको प्रकोप, किसानहरु चिन्तित
मकवानपुर- हेटौंडा उपमहानगरपालिका ५ सिँचाइटोलकी विष्णु कुमारी सञ्जेललाई आफ्नो गाई बिरामी भएपछि झण्डै १५ दिन तनाव भयो । उन्नत प्रजातिको दुहुनु गाई बिरामी भएपछि आर्थिक समस्या त पर्ने नै भयो, गाई नै मर्ने पो हो कि भन्ने पिर भयो उनलाई । “गाईले एक्कासी घाँस खानै छोड्यो, गाई बिरामीको पाँचौ दिनमा बल्ल थाहा पाए खोरेत भएको रहेछ” उनले भनिन् । पशु चिकित्सकको सम्पर्कमा गएपछि विस्तारै गाईलाई सञ्चो हुँदै आएको छ, अहिले दुध बेच्न पाएकी छिन् ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ की कलावति खतिवडाको चार वटा बाछा, बाछी खोरेत रोगका कारण मृत्यु भए । सावधानी अपनाउँदा अपनाउँदै पनि बाछा, बाछीलाई खारेत रोगको संक्रमणका कारण मृत्युको मुखमा पुर्यायो । उनकै तीन वटा गाई पनि खाेरेत रोगकै कारण अहिले ग्रस्त छन् ।
हेटौंडा–१२ कै राम बलको खोरमा पालेको ५ वटा बंगुरलाई खोरेत रोगले संक्रमण गराएको छ । पशु चिकित्सकको सल्लाहमा उनले अहिले बंगुरको उपचारसँगै सावधानी अपनायि रहेका छन् ।
हेटौंडा–१२ कै भवानी देवकोटाको गोठमा पनि खारेत रोगका संक्रमण भएपछी गाईको मृत्यु भयो ।
हेटौंडा उपमहानगरपालिका –९ का भगवान राना, कृष्णप्रसाद आचार्य, राजकुमार भण्डारी, बद्री न्यौपाने, गिरीस अधिकारी, रामशरण ढकाल, वासु राना, केदार आचार्य, गोविन्द नेपाल, भीमकुमारी खड्का, किरण सुवेदीलगायतका किसानले पालेको गाई, भैसी खोरेत रोग लागेर मृत्यु भएको छ ।
यहाँका केही किसानको मात्र होइन । हेटौंडाका विभिन्न वडामा गरी खोरेत रोगका कारण छोटो अवधिमा नै धेरै पशु र चौपायाको मृत्यु भएको छ । पशु प्राविधिकले सावधानी अपनाउँदा अपनाउँदै पनि धेरै पशु तथा चौपायाको मृत्यु भएको हो ।
यसको नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी विकास निर्देशनालय, पशु सेवा विज्ञ केन्द्र लागिपरेको छ । खोरेत रोगका कारण हेटौंडाका किसानहरु अत्यन्त चिन्तित समेत रहेको उपमहानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाईले बताइन् ।
बागमती प्रदेशका १३ वटा जिल्लामध्ये सबैभन्दा धेरै खोरेत रोगका कारण पशुको मृत्यु हेटौंडामा भएको बताइएको छ । यसै वर्षमा धेरै किसानका खोरमा पालिएका पशुमा खोरेत रोग देखा परेर मृत्यु भएको पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डाक्टर ब्रजकिशोर ठाकुरले बताए ।
यसको नियन्त्रणका लागि उपमहानगरपालिका र पशु विज्ञ सेवा केन्द्र मकवानपुर मार्फत संक्रमण फैलिएको क्षेत्रमा प्रयोग गर्ने गरी प्राथमिक उपचारमा अत्यावश्यक औषधी उपलब्ध गराइएको ठाकुरले बताए ।
पशुमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि हरेक वडामा सचेतनामूलक तथा उपचारात्मक काम भइरहेको हेटौंडा उपमहानगरपालिका कृषि तथा पशु विकास शाखाका प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए ।
याे कस्तो रोग हो ?
खोरेत रोग भनेको सीमाविहीन रोग हो । एक किसिमको विषाणु एप्थो भाईरसको कारण गाई, भैसी, भेडा, बाख्रा, याक तथा बँगुर लगायत अन्य खुरफट्टा घरपालुवा तथा जङ्गली पशुहरुमा लाग्ने अति संक्रामक तथा तीक्ष्ण प्रकृतिको सरुवा रोग हो।
खुर नफाटेको पशु जस्तै घोडा, गधा, खच्चर आदिमा यो रोग लाग्दैन। दुधालु पशुको उत्पादन उल्लेखनीय रुपमा घट्ने र अति संक्रामक प्रकृतिका कारण यो रोग आर्थिक दृष्टीकोणले निकै महत्वपूर्ण मानिनुका साथै अन्तराष्ट्रिय व्यापारमा बाधकको रुपमा चिनिन्छ। यो रोगको विषाणु साधारण वातावरणमा सजिलै बाच्न सक्ने प्रकृतिको भएकोले अम्लीय वा क्षारीय गुण भएका रसायनले गोठ र खोर निसंक्रमण गर्दा भाइरसलाई निष्कृय बनाउन सकिन्छ बागमती प्रदेशको पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय हेटौंडाका पशु चिकित्सक डाक्टर बबलु ठाकुर बताएछन् ।
रोगको असर लामो समयसम्म रहन सक्दछ । यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरूको समूहमा रोगले असर गर्ने प्रतिशत झन्डै १०० हुन सक्दछ । जमिनमा ६० किलो मिटरसम्म टाढा फैलन सक्छ भने समुन्द्री क्षेत्रमा ३ सय किलो लिटर टाढासम्म प्रति घण्टा फैलन्छ । स्थानीय वयस्क गाई , भैसीहरुमा खोरेत रोग देखा परे पनि यो रोगको कारण मृत्यु कमै हुने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका पशु चिकित्सक डाक्टर बबलु ठाकुरले बताए ।
यो रोग बाच्छाबाच्छी, पाडा पाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अचानक मर्ने गर्दछन् ।
कसरी सर्छ खाेरेत ?
मुख्यत श्वास प्रश्वास तथा संक्रमित आहाराको सेवनले यो रोगको विषाणु शरीरमा प्रवेश गर्छ भने शरीरमा खुल्ला घाउ, फार्ममा संक्रमित उपकरण, खोप, औषधी आदिको प्रयोग र कृत्रिम गर्भाधानको माध्यमबाट समेत यो रोगको विषाणु शरीरमा प्रवेश गर्न सक्छ।
प्रायजसो संक्रमित आहाराको सेवनले बंगुरहरुमा संक्रमण भएको पाइन्छ भने उग्राउने खुरफाट्टा जनावरहरुमा श्वास प्रश्वासको माध्यमबाट रोग सरेको हुन्छ।
लक्षण
रोगका लक्ष्णहरु शरीरमा विषाणु प्रवेश गरेको २ देखि १४ दिन भित्र देखिन्छ। संक्रमित पशुलाई ज्वरो आउनु, मुख, नाक, जिब्रो, गिजा, खुरको काप तथा थुनमा पानी भरिएका फोकाहरु उठ्नु र फोका फुटेर अति नै पीडादायी घाउ हुनु, र्याल तथा फिँज काढ्नु, दात किरकिराउनु, खुट्टा खोच्याएर हिड्नु आदि यो रोगको प्रमुख लक्ष्णहरु भएको ठाकुरले बताए ।
ब्याउने पशुहरू तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडा पाडी र पाठापाठीहरु मर्न सक्ने खालका लक्षण पनि हुने गरेका छन् ।
कसरी गर्ने नियन्त्रण ?
भाइरल रोग भएकोले खास उपचार छैन। रोग लागेर उपचार गराउनु भन्दा रोग लाग्नै नदिन रोग देखिने सिजनभन्दा पहिला आफ्ना पशुहरुलाई खोरेत बिरुद्ध पोलिभ्यालेन्ट खोप लगाउने, संक्रमण देखिएको स्थान वरिपरिका स्वस्थ पशुहरुलाई खोप लगाउने र रोग लागिहालेमा यसको उपचारमा लाग्नु पर्दछ ।
यसको उपचार गर्दा किसान आफैले पनि मुखको घाउमा फिटकिरी पानी वा पोटास पानीले सफा गरि ग्लिसिरिन दल्ने, ज्वरो घटाउने सुइ लगाउने तथा आवश्यकता अनुशार ३ देखि ५ दिनसम्म बिहान, बेलुका एन्टीवायोटिकको सुइ लगाउने, प्रसस्त मात्रामा पानी खुवाउने तथा पशुले दाना र पानी नखाए २० मिलीप्रति किलोको दरले सेलाईन चढाउने, खुट्टाको घाउमा पोटास पानी वा डिटोल वा १० प्रतिशत कपर सल्फेटको झोलले धुने, किरा परेको घाउ सफा गर्ने त्यसमा तारपिन तेल हाल्ने र कुनै मलम औषधि लगाउने, सुख्खा ठाउंमा राखि उपचार गर्ने, प्राविधिकको सहयोग लिने काम गर्नुपर्दछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया