दूधले मूल्य पाएनः किसान पलायन हुने अवस्थामा
फाइल फोटो
म्याग्दी - म्याग्दीको बेनपा–६ बाँसबोटका किसान दुर्गाप्रसाद पौडेलले पाँच वर्षदेखि व्यावसायिक रूपमा भैँसीपालन गरिरहेका छन् । लागतअनुसार दूधको मूल्य नपाएपछि भैँसी बेचेर विदेश पलायन हुने अवस्था आएको उनको गुनासो छ ।
दाना, घाँस, पराल र ढुवानी खर्चसँगै उत्पादन लागत बढेपछि गाईभैंसीपालक किसान समस्यामा परेको बरदान पशुपक्षी फार्मका सञ्चालक पौडेलको भनाइ छ ।
`२५ वटा भैँसी पालेको छु, दुई वर्षअघि प्रतिबोरा एक हजार ३०० मा पाइने दाना बढेर अहिले करिब तीन हजार पुग्न लागेको छ`, उनले भने, `दूध र दाना ढुवानी इन्धनको मूल्यवृद्धिले बढाएको छ । दूधको मूल्य पुरानै छ । अहिले हामीजस्ता किसान घाटा व्यहोरेर व्यवसाय गर्नुभन्दा गाईभैँसी बेचेर विदेश जाने मनस्थितिमा छौँ ।`
म्याग्दीमा कृषकले प्रतिलिटर १० घाटा खाएर दूध बेच्दा डेरी व्यापारीले प्रतिलिटर ३० नाफा राखेर १२० का दरले दूध बेचेका छन् । विदेशबाट आएर गाईभैँसी पालेर स्वरोजगार बनेका युवा पुनःविदेश पलायन हुने अवस्था आएको बेनपा–७ कुरिलाखर्कको ढुङ्गाना पशुपक्षी फार्मका सञ्चाक सुरेश ढुङ्गानाले बताए । उनले भने, `यहाँका गाईभैँसीपालक किसान पलायन हुने अवस्थामा पुगेको छ ।`
म्याग्दीमा डेढ सयको हाराहारीमा रहेका गाईभैँसी फार्ममा करिब पाँच सय जना निर्भर छन् । कोरोना महामारी फैलिएपछि चिज उद्योग बन्द हुँदा अन्नपूर्ण गाउँपालिकाको राम्चे, घार र पाउद्धारका ५० भन्दा बढी किसानले गाई बेचिसकेका छन् । चिज उद्योगबाहेक बजारमा गाईको दूध कम खपत हुने र भैँसीको दूध उत्पादनको लागत महङ्गो पर्न थालेपछि किसान समस्यामा परेका हुन् ।
बेनपा–५ चुत्रेनीका किसान झलकबहादुर कटुवालले भूगोल र समय अनुकूल दूधको मूल्य समायोजन गर्न नसके पशुपालक किसान विस्थापित हुने अवस्था रहेको बताए । `बेनीमा गाईको दूध खपत न्यून भएकाले भैँसी पालेका छौँ`, उनले भने, `भैँसीको मूल्य पनि बढेको र दानापानी पनि बढी चाहिने हुनाले दूधको उत्पादन लागत बढी पर्न गएको हो ।`
बिचौलियाका कारण म्याग्दीका किसानले लामो समयदेखि कम मूल्यमा दूध बिक्री गर्न बाध्य छन् । व्यापारीले एक लिटर दूधमै ३० देखि ३५ सम्म नाफा खाइरहेका छन् । किसानहरू आफैं उपभोक्तासम्म पुग्न नसक्दा भाउ पाउन मुस्किल भएको हो ।
बिचौलियाका कारण लामो समयदेखि व्यावसायिक दूध उत्पादन गर्दै आएका किसानको जीवनस्तरमा सुधार आउन नसकेको कटुवालको गुनासो छ ।
उनका अनुसार बिक्री नभएको दूधलाई अर्को दिनसम्म राख्नका लागि उपकरण नहुँदा त्यत्तिकै खेर फाल्नुभन्दा उसै दिन बेच्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले दूध बिक्रीका लागि कुनै सहयोग नगरेको उहाँको आरोप छ ।
दैनिक उपभोग्य सामग्री र खाद्यान्नमा महँगी बढ्दै गए पनि दूधको मूल्य नबढेको उहाँको भनाइ छ । `भैंसीलाई खुवाउने दाना र घाँसको मूल्य बढिरहेको छ`, उनले भने, `तर दूधको मूल्य कहिल्यै बढ्दैन ।`
दैनिक दुई हजार ५०० लिटरको हाराहारीमा दूध खपत हुने बेनी बजारका ४२ वटा डेरीमा यसअघि पर्वतको मल्लाज, लेकफाँट, धाइरिङ, पोखरा र बागलुङबाट दूध आयात हुने गर्दथ्यो ।
स्थानीय किसानले व्यावसायिक गाईभैँसी पाल्न थालेपछि केही वर्षयता म्याग्दीमा दूध आयात घटेको छ । आधुनिक कृषि तथा पशुपक्षी स्रोत केन्द्रका कोषाध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार सो केन्द्रमा आवद्ध २२ किसानले मात्र बेनीमा हाल दैनिक एक हजार २०० लिटर दूध ल्याउने गरेका छन् ।
महङ्गी र ढुवानी खर्चले बढेको दूध उत्पादनको लागतअनुसारको मूल्य समायोजन गर्न सरकारी निकायले सहजीकरण गर्नुपर्ने डेरी व्यवसायी वीरेन्द्र ढुङ्गानाको भनाइ छ । `एक, दुई व्यवसायीले मात्र गरेर हुँदैन`, उगले भने, `किसान मर्कामा परेका हुन् भने सरकारी निकायले समन्वय र सहजीकरण गर्नुपर्छ ।`
म्याग्दीको अर्थुङ्गे, खबरा, रत्नेचौर, बगरफाँट, बास्कुना, सिङ्गा, सिमलचौर, बरङ्जा, घतान, तोरीपानी, पात्लेखेत, घार, पाउद्धार र राम्चेमा व्यावसायिक गाईभैँसी फार्म छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कानुसार म्याग्दीमा पालिएका नौ हजार ३४७ गाई र १६ हजार २८६ भैँसीबाट वार्षिक चार हजार ७२४ मेट्रिक टन दूध उत्पादन हुन्छ । युवाहरुले वैदेशिक रोजगारको विकल्पमा पशुपालन गरेर स्वरोजगार बनेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया