कृषि

'सेफ फुड' बिक्री गर्दै आएको 'फ्रेस-केटीएम'को नयाँ आउटलेट गोल्फुटारमा

इकागज |
बैशाख २०, २०७९ मंगलबार १८:२९ बजे

काठमाडौँ- किसानको बारीबाट सिधै उपभोक्ताको भान्सामा ‘सेफ फुड’ पुर्‍याउने उद्देश्यले स्थापना भएको ‘फ्रेस-केटीएम’ले काठमाडौँको गोल्फुटारमा नयाँ आउटलेट उद्घाटन गरेको छ।  २०७८ भदौमा मैतीदेवीमा पहिलो आउटलेट स्थापना भएको थियो । गोल्फुटार क्षेत्रका उपभोक्तालाई स्वस्थ तरकारी पुर्‍याउने उद्देश्यले नयाँ आउटले स्थापना गरेको फ्रेस-केटीएमले जनाएको छ ।

न्यून रासायनिक पदार्थ प्रयोग भएका तरकारी र फलफूल किसानबाट सिधै खरिद गरी खुद्रा बिक्रेता माझ पुर्‍याउने उद्देश्यले युवाहरूले यो व्यवसाय सुरु गरेका थिए । छोटो समयमै लोकप्रिय बनेको फ्रेस-केटीएमले केही समयमै ललितपुरको भैसी पाटीमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ । कृषि सामग्रीमा उपभोक्ताले तिर्ने मूल्यको न्यून हिस्सामात्र किसानसम्म पुग्ने गरेको छ । तर, किसानबाट सिधै विक्रेताकोमा पुग्दा किसानलाई बढी लाभ हुने र उत्पादनमा प्रोत्साहित हुने फ्रेस-केटीएमको विश्वास छ । 


‘सप्लाई चेन सिस्टम’
फ्रेस-केटीएमको उद्देश्य भनेको उपभोक्ताको भान्सासम्म पुग्ने तरकारी सुरक्षित रूपमा भान्सामा पुर्‍याउनु हो । फ्रेस-केटीएमले हाल बि-टु-बि(बिजनेस टु बिजनेस) मोडलमा काम गरिरहेको छ । छिट्टै नै बि-टु-सी (बिजनेस टु कन्जुमर) मोडलमा पनि जाने तयारी गरिरहेको छ । यसबाट उत्पादन गर्ने कृषकले आफैँ आफ्नो तरकारी बिक्री गर्न सक्नेछन् । 'बेटर फुड लाइफ फर पिपुल' मोटो रहेको फ्रेस-केटीएमले मोटो जस्तै उपभोक्तालाई स्वास्थ्य जीवनयापनका लागि चाहिने सेफ फुड विक्री गर्ने गरेको छ। आफैं उत्पादकको बारीसम्म गएर उत्पादकलाई  उचित मूल्य दिएर सुरक्षित रूपमा वेयर हाउसमा ल्याइ प्रशोधन पश्चात ल्याएर बिक्री गर्ने गरको छ।

यसका लागि फ्रेस-केटीएमले काठमाडौँ नजिकका १० जिल्लाका कृषकसँग समन्वय गरेको छ भने चितवनमा आफ्नै तरकारी फार्म पनि सुरु गरेको छ । किसानका बारीबाट किनेको तरकारी छिटोभन्दा छिटो उपभोक्ताको भान्सामा पुर्‍याउने उद्देश्यले फ्रेस-केटीएमले आफ्नै गाडीमा वेयर हाउससम्म पुर्‍याउँछ । वेयर हाउसमा आएको तरकारीलाई आफ्ना आउटलेट तथा एक सय ५० भन्दा बढी तरकारी पसलमा दिने गरेको छ।  ‘सस्तो मूल्यमा तरकारी बेचिरहेका उपभोक्ताको मेहनत अनुसारको मूल्य दिलाउने हाम्रो उद्देश्य हो,’ फ्रेस-केटीएमका सीईओ सन्दिप अधिकारी बताउँछन् । उपभोक्ताले ट्रली लिएर आवश्यकता अनुसारको सबै तरकारी र फलफूल खरिद गर्न सक्नेछन् । यसले आपूर्ति शृंखलामा ठूलो रुपान्तरण ल्याउने अधिकारी बताउँछन् । 

जापानमा अध्ययन गरेका अधिकारी आफ्नो सीपलाई नेपालमा कार्यान्वयन गर्ने विचारमा छन् । ‘जापानमा अध्ययन गरेपनि लगानी आफ्नै ठाउँमा गरिरहेको छु,’ उनले भने, ‘कृषकका उत्पादन केन्द्रबाट तरकारी तथा फलफूल सिधै खरिद गरेर आवश्यकताअनुसार ग्रेडिङ र प्याकेजिङ गरेर खुद्रा पसलमा पुर्‍याइरहेको छु ।’ फ्रेस-केटीएमल तरकारी र फलफूल सर्टिङ र ग्रेडिङ गरी प्याकेजिङ गरेर उपभोक्ताको भान्सासम्म पुर्‍याउने उनले बताए । ‘हामीले आवश्यकताअनुसार तापक्रम कायम गर्ने रेफ्रिजेरेटेड ट्रक तयार गरेका छौँ,’ उनले भने, ‘त्यही गाडीले कृषकको खेतबाट तरकारी र फलफूल संकलन केन्द्रसम्म पुर्‍याउँछ ।’

 


 


Author

थप समाचार
x