प्रवास

अमेरिकामा मोडेर्नाले पायो कोभिड भ्याक्सिन उत्पादनको मान्यता

अनिल अधिकारी |
पुस १, २०७७ बुधवार ८:२ बजे

अमेरिका : अमेरिकी सरकारको खाद्य तथा औषधि प्रशासन एफडिएले कोभिड-१९ को भ्याक्सिनका लागि मोडेर्ना नामक अर्को कम्पनीलाई समेत मान्यता दिएको छ । गत शुक्रबार मात्रै कोभिडविरुद्धको फाइजर र बायोएनटेकले बनाएका भ्याक्सिनलाई प्रभावकारी र सुरक्षित रहेको मान्यता दिएको सरकारले मोडेर्नाले उत्पादन गरेको भ्याक्सिनलाई समेत प्रभावकारी र सुरक्षित रहेको निष्कर्ष निकालेको हो । 

मंगलबार एफडिएको विश्लेषणमा मोडेर्नाको भ्याक्सिनबारे कुनै विशेष सुरक्षा समस्या नरहेको निष्कर्ष निकालिएको हो । मोडेर्नाले बनाएका भ्याक्सिन समेत ९५ प्रतिशत प्रभावकारी रहेको सरकारी निष्कर्ष छ । 


भ्याक्सिनको परिक्षणका क्रममा लगाएकाहरुले भ्याक्सिन लगाएको ठाउँमा दुखेको, टाउको दुखेको लगायतका साइड इफेक्ट देखिएको बताएका छन् । यो भ्याक्सिन २८ दिनको अन्तरमा दुई पटक लगाउनुपर्ने जनाइएको छ । तर यो भ्याक्सिन पाको उमेर समुहमा भने कम प्रभावकारी देखिएको एफडिएको निष्कर्ष छ । 

फाइजरको भ्याक्सिन १६ वर्षभन्दा माथिको उमेर समुहका व्यक्तिहरुलाई प्रयोगका लागि स्विकृत गरिएकाले सोमबारदेखि अमेरिकामा वितरण सुरु भइसकेको छ । तर फाइजरको भ्याक्सिन माइनस ७६ डिग्री फरेनहाइट र त्योभन्दा चिसोमा राख्नुपर्छ । मोडेर्नाको भ्याक्सिन एक महिनाभन्दा लामो दीर्घकालिन भण्डारणका लागि माइनस ४ डिग्री फरेनहाइट भन्दा चिसोमा राखे पुग्छ । त्यसैले भण्डारण र वितरणका लागि मोडेर्ना भ्याक्सिन फाइजरको तुलनामा सहज हुने अनुमान गरिएको छ ।

मोडेर्नाको भ्याक्सिन तत्काल प्रयोग गर्नुपर्ने भएमा ३६ देखि ४६ डिग्री फरेनहाइटको बीचमा राखे पुग्छ । जुन घरको सामान्य फ्रिजको तापक्रम हो । यो तापक्रममा एक महिनासम्म राख्‍न सकिने जनाइएको छ । यो कम्पनीले बनाएका भ्याक्सिन नेपाल जस्ता साना मुलुकका लागि थपप्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ । 


 


Author

थप समाचार
x