दल

लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिँदै ओलीले भने : सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भए

इकागज |
जेठ १२, २०८० शुक्रबार १७:४० बजे

फाइल तस्बिर

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन् ।

देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उनको जिकिर थियो । पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहीन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताए ।


एउटा जड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद् अवरुद्ध गर्नु परेको पनि अध्यक्ष ओलीको तर्क गरे । उनले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभए पनि सत्तारूढ दलहरूले मिलेर आरोप लगाइरहेको समेत बताए ।

‘हामी यति बेला चौतर्फी घेराबन्दी छौं । तीव्र घेराबन्दीमा । हरेक कुरा भन्नुस्न । नभएको भुटानी शरणार्थी भएको ठाउँमा गैर भुटानीहरूलाई शरणार्थी बनाएर विदेश पठाउने खालको त्यस्तो धन्दामा केही व्यक्तिहरू सामेल भएका रहेछन्,' उनले भने, 'अहिले म को यसमा संलग्न छ ? के छ ? अदालतमा केश छ । अहिले म धेरै भन्न चाहन्नँ । तर, यो सम्पूर्ण हिसावले एक ढंगले सम्पूर्ण रूपमा एमालेतर्फ नै बाढी चाँही खन्याउन खोजियो ।'

अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरू सांसद भएको भन्दै आक्रोश व्यक्त गरे । उनले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दाबी समेत गरे ।


Author

थप समाचार
x