विचार

आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश

राजन कुईंकेल |
मंसिर ८, २०७९ २०:१० बजे

सिद्धान्तहीन, फगत सत्ता केन्द्रित गठबन्धन कुनै हालतमा स्वीकार्य नहुने र नेताले उर्दी जारी गर्दैमा मान्नुपर्ने कुनै कारण नरहेको सन्देश

 


नेता–कार्यकर्ताबाहेक आमजनतालाई नछोएझै देखिएको हालै सम्पन्न निर्वाचनको परिणामले परम्परागत नेपाली राजनीतिमा बदलावको जबरजस्त झट्का हानेको छ। २०४६ सालमा तीस वर्षे पञ्चायतलाई मिल्काएर बहुदलीय व्यवस्था पुनर्स्थापना गरेका नेपाली जनताले अर्को तीस वर्षपछि उस्तै सन्देशसहितको मतादेश दिएका हुन्।

प्रजातन्त्र पुनर्बहालीपछिको अर्को तीस वर्ष सत्ता राजनीतिमा हालिमुहाली गरिरहेका राजनीतिक दलहरूलाई सुध्रने कि सकिने सन्देश यो निर्वाचनले दिएको हो। लामो समयसम्म निरपेक्ष रहेर असन्तोष मात्र व्यक्त गरिरहेको युवा पुस्ता यस निर्वाचनमा आफैं मैदानमा उत्रियो र नसच्चिनेहरूलाई राम्रै शिक्षा दिन पनि सफल भयो। देशमा युवाले थालेको हस्तक्षेपमा बाध्यताले विदेशीभूमिमा बसिरहेका युवाहरूले घरमा रहेका बा–आमामार्फत् सघाए।

जसको पहिलो सन्देश हो– तीन महिनाअघि दल गठन गरेर राजनीतिमा होमिएका सञ्चारकर्मी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर ल्याएको उभार। संगठनको सामान्य संरचना नै नबन्दै चुनावमा होमिएको दलले दशकौंदेखि स्थापित र सत्ता राजनीतिको सुखभोग गरिरहेका दल र तिनका उम्मेदवारलाई ठाउँको ठाउँ पराजयको पीडा चखाए।

अर्कातिर गएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका, धरान र धनगढी उपमहानगरपालिका एवं देशैभरका पालिकानिर्वाचनमा सहभागी स्वतन्त्रले पाएको सफलतालाई पछ्याउँदै यस पटक पनि स्वतन्त्र हैसियतमा चुनावमा होमिने युवाको संख्या उल्लेख्य रह्यो। भलै उनीहरूको सफलताको प्रतिशत कमै किन नहोस्। आफूलाई सर्वेसर्वा ठान्ने दल र तिनका नेताहरूलाई पराजित गर्न विकल्पमा आएकाहरूको भिजन र प्रतिवद्धताभन्दा पनि बढी महत्व मतदाताले ठाउँ ठाउँमा प्रदर्शन गरेको परिपक्वताले गर्‍यो।

कांग्रेस, एमाले र माओवादी जस्ता पार्टी संरचनामा लामो समयदेखि रहेका र नेतृत्वमा कब्जा जमाएको एउटा समूह भने यस पटक सुरक्षित रहन सफल भयो तर उनका मनमा राम्ररी ढ्याङ्ग्रो ठोक्न पनि यो चुनाव सफलएको छ। स्रोत, साधन, शक्ति र पैसाको अत्यधिक दुरुपयोग गर्दै केही ठूला नेता यस पटक पराजित हुनबाट जोगिए तर अर्को पटक चुनावी मैदानमा जाने हिम्मतभने उनीहरूमा आउला कि नआउला संशय बढेको छ।

अर्कातिर कुनै पनि नामको सिद्धान्तहीन, फगत सत्ता केन्द्रित गठबन्धन कुनै हालतमा स्वीकार्य नहुने र नेताले उर्दी जारी गर्दैमा मान्नुपर्ने कुनै कारण नरहेको सन्देश पनि यस निर्वाचनले दिएको छ। मतपत्रमार्फत् मतदाताले यस निर्वाचनमा प्रवाह गरेका उल्लेख्य केही सन्देश यस्ता छन्।

हिंसाको राजनीति अस्वीकार्य

हिंसा केही समयका लागि शक्ति आर्जन गर्ने माध्यम हुन सक्छ। डर, त्रास र धम्कीको बलमा मतदातालाई आफ्ना पक्षमा पार्न सकिएला तर त्यो दिगो हुन्न। मुलुकको अर्थतन्त्र नै तहस नहस हुने गरी २०५२ मा थालेर एक दशकसम्म मच्चाएको हिंसाको दुन्दूभीले माओवादीलाई केही समय सत्ता र शक्तिको टाकुरामा त पुर्‍यायो तर त्यो दिगो हुन दिएन। २०६४ को चुनावमा प्रत्यक्षतर्फ बहुमत सिट जितेको माओवादी २०७० मा आइपुग्दा निकै थोरै सिटका साथ तेस्रो स्थानमा रहन बाध्य रह्यो। त्यसयताको निर्वाचनमा कांग्रेस र एमालेसँग सत्ता दलाली गर्दै अस्तित्व बचाउमा लागेको छ। यस पटकको चुनावमा त माओवादीको उक्त फर्मूलालाई पनि मतदाताले अस्वीकार गरिदिए। त्यसका साथै तराईमा हिंसा चर्काएर शक्तिमा आएका नेताहरूलाई उसैगरी तिरस्कार गरे। त्यहाँका नागरिकले मतपत्रमार्फत् शान्तिमार्गलाई अनुमोदन गरिदिए।

निर्देश अस्वीकार्यराजनीतिमा प्रजातान्त्रिक संस्कारको खोजी

जसरी हुन्छ शक्तिमा टासिनका लागि गरिने जायज नाजायज गठबन्धन स्वीकार्य नहुने यस निर्वाचनको अर्को सन्देश हो। एमाले अध्यक्ष केपी ओलीको सत्ता सनकले संविधान र कानूनका कतिपय व्यवस्थामा नै प्रहार गर्न थालेपछि त्यसको विकल्पमा सरकार चलाउने उद्देश्यले वर्तमान सत्ता गठबन्धन बनेको थियो। त्यसैलाई चुनावी मोर्चामा परिणत गरेर नैतिकहीन सत्तालिप्साको चरम नमूना देखाएपछि मतदाताले यस पटक मौन विद्रोह मतपत्रका माध्यमबाट गरे।

कथित गठबन्धनको उर्दी (ह्वीप) अवज्ञा गर्ने क्रममा सबैभन्दा बढी कांग्रेसी मतदाताहरूले नेताले तोकेका उम्मेदवारलाई लाइन लागेर मत दिन मानेनन्। बरु नयाँ बेग बनेर उदाएको घण्टीमा मत ‘क्रस’ गरिदिए। नतिजा पनि जहाँजहाँ कांग्रेसको उम्मेदवार छैन, त्यहाँ घण्टीले बाजी मारेको देखियो।

भ्रष्टाचार र भ्रष्टाचारी नसहने

परिणामले भ्रष्टाचारमा लिप्त रहेका दागी उम्मेदवारहरूलाई यस पटक मतदाताले रुचाएको पाइएन। उनीहरूले सके पाखा लगाए, नसके सबकसम्म सिकाउने तहमा राखे। काठमाडौं ५ मा एमाले अध्यक्ष ईश्वर पोखरेल हुन्, काभ्रेका गोकुलबाँस्कोटा वा मोरङका भानुभक्त ढकाल, सुनसरीमा कांग्रेसका विजय गच्छेदार हुन् वा भक्तपुरका महेश बस्नेत सबैलाई मतदाताले मत दिन आनाकानी गरेका छन्। जबकी बास्कोटा र बस्नेत केपी ओलीको भान्सासम्म पहुँच राख्दै हुने नहुने निर्णय गराउने हैसियत राख्दथे।

पुराना पुस्तालाई विस्तारै बिदाइ

लामो समयदेखि राजनीतिमा रहेर सत्ता र शक्तिको अग्रभागमा रहेका तर योगदान दिन नसकेका पुराना पुस्ताका उम्मेदवारहरू पनि यस पटक छटनीमा पर्ने देखियो। यो पंक्तिमा अग्रभागमा छन्, पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनाल। अर्कातिर मधेशका महन्थ ठाकुर र उपेन्द्र यादव, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतोहरू यसै मेसोमा परेका छन्।

छबी निर्माण जरुरी

आफ्ना नेताले गरेका अलोकप्रिय कामको पनि प्यादा बनेर गरिने समर्थनलाई मतदाताले स्वीकार्दा रहेनछन् भन्ने दे्खियो। एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल, विष्णु पौडेल जस्ता हस्तीहरूले ब्यहोरेको सास्ती यसैको उदाहरण हो। अर्कातिर पार्टी विभाजनका बेलाको द्वैध भूमिकाका कारण सुरेन्द्र पाण्डेदेखि घनश्याम भुसालसम्म दण्डित हुन पुगे। त्यही चितवनको क्षेत्र नम्बर १ मा कांग्रेसका विश्वपौडेल सम्भावना हुँदाहुँदै पनि आफ्नै सहकर्मी स्वर्णीम वाग्लेको टिकट खोसेको चर्चाका कारण पराजित हुन पुगे।

सिद्धान्त निष्ठता र राजनीतिक अग्रताको सन्दर्भ

एकातिर राजेन्द्र लिङ्देनहरू राप्रपाबाट विजयी बनिरहँदा चुनावको मुखतिर पार्टी प्रवेश गरेका रवीन्द्र मिश्रले चुनाव जित्न सकेनन्। विचारभन्दा माथि देश भन्ने नारासाथ चुनावमा होमिएका मिश्रलाई धेरैले राजा बोक्ने उम्मेदवारका रुपमा चित्रण गरे। मतदाताले मिश्रलाई लिङ्देन र राणाभन्दा पनि बढी राजावादी देखे। अर्कातिर साझा विवेकशीललाई सडकमा पुर्‍याएको रोष पनि उनीमाथि पोखियो। जसका कारण उनी पराजित हुन पुगे।

अर्कातिर पूर्वराजाले आफूलाई पार्टी महाधिवेशनमा हराएको आरोपसहित नयाँ दल बनाएका तर चुनावमा एमालेको सूर्य चिह्न लिएर मैदानमा ओर्लिएका राप्रपा नेपालका कमल थापालाई पनि मतदाताले अस्वीकार गरिदिए। जसरी गठबन्धनले कांग्रेस बहुलक्षेत्रमा माओवादी, नेकपा एससहितका उम्मेवारलाई मत माग्दा मत पाएनन्, उसैगरी थापालाई पनि एमाले मतदाताले मत दिएनन्।

राजनीति पैसाले मात्र हुँदैनचरित्र र व्यवहार पनि सरल चाहिन्छ

हो, वर्तमान अवस्थासम्म आइपुग्दा निर्वाचन अत्यन्तै खर्चिलो भएको छ। वडाको चुनाव लड्न पनि लाख होइन, करोडले नधान्ने भएको छ। पैसा नभएकाले टिकट लिनै नसक्ने, पाए चुनाव जित्न नसक्ने अवस्था सिर्जना भएको छ।सबै अर्थमा पैसाले मात्रै पनि चुनाव जिताउँदो रहेनछ भन्ने एउटा दृष्टान्त चितवन २ मा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको हार बनेको छ।

युवाको लहर

जहाँजहाँ दलहरूले तुलनात्मक रुपमा युवा वा नयाँ अनुहारका उम्मेदवार उठाए त्यहाँ उनीहरूले जित सम्भव तुल्याए। जहाँ त्यस्तो उम्मेदवार पाएनन्, मतदाताले नयाँ अनुहार र युवावयका उम्मेदवारलाई निष्फिक्री मतदान गरे। यसले राजनीतिमा पुस्तान्तरणको बहसलाई सार्थक नबनाए राजनीतिक भविष्य रहने छैन भन्ने सन्देश पनि दिएको छ।

अर्कातिर मधेशमा मधेशी मसिहाको नारा छरेर लगातार आफू र आफ्नाका लागि लुटी खानेहरूलाई यसपटक मतदाताले पन्छाएका छन्। अवसर आउँदा आन्दोलनमा गोली खाएका, घाइते भएका, बिचल्लीमा पारिएकाभन्दा आफू, आफ्ना र आसेपासेलाई च्याप्न थालेपछि यस्तो प्रवृत्तिविरुद्ध पनि मतदाता रुष्ट बनेको देखियो। -आइएनएस-स्वतन्त्र समाचार


Author

राजन कुईंकेल

समसामयिक विषयमा कलम चलाउने कुईंकेल पत्रकार एवं मानवअधिकार रक्षक हुन्।


थप समाचार
ad
x