सप्ताहन्त

बीस लाखको लुटेरा...

विरही बाबु ढुंगेल |
कात्तिक ६, २०७८ शनिवार ९:२२ बजे

म निसास्सिँदो कोठाभित्र 
कहिले एउटा 
कहिले दुइटा 
कहिले धेरैवटा 
प्रायःजसो एउटा 
लुटेराको चित्कारलाई 
कान थापेर सुनिरहेको छु । 

सधैँ सधैँ लुटेराले भन्छ- 
तँबाट जसरी पनि लुट्नु परेको छ । 
म भन्छु- 
मबाट तिमीले लुट्नुसम्म लुटिरहेकै त छ । 
धुत्नुसम्म धुतिरहेकै त छ । 
अब के लुट्छौ ? 
म सकिएको छु । 
तिमीले लुट्दा लुट्दा म रित्तिएको छु । 
चैतको हुरीमा, बाँसको पातझैँ बत्तिएको छु । 
अलिकति प्राण बोकिरहेकाले म आत्तिएको छु । 
कृपा गर लुटेरा, अब मलाई लुट्न छाड, 
म यो कैदमा साह्रै कुज्जिसकेँ । 
विन्ती गर लुटेरा मलाई यो कैदबाट आजै छाड । 


लुटेराले आँखा तरेर, 
दाह्रा निच्याउँदै, नंग्रा फिजाउँदै चिच्यायो ।
तँलाई अझै लुट्न बाँकी छ  । 
लुटेरासँग सवाल जवाफ चल्यो । 
के लुट्छौ ? मेरा बंगारा !
हैन । 
मेरो खप्पर !
हैन । 
मेरो लादी !
हैन । 
मेरो छाला !
हैन । 
मेरो प्राण !
हैन । 
अनि के लुट्छौ त !
बीस लाख । 

लुटेराको एकोहोरो चिच्याहट छ ।
उसलाई जसरी पनि बीस लाख चाहिएको छ । 
म भाग्छु भन्दा पनि 
बीस लाख नदिई भाग्न पाइन्‍न अरे । 
म मर्छु भन्दा पनि 
बीस लाख नदिई मर्न पाइन्‍न अरे । 
अलिकति शान्ति देऊ न त भन्दा पनि 
बीस लाख नदिई शान्ति पाइन्‍न अरे । 
अस्ति-अस्ति, अलि-अलि मात्रै लुटेको अरे 
अहिले एकमुष्ठमा बीस लाख चाहिन्छ अरे । 

मेरो ओठ सुकेको छ  । 
मेरो तालु बसेको छ । 
मेरो निधार खसेको छ 
मेरो पाउ लत्रिएको छ 
मलाई बीस लाखको लुटेराले कैद गराएको छ । 
म पानी भन्छु 
ऊ बीस लाख भन्छ । 
म रोटी भन्छु 
ऊ बीस लाख भन्छ । 
ए दुनियाँ ! मलाई कृपा गरी भनिदेऊ 
लुटेरालाई दिन सित्तैमा बीस लाख कहाँ पाइन्छ ? 

मलाई किन किन 
लुटेराको दुनियाँमा नहूँ जस्तो लाग्छ  
किनकि लुटेराले सबथोक लुट्छ 
कुन दिन मलाई लुट्ने लुटेराले 
लुट्न केही नपाएको झोकमा 
मलाई उल्टै लुटेरा भनी 
लुटेराहरूको साक्षी रोहबरमा 
मलाई मुद्दा हालिदिन सक्छ । 
मलाई लुट्ने लुटेरा 
मेरो सामुन्‍नेमा छ ।


Author

थप समाचार
x