कला

नराम्रा सिनेमा बनाउने छाती खोलेर हिँड्ने तर राम्रा सिनेमा बनाउने मुन्टो लुकाउनु पर्ने, किन ?

इकागज |
चैत २२, २०७७ आइतबार १६:१४ बजे

काठमाडौं  :  राजनीतिक विश्लेषक सोमत घिमिरेले नेपालमा फिल्म किन बनाउने भन्ने विषयमा नै बहस गर्नुपर्ने जरुरी रहेको बताएका छन् । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले अनामनगरको युनियन हाउसमा गरेको अनौपचारिक छलफलमा घिमिरेले यस्तो धारणा राखेका हुन् ।

उनले फिल्म किन बनाउने भन्ने विषयमा पर्याप्त छलफल हुन सके मात्र यसको भविष्यको बारेमा आशावादी हुन सक्ने ठाउँ रहेको बताए ।‘ पहिला राज्यले किन फिल्म बनाउँथ्यो भन्ने त स्पष्ट छ तर अहिले हामी किन बनाइरहेका छौं, यसमा पर्याप्त चिन्तन हुन जरुरी छ । यो स्पष्ट नभएसम्म फिल्म गतिला बन्छन् जस्तो लाग्दैन,’ घिमिरेले भने । 


घिमिरेले नेपाली समाज सार्वजनिक छलफलमा पनि रुचि नराख्ने समाज भएकाले सिनेमाको विषयमा पनि पर्याप्त बहस नभएको धारणा राखेका थिए । ‘यहाँ नराम्रा सिनेमा बनाउने छाती खोलेर हिँड्ने तर राम्रा फिल्म बनाउने मुन्टो लुकाएर हिँड्नु पर्ने अवस्था छ । नराम्रा सिनेमा बनाउनेलाई नभगाएसम्म राम्रा सिनेमा बन्ने वातावरण बन्दैन,’ घिमिरेको धारणा थियो ।

सिनेमा कलाको सबैभन्दा प्रभावकारी माध्यम हुँदाहुँदै पनि नेपालमा यसले किन अपेच्छित स्थान पाउन सकेन भन्ने विषयमा सहभागीले आआफ्नो धारणा राखेका थिए । सहभागीले यसका लागि नेपाली सिनेमाले राम्रो सिनेमा बनाउनेसँगसँगै समीक्षाको संस्कृतिलाई पनि विकास गर्नुपर्नेमा जोड दिएका थिए । लेखक युग पाठकले नेपाली सिनेमामाथि निर्मम समीक्षा नहुँदा यसले बौद्धिक जमातलाई पनि आकर्षित गर्न नसकेको धारणा राखे ।

‘धेरैले रुचाएको कालो पोथीमा असाध्यै धेरै समस्या छन् । तर, कुनै पनि समीक्षकले यी कमजोरी देखेर पनि आफ्नो समीक्षामा उल्लेख गरेनन् । साथी हो किन नराम्रो भन्दिने सोचले समीक्षा प्रभावित थियो । यसले नेपाली सिनेमालाई फाइदा गर्दैन,’ उनको भनाइ थियो । 

कार्यक्रममा नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले आफूहरूले फिल्म फेस्टिभलसँगै बौद्धिक जमातलाई सिनेमाको बहसमा सहभागी गराउन अनौपचारिक छलफलको आयोजना गरेको बताएका थिए । एकेडेमीले वैशाखको अन्तिम साताबाट चौथो निफ फेस्टिभलको आयोजना गर्दैछ ।  कार्यक्रममा बबिता बस्नेत, धीरेन्द्र प्रेमर्षि, गुरुङ सुशान्त, संगीत, यादव भट्टराई, राजेन्द्र रिमाल आदिले पनि आफ्नो धारणा राखेका थिए । 


Author

थप समाचार
x