कला

काठमाडौँ भ्यालीमा कर्नालीको कला संस्कृति (भिडिओ)

इकागज |
असार १८, २०७९ १३:५१ बजे

काठमाडौं - प्लस टु पढ्दादेखि नै जुम्लाका डा. गोविन्द नेपालीको रुचि कला–संस्कृतिमा थियो । ब्याचलर्स गर्दा यही विषयमा विद्यावारिधि गरेर संग्रहालय स्थापना गर्ने उनको धोको थियो । त्यही धोको पूरा गर्न उनी निरन्तर २५ वर्ष लागे । जसका लागि उनी नेपालका ६६ जिल्ला पुगे । त्यहाँबाट पुरातात्विक महत्व बोकेका सामग्री संकलन गरेर ल्याए र त्यसैलाई काठमाडौँको फन भ्यालीभित्र ‘कर्नाली म्युजियम’को स्वरूप दिए । ‘संग्रहालय स्थापना गर्ने काम सानोतिनो होइन रहेछ,’ उनले सुनाए, ‘संग्रहालयमा पुराना सामान संगृहीत गर्न मात्रै मलाई ६ महिना लाग्यो । विभिन्न कानुनी र प्रशासनिक झन्झट बेहोर्नुपर्‍यो ।’ 


कोभिडले गर्दा फन भ्यालीमा आउनेहरू ठप्प भए । तर, संग्रहालयमा श्रम, समय र पुँजी लगानी गरिरहनुपर्‍यो । ‘संग्रहालय सुरुवात गरेर मात्रै नहुँदो रहेछ,’ उनले भने, ‘सामानहरू बिग्रिने चिन्ता हुन्छ । रेखदेख गर्नुपर्छ । बेलाबेला औषधिहरू हालिरहनुपर्छ ।’

डा. नेपालीको एक्लो पहलमा कर्नाली म्युजियम स्थापना गरेको ६ वर्ष भयो । उनले म्युजियमका लागि साँगास्थित फन भ्याली रोज्नुको पछाडि विभिन्न कारणहरू भएको बताए । ‘संग्रहालयमा संगृहीत सामानहरू पुरातात्विक भएकाले सुरक्षाको हिसाबले यहाँ राम्रो भएर यो ठाउँ छानेको हुँ,’ उनले भने, ‘अर्को चाहिँ यहाँ पौडी खेल्न धेरै विद्यार्थी आउँछन् । अहिलेको पुस्तालाई कर्नालीको खस सभ्यताको पहिचान गराउने उद्देश्यले यो स्थान रोजेको हुँ ।’ 

आफ्नो संग्रहालयलाई उनी संग्रहालय मात्र नभएर रिसर्च सेन्टरका रूपमा समेत व्याख्या गर्छन् । ‘कल्चर र आट्र्समा रुचि राख्नेहरू यहाँ आएर अध्ययन गर्न सक्छन्,’ उनले भने, ‘यहाँ फिनल्यान्डबाट दुई वर्ष अगाडि  विदेशीहरू आएर ‘भोजपत्र’मा मास्टर्स गरे । कर्नालीमा हिउँ पर्दा लगाउने जुत्ता ‘दोचा’मा अर्को एकजनाले एमफिल गरे ।’ 

उनका अनुसार कर्नाली म्युजियममा दिनको दुई हजारदेखि २२ सय जनाले अवलोकन गर्छन् । कर्नालीको सम्पन्नताका विभिन्न प्रतीकलाई संग्रहालयमा राखिएको छ । कर्नालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व, परम्परा र त्यसमा प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्रीसमेत यहाँ देख्न पाइन्छ । संग्रहालयमा दक्षिण एसियाली देशका विभिन्न संस्कृति झल्किने फोटोहरू राखिएको छ । संग्रहालयमा छिरेपछि कर्नालीको धेरै वर्ष पुरानो जीवनशैली अवलोकन गर्न पाइन्छ । जसले कर्नालीको भाषा, पहिचान र सभ्यता झल्काउने डा. गोविन्दको भनाइ छ । संगृहीत सामग्रीमा अधिंकाश कर्नालीको खस भाषा प्रयोग गरिएको उनले बताए । ‘कर्नालीको सभ्यता बचाउन यसले केही न केही भूमिका खेल्न भन्नेमा विश्वस्त छु,’ उनले भने, ‘फन भ्यालीमा रमाइलोसँगै यहाँबाट फर्किँदा मानिसहरूले संस्कृतिसम्बन्धि केही ज्ञान लिएर जाउन् भन्ने मेरो उद्देश्य हो ।’

अहिलेका नयाँ पुस्ता केही नयाँ खोजिरहेको उनी पाउँछन् । ‘एकातिर नयाँ पुस्ता केही नयाँ खोजिरहेको जस्तो देखिन्छ,’ उनले भने, ‘अर्कोतिर हामीले बुझाउन सकेनौँ कि भन्ने पनि लाग्छ । मेरो संग्रहालयको उद्देश्य संस्कृतिप्रति उनीहरूलाई जिम्मेवार बनाउनु, सांस्कृतिक सामग्रीहरू उत्पादन गरेर आर्थिक अवस्थासँग जोड्नु र त्यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनु हो ।’ 

संग्रहालयमा संगृहीत १३ प्रकारका सामग्री उनले ललितपुर, इमाडोलमा उत्पादन गर्छन् । जहाँबाट धेरैजनाले रोजगारी पाइरहेका छन् । तर, यो काममा सरकारबाट कुनै साथ सहयोग नमिलेकामा उनको गुनासो छ । ‘अहिले म अर्को पनि संग्रहालय बनाउन लागिपरेको छु,’ उनले सुनाए, ‘धेरै दुःख छ । यो संग्रहालय बनाउँदा नै १०–१५ चोटि पुरातत्व विभाग धाउनुपरेको थियो । त्यसपछि सुरक्षाका कुरामा पनि उत्तिकै चुनौती हुन्छ ।’

डा. नेपाली बेला–बेला विभिन्न स्कुलहरूमा गएर कला र संस्कृतिबारे क्लास लिन्छन् । विद्यार्थीलाई यतातिर प्रेरित गर्छन् । पुराना कुरामा युवापुस्ताको चासोलाई प्रविधिसँग जोड्नुपर्ने उनी बताउँछन् । ‘हाम्रोमा संस्कृति एकातिर, प्रविधि, नयाँ पुस्ताको सोच र विचार अर्कोतिर छ,’ उनले भने, ‘यो खाडललाई पुर्न एकल प्रयासभन्दा पनि नीति निर्माण तहले सोच्न जरुरी छ ।’

कर्नालीको खस संस्कृतिसँग जोडिएका ३७ देखि ५ सय २० वर्ष पुराना सामग्री संग्रहालयमा भएको उनले बताए । कतिपय राज्यसँग नभएका सामग्रीहरू आफूसँग भएको उनी दाबी गर्छन् । ‘यो सामान कति वर्ष मैले सम्हाल्ने,’ उनले भने, ‘राज्य आएर लिओस् । म दिन तयार छु ।’
 

फोटो/भिडियो: आधारबाबु खतिवडा 



Author

थप समाचार
ad
x