कला

'अरु गाडी चढ्ने, लेखक चाहिँ पठाओ पनि चढ्न नहुने ?'

कमल विष्ट |
साउन २७, २०७९ १२:२४ बजे

सुरेश बडाल, नेपाली साहित्यमा अब स्थापित नाम हो । पहिलो कृतिबाटै साहित्यिक वृत्तमा शानदार ‘इन्ट्री’ गरेका बडालको दोस्रो सिर्जना प्रकाशोन्मुख छ– 'मायाका मसिना अक्षर' । उनको दुई वर्षअघि मूलतः बाल मनोविज्ञानमा आधारित कथा संग्रह ‘रहर’ प्रकाशित भएको थियो । सो कथा संग्रहबाट उनले धेरै पाठकको माया पाए । उनलाई ‘सेलेब्रिटी लेखक’समेत बनायो । 

कथाकारका रुपमा साहित्य क्षेत्रमा पाइला चालेका बडालको परिचयको दायरा अझ फराकिलो हुँदैछ– उपन्यासकारको रुपमा । ‘ब्याक टू ब्याक’ पुस्तक लेखिरहेका बडालसँग इकागजले उनको केही दिनमै सार्वजनिक हुन लागेको ‘मायाका मसिना अक्षर’को सन्दर्भमा कुराकानी गरेको छ । 


यसपालि पनि पाठकहरूबाट सकारात्मक प्रतिक्रिया पाउनेमा उनी ढुक्क छन् । पुस्तकको कभर र सामाजिक सञ्जालमा पोस्ट गरिएका केही पंक्तिबाट पाठकहरूबाट उत्साहपूर्ण साथ पाइरहेको उनी बताउँछन् । भन्छन्– उहाँहरूको माया र साथले ममा उर्जा भरिदिएको छ । उपन्यासको नामदेखि विषयवस्तु, लेखन अनुभवदेखि लेखनको उद्देश्यलगायत विभिन्न विषयमा इकागजकर्मी कमल विष्टले बडालसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, उक्त संवादको सम्पादित अंश; 

सिर्जनाको हिसाबले दोस्रो तथा उपन्यासका हिसाबले पहिलो कृति केही दिनमै सार्वजनिक हुँदैछ । कस्तो महसुस भइरहेको छ ?

दुई वर्षको अन्तरालमा मेरा दुई पुस्तक आइसके र एउटा आउनेवाला छ । पहिलो पुस्तक आउँदा आफ्नो सपना नै पूरा भयो भन्ने लागेको थियो । दोस्रो काम, पाओला कोहेलोको ‘हिप्पी’ नेपालीमा अनुवाद गर्दा पहिलो जस्तो रोमाञ्च महसुस गरिनँ । अहिले तेस्रो आउँदै छ, त्यो रोमाञ्चकता अझ घटेको छ । विस्तारै पुस्तक प्रकाशन हुनु एउटा लेखकका लागि नियमित काम रहेछ भन्ने भइरहेको छ । 

तर, पाठकहरूमाझ पुग्दै गर्दा एउटा छुट्टै किसिमको अनुभूति भने सधैँ हुँदोरहेछ । जुन कथा मसँग मात्र थियो, त्यो सबैमाझ पुग्दैछ भनेर अलि नर्भस छु । 

अनि नर्भस चाहिँ किन ?

आफ्नो पुस्तक पढ्दै गर्दा कुनै बेला राम्रो लेखेको छु भनेर ढुक्क हुन्छु, तर त्यो लामो समयसम्म रहँदैन । ३० मिनेटमै अहो ! कतै कमजोर त लेखिनँ भन्ने लागिहाल्छ । ठूलो साइजको पुस्तक आउँदा त्यसलाई पाठकहरूले कसरी ग्रहण गर्लान् भन्ने उत्सुकता र नर्भसनेस दुवै मनमा भइहाल्दो रहेछ ।  

पछिल्लो समय साहित्यमा पनि पोलिटिकल करेक्टनेस खोज्ने प्रवृत्ति बढिरहेको छ । नियत नभए पनि मेरो लेखनले कसैलाई हर्ट गर्ने त होइन ? बेलाबेला यस्ता कुरा  पनि दिमागमा आउँछन् । 

एउटा लेखक ‘पोलिटिकल्ली करेक्ट’ हुन कति आवश्यक छ ? 

पोलिटिकल करेक्ट हुनु आवश्यक छ, तर सबै ठाउँमा हुन सकिँदैन । हुन खोज्दा कथा रहँदैन कि भन्ने लाग्छ । कथा आफ्ना कुरा अभिव्यक्त गर्ने एउटा माध्यम मात्र हो, एउटा ‘टुल’ मात्र हो । उदाहरणका लागि अहिले नेपालमा गणतन्त्र छ । गणतन्त्र विकास र समृद्धिको ‘टुल’ मात्र हो । तर, आफूले चाहेअनुरुप विकास नहुँदा नागरिकहरू गणतन्त्रलाई गाली गर्छन् । गणतन्त्र आफैँमा गलत हो त ? जसरी नेताहरूले गर्न नसकेको दोष गणतन्त्रलाई दिनु उचित होइन, त्यसरी नै पाठकहरूले आफूले चाहेको कुरा कथामा नपाएपछि कथालाई नै गाली गर्नु उचित होइन । 

समालोचनालाई कसरी लिनुहुन्छ ?

समालोचनालाई अत्यन्तै स्वभाविक रुपमा लिन्छु । कुनै पनि क्षेत्रमा नयाँ कुरा आउँदा त्यसको अन्तरवस्तु केलाउनु, वैचारिक मन्थन गर्नु, सिर्जनात्मक आलोचना गर्नु एकदमै आवश्यक छ । तर, भन्नका लागि भन्ने वा यसले त किताब लेख्यो, अब यसलाई त ठोक्नुपर्छ भनेर गरिने आलोचनाहरू मलाई सुन्दर लाग्दैनन् । 

अन्य क्षेत्रमा झैँ साहित्यमा पनि खुट्टा तान्ने प्रवृत्ति छ भन्न खोज्नुभएको हो ? 

हो । हाम्रो क्षेत्रमा यो कुरा व्यापक छ । कोही व्यक्तिगत रुपमा मन नपरेकै कारण उसको विचारलाई निषेध गर्ने परिपाटी पुरानै हो । 

मेरो पहिलो पुस्तक ‘रहर’ बाल मनोविज्ञानमा आधारित छ । त्यसलाई लिएर केही मानिसहरूले जसरी तर्क गरे, त्यसको खण्डन गरे, त्यो आवश्यक थिएन । केहीले भन्नकै लागि भने । तिनमा पूर्वाग्रहको गन्ध थियो । तर, त्यो आवाज ठूलो थिएन । नगण्य थियो । 

अहिले त झन् मेरो पुस्तकको मुख्य विषय नै प्रेम छ । प्रेम यसै विवादित विषय । कसैले यसउपर लेख्दा उसलाई गाली गर्नका लागि आकर्षक विषय पनि हो प्रेम । यस्तो विषयमा लेखिरहँदा उनीहरूलाई गाली गर्न अझ सजिलो हुनेछ ।

यो प्रवृत्ति साहित्यमा मात्र होइन, सबै क्षेत्रमा छ । यो परिपाटी नेपालमा मात्र होइन, संसारभर छ । त्यसैले, यसलाई त्यति महत्व दिनुपर्छ जस्तो पनि मलाई लाग्दैन । 

अब तपाईंको पुस्तकको नाम र यसको विषयवस्तुतिर जाऔँ । ‘मायाका मसिना अक्षर’, उपन्यासको नाम चलनचल्तीको भन्दा फरक छ । नाम र विषयवस्तुबारे बताइदिनुस् न । 

पुस्तकको नाम ‘मायाका मसिना अक्षर’ राख्नुपछाडि मूलतः दुई कारण छन् । पहिलो, किताबको नाम सुनिँदा पनि मायालु, मुलायम सुनियोस् । दोस्रो, चाहिँ विम्बात्मक होस् । मसिना अक्षरलाई अलि बढी सजग र जतनसाथ नियाल्नुपर्छ । उपन्यास लेखिरहँदा माया, अक्षर, मसिना जस्ता शब्दहरू मेरो मस्तिष्कमा गुञ्जिरहे । त्यो गुन्जायमान ध्वनि मलाई मनपर्यो । पुस्तकको नाम त्यो ध्वनिको उपज हो । 

विषयवस्तु नि ?

यसको क्यानभास काठमाडौं हो । तीनवटा मुख्य पात्रहरू छन् । त्यसमा पनि दुई पात्र, दिवस नाम गरेको युवक र रुवा नाम गरेकी युवती, अझ मुख्य छन् । उनीहरूबीच धेरै कुरामा समानता छ । उमेरदेखि संघर्षसम्म । अधिकांश समय कथा उनीहरूकै वरिपरि घुम्छ । 

सामाजिक सञ्जालमार्फत भेट हुन्छ । मित्रताबाट सुरु भएको सम्बन्ध प्रेममा परिणत हुन्छ । अगाडि बढ्दै जाँदा उनीहरूबीच जेजे हुन्छ, त्यो उपन्यासमा छ । यसमा माया के हो ? आकर्षण के हो ? धोका के हो ? भ्रम के हो ? जस्ता प्रश्नको उत्तर खोज्ने चेष्टा पुस्तकमा गरिएको छ । पाठकले प्रेमलाई सुरुसुरुमा जसरी बुझेका हुन्छन्, अन्तिमसम्म त्यो अर्कै भइसकेको हुन्छ । 

यो नायकको भन्दा पनि खलनायकको कथा हो । कथाकी पात्र पनि त्यस्ती आकर्षक छैन । उसलाई सिंगारिको छैन । न त ऊ मुना नै हो । ऊ प्रेमको ‘आइकन’ पनि होइन । 

सर्जकको जिन्दगीसँग कथा कति मेल खान्छ ?

लेखकको व्यक्तिगत जिन्दगीे र सिर्जना नितान्त फरक कुरा हुन् । लेखक जोकोही होस्, यसले अर्थ राख्दैन । किताबलाई पर राखेर प्रश्न मलाई गरिएको हो भने म अविवाहित हुँ । 

तर, म पूर्ण रुपमा निरपेक्ष भने छैन । थोरै मात्र छु उपन्यासमा । पुस्तक थोरै आफ्नै भोगाइ, थोरै साथीहरूको जीवन र धेरै स्वैरकल्पनाको संयोजन हो । 

पाठकहरूले प्रेमउपर लेखिएका थुप्रै पुस्तकहरू पढिसकेका छन् । यो सूचीमा तपाईं पनि थपिनुभएको छ । पाठकहरूले किन फेरि त्यही पुररावृत्ति पढ्ने ? 

अहिलेसम्म प्रेममाथि लेखिएका पुस्तकहरू सतही छन् । लेखनी एउटै फर्मुलामा चलिरहेको छ । पहिला भेट, त्यसपछि ‘डेट’ अनि विछोड । मैले चाहिँ अलि गहिराइमा पुगेर समस्या बुझ्ने प्रयास गरेको छु । समाचारले देखेको कुरा मात्र भन्छ, नदेखिने र मान्छेको मनभित्र घटेको कुरा भन्दैन । साहित्यले नदेखिने कुरा भन्नुपर्छ । 

नेपाली साहित्यमा अहिलेसम्म प्रकाशित पुस्तकहरूबाट म सन्तुष्ट भइनँ । मैले देखेका, मलाई हिर्काएका विषयवस्तुबारे म आफैँले लेख्नुपर्छ भन्ने लागेर यो लेखेको हुँ। 

हो, नलेखिएको विषयमा मैले लेखेको भए राम्रो हुन्थ्यो । तर, एकपल्ट चाहिँ लेख्नैपर्छ भन्ने लाग्यो । बरु फेरि प्रेमकै विषयमा नलेखुलाँ । 

पुस्तकमा प्रेमका संगतिभन्दा विसंगतिबारे चर्चा छ । पुस्तक यस अर्थमा पनि फरक छ । 

कथाकारदेखि अब उपन्यासकार हुने बाटोमा हुनुहुन्छ । कथा लेखन र उपन्यास लेखनमा के–कस्ता फरक पाउनुभयो ?

कलाका सबै पाटाको अनुभूति एउटै हुन्छ । त्यसैले त्यति फरक हुन्छ जस्तो मलाई लाग्दैन । एउटा लेखकलाई आफ्ना कुरा जुन विधाबाट अभिव्यक्त गर्दा ठीक हुन्छ जस्तो लाग्छ, उसले त्यसैबाट गर्छ । कसैले कथा, कसैले नाटक, कसैले कविता, कसैले फिल्म तथा कसैले उपन्यासबाट गर्छ ।

मलाई सानो फर्म्याटमा धेरै कुरा अटाउनु थियो, त्यसैले मैले ‘रहर’ लेखेँ । अहिले एउटै कथाको आयतन ठूलो हुँदै आयो, विस्तृतमा भन्नुपर्छ जस्तो लाग्यो त्यसैले उपन्यास लेखेँ । 

भन्नुको अर्थ, विधाले सर्जकको मनोदशालाई फरक पार्दैन । उनीहरूभित्र एउटै कुरा गुज्रिने हो । फरक के मात्र हो भने कुनैलाई लामो समय लगाएर सिर्जना गरिएको होला कुनलाई छोटै समयमा । कसैले कागजमा उतार्यो होला, कसैले कम्प्युटरमा । माध्यम मात्र फरक होला । 

पछिल्लो समय लेखकहरू बजारमुखी हुँदै गए, पुस्तकको संख्या बढ्यो, तर ‘क्वालिटी’ बढेन, त्यसैले साहित्यमा ह्रास आयो भन्ने जस्ता तर्क पाठक तथा ​समालोचनबाट मात्र होइन, कहिलेकाहीँ लेखकहरूबाटै सुनिन्छ । तपाईं चाहिँ बजारबारे कति सोच्नुहुन्छ ?

बजारमुखी नहुनलाई त तपाईंले घरमै बोलाएर पुराण लगाएर कथा भन्नुपर्छ । हरेक उत्पादित वस्तुलाई बजार चाहिन्छ । तपाईं समाचारलाई त 'कमोडिटी' बनाएर बेच्नुहुन्छ । बीचबीचमा विज्ञापन राखेर समाचार बेचिन्छ ।  

मसी र कागज त्यत्तिकै आउँदैनन् । सरकारले सञ्चालन गरेका प्रज्ञा र साझा हामीले देखिसकेका छौँ । बरू निजी क्षेत्रका प्रकाशकहरूले घरखेत बन्धकी राखेर प्रकाशन गृह खोलेका छन् । लेखकले ऋण लिएर पुस्तक प्रकाशन गरेका छन् । अन्य क्षेत्रका व्यक्तिहरू चाहिँ गाडी चढेर हिँड्न हुने, तर लेखक चाहिँ पठाओ चढेर पनि हिँड्न नहुने ? त्यसैले, व्यावसायिक हुनुपर्छ । 

तर, म लेख्दाखेरि कथालाई न्याय गरेँ कि नाइँ भनेर हेर्छु । त्यो ‘कमर्सियल’ भयो कि भएन भनेर हेर्दिनँ । कला र साहित्य ‘कमर्सियल’ हुँदैन, प्रस्तुति हुन्छ । एउटा सिनेमा ‘कमर्सियल’ हुँदैन, तर त्यसमा गरिएको लगानी, पसिना, श्रम र मेहनतको अवश्य पनि मूल्य हुन्छ । पुस्तकको हकमा पनि त्यही हो । 

साहित्यमा ह्रास आएको छ । तर, त्यो ‘कमर्सियल’ भएर आएको होइन । त्यो त कामभन्दा हल्ला धेरै गर्ने प्रवृत्तिका कारण आएको हो । खै त पुस्तक लेखिएका ? ह्रास भएको गुणको क्षतिपुर्ति त असल किताब लेखेरै पूरा हुने होला । किन लेख्दैनन् त लेखकहरू ? 

केही लेखकहरूले बेलाबेला नेपालमा लेखेरै खाने अवस्था सिर्जना नभइसकेको गुनासो गर्छन् । तपाईंको हकमा के छ ? लेखेरै बाँच्न सकिन्छ ? 

लेखेरै बाँच्ने अवस्था त छैन, तर म बनाइरहेको छु । त्यसमाथि पछिल्लो समय नेपालमा पुस्तकको व्यापार खस्किएको छ । किताब मात्रै लेखेर बाँचिँदैन । तर लेखनका धेरै विधाहरू छन् । आफूले पहिल्याउन सक्नुपर्छ । म अनुवाद गर्छु, विज्ञापन तथा विभिन्न क्षेत्रका लागि ‘कन्टेन्ट’ लेख्छु ।  

तपाईँको पुस्तक ‘भर्चुअल्ली’ सार्वजनिक गर्ने कुरा रहेछ । किन ? 

संक्रमण बढिरहेको अवस्था छ । झरी पर्ने मौसम । पानी परेर अप्ठेरो पर्ला भन्ने पनि लाग्यो । पट्यारलाग्दा विमोचन कार्यक्रमहरू, उही वक्ता, विमोचनका उस्तै शैली, पाठक, दर्शकहरूलाई पनि झिँजो जस्तो लाग्न थालेको आभाष पनि भयो । यसो गर्दा खर्च पनि जोगिने भयो ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
ad
x