कला

करदाता शिक्षा बढाउन सडक नाटक

इकागज |
बैशाख ३, २०७८ शुक्रबार १६:३५ बजे

तस्बिर : काठमाडाैँ महानगरपालिका

काठमाडौँ : कोभिड १९काे महामारीले आर्थिक क्षेत्र नराम्रोसँग प्रभावित भयो । देशको राजस्व संकलन पनि प्रभावित बन्यो । नागरिकहरूमा करदाता शिक्षा बढाउन काठमाडौँ महानगरपालिकाले भने सडक नाटक थालेको छ ।

शुक्रबार हनुमानढोका कालभैरव पछाडिको डबलीमा नाटक ‘आनासुकी घरवेटी बा’ मञ्चन गरिएको हो । त्यसपछि कालिमाटी, कलंकी, चाबहिल, गौशाला, नयाँबानेश्वरलगायतका विभिन्न १० स्थानमा शुक्रबार नाटक मञ्चन गरिएको हो । 


नाटक करीब २० मिनेटको छ । घरधनीलाई बहाल नतिरी भाग्ने भाडावाललाई खोजेर भाडा असुल्न हिँडेको घरधनी आफूले महानगरलाई कर नतिरेका कारण आफैँ कानुनको परिबन्दमा परेको कथा नाटकमा देखाइएको छ । कर केही समय छल्न सकिन्छ । तर, कुनै न कुनै दिन कानुनको फन्दामा परिन्छ । कानुनी कारबाहीमा पर्ने त्यो समय आउनु अघि थोरै थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने नाटकले देखाउन खोजेको सन्देश हो । 

कृष्णजीत राईले लेखेको नाटकको रीता थापाले निर्देशन गरेका हुन् । त्यस्तै नाटकमा सुरज विष्टले लोभी घरबेटी बाको अभिनय गरेका थिए भने जीवन थापाले असल छिमेकी, मञ्जु गिरीले वडा कार्यालयको कर्मचारी, कञ्चन सापकोटाले भाडावालको भूमिका निभाएका थिए ।  

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार करदातालाई कर तिर्न बाध्य भएको महसुस नगराई यो नागरिक दायित्व हो भनेर सचेत गराउन यो सडक नाटक प्रदर्शन गरिउको हो । उनले भने, ‘कोभिड १९ का कारण चालु आर्थिक वर्षमा राजस्व संकलनको प्रक्षेपण नै कम गरिएको छ । महामारीका समयमा दबाब दिएरभन्दा दायित्व बोध गराएर राजस्व असुली गर्ने योजनाअनुरुप सडक नाटक प्रदर्शन थालिएको हो ।’ विभागले व्यवसाय कर अनुगमन कार्यलाई नियमित गरिरहेको छ । यस क्रममा कर तिर्नेलाई धन्यवाद पत्र र नतिर्नेलाई विभागमा हाजिर हुने पत्र दिने गरिएको छ । 

महानगरले यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्बन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको जानकारी छ । होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ । अधिकारीले भने, ‘हामीले चैत मसान्तसम्मका लागि सम्पत्ति करमा १० प्रतिशत छुट दिएका थियौँ । होटलहरुलाई असारसम्म नै सम्पत्ति करमा ७५ प्रतिशत छुट दिएका छौँ ।’ भाडावाललाई कोविडका समयमा १ महिनाको बहाल छुट दिने घरधनीलाई महानगरले बहाल करमा छुट दिएको छ । सुर्पेटो मिडियासँगको सहकार्यमा नाटक मञ्चन गरिएको हो । 


Author

थप समाचार
x