कला

स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइयाे

इकागज |
मंसिर १९, २०७९ सोमवार १७:५५ बजे

काठमाडौँ- स्वर सम्राट नारायण गोपालको ३२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।​

विसं १९९६ असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो । स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोष तथा सांस्कृतिक संस्थानले संयुक्त रूपमा विशेष सांगीतिक समारोह तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।


कार्यक्रममा गीतकार राजेन्द्र थापा तथा संगीतकार प्रकाश गुरुङलाई नारायण गोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार अर्पण गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदीप पौडेलले नारायण गोपालले राष्ट्रका लागि गरेको योगदानको चर्चा गरे । उनले मुलुकको मौलिकता बनाउनका लागि अर्को नारायण गोपाल जन्माउन जरुरी रहेको धारणा राखे । स्रष्टाहरूलाई राज्यले उचित स्थान दिनुपर्ने उनको भनाइ छ ।

आफ्नो अद्वितीय गायनबाट सबैलाई आकर्षण गरेका नारायण गोपाललाई स्वर सम्राटको उपाधि प्रदान गरिएको थियो । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेपछि गायन यात्रालाई निरन्तरता दिएका नारायण गोपालले नेपाली भाषाका एक सय ३५ भन्दा धेरै गीत गाएका थिए । 


Author

थप समाचार
x