कला

वरिष्ठ लेखक, गीतकार तथा निर्देशक चेतन कार्कीको निधन

सामीप्यराज तिमल्सेना |
जेठ २, २०७८ आइतबार १२:३९ बजे

काठमाडौं :  फिल्म लेखक तथा निर्देशक चेतन कार्कीको निधन भएको छ । छाउनीस्थित आर्मी अस्पतालमा उनको निधन भएको कार्की निकट संगीतकार नारायण वलीले जानकारी गराए । कार्की ८४ वर्षका थिए । 

भारतको देहरादून गएका कार्की नेपाल फर्कंदा संक्रमित भएको आंशका गरिएको छ । वलीले चैत ३१ गते कार्की घरव्यवहार मिलाउन देहरादुन गएको र १७ गते भैररहवाको बाटो हुँदै फर्किएको बताए ।


‘उहाँ यता बस्न थाले पनि उता देहरादुनमा पनि उहाँको व्यवहार थियो । वर्षको एक चोटि जानुहुन्थ्यो । फर्कंदा भैरहवाको बाटो हुँदै फर्कनु भएको थियो । ४ घन्टा लगेज बोकेर हिँड्नु पर्यो भनेर काठमाडौं आउने बित्तिकै फर्कनु भएको थियो,’वलीले भने । स्याङजाको आरुखर्क ९ मा जन्मिएका कार्की बुबाको जागिर पछ्याउँदै देहरादुन पुगेका थिए । त्यहीँ उनले हिन्दी साहित्यमा एम र बीएस्सी गरेका थिए । 

वरिष्ठ लेखक, गीतकार तथा निर्देशक चेतन कार्कीको अन्तिम रेकर्डेट गीत :

स्कुल तथा कलेज जीवनमा चेतन कार्कीको रुची फुटबलमा थियो । उनले दिएका केही अन्तर्वार्तामा उनले आफू आगरा विश्वविद्यालयको फुटबल क्याप्टेन भएको बताएका छन् । त्यसैगरी उनले सन् १९५८ मा स्टेट अफ युपीको नेसनल च्याम्पियनसमेत खेलेको बताएका थिए । 

सन् १९६० मा कार्की नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि उनले रेडियो नेपालमा जागीर खाने प्रयत्न गरेका थिए । तर, उसबेला मन्त्री परिषद्का अध्यक्ष तुलसी गिरीका भतिजा प्रविण गिरी पनि यही दौडमा थिए । लिखित परीक्षामा अब्बल हुँदा हुँदै पनि उनले प्रवीण गिरीसँग जागीर हारेका थिए । 

यसपछि भने उनले मत्स्य विकास तथा प्रशासनको तालीम लिएर पोखराबाट मत्स्य विकास अधिकृतको जागिर खाएका थिए । २ वर्ष पोखरामा बसेर काम गरेका कार्कीले आफूभन्दा कनिष्ठको बढुवा भएपछि उसबेलाका कृषिमन्त्री राजेश्वर देवकोटालाई राजीनामा बुझाएका थिए । 

चलचित्रमा चेतन कार्कीको प्रवेश पटकथा लेखकको रुपमा भएको थियो । हिरासिंह खत्रीको निर्देशनमा बनेको ‘परिवर्तन’ चलचित्रमा पाइला हालेको पहिलो फिल्म थियो । ‘चेतना’ शीर्षकमा बनेको यो फिल्ममा कार्कीले पटकथा लेखेका थिए जुन पछि गएर ‘परिवर्तन’ नाममा रिलिज भएको थियो । 

२०२८ सालमा शाही चलचित्र संस्थानको स्थापना भएसँगै कार्कीले निर्माण अधिकृतको रुपमा जागिर सुरु गरेका थिए जहाँबाट उनले १० वर्ष काम गरेर राजीनामा दिएका थिए । यो बीचमा उनले शाही चलचित्र संस्थानले निर्माण गरेका ‘मनको बाँध’ ‘कुमारी’, ‘सिन्दुर’, ‘जीवनरेखा’ आदि फिल्ममा निर्माण अधिकृतको पनि काम गरेका थिए । 

सन् १९८६ मा बल्ल उनले निर्देशकको रुपमा पारी थालेका थिए । ‘विश्वास’ उनले निर्देशन गरेको पहिलो फिल्म थियो । त्यसपछि उनले ‘भूमरी’, ‘पहिलो प्रेम’ आदि फिल्म निर्देशन गरेका थिए । तर, पटकथा र गीत लेखकको रुपमा उनले जति सफलता प्राप्त गरेका थिए त्यति निर्देशनमा भने सफल भएनन् ।

उनले निर्देशन गरेको ‘भूमरी’ २०४६ सालको आन्दोलनको मारमा परेका थिए । यो फिल्मका हिरो अर्जुनजंग शाही थिए तर २०४६ सालको आन्दोलनमा उनले दमन गरेको कारण देखाउँदै यो फिल्म दर्शकले बहिष्कार गरेका थिए । सानो उमेरदेखि नै कलाकारितामा रुचि राख्ने कार्कीले लोकगीत र नाटकमा पनि उत्तिकै काम गरेका थिए । 

संगीतकार नारायण वलीका साथ चेतन कार्की ।


२०२३ सालमा प्रदर्शन भएको ‘आत्मा बेचेको छैन’ टिकट काटेर प्रदर्शन गरिएको पहिलो नाटक भएको कार्कीले दाबी गरेका थिए । यतिमात्र होइन झलकमान गन्धर्वलाई अमर बनाउने गीत ‘आमाले सोध्लिन् नी’ बोलको गीत सर्वप्रथम यही नाटकमा प्रयोग गरेको कार्कीले अन्तर्वार्तामा दाबी गरेका छन् ।

तर, उनले यो गीत झलकमानको नभई उनको बुबा दुर्गबहादुर मिजारको मुखबाट सुनेको उनले बताएका थिए ।  नाटक मञ्चन हुने दिन दुर्गबहादुर बिसन्चो भएर झलकलाई पठाएपछि सदाका लागि यो गीत झलकमानको भएको थियो । कार्कीले चलचित्रबाट मात्र काम गरेर जीवन धान्न मुस्किल भएपछि सेन्टमेरिजमा विज्ञान बढाउनेसँगै ट्याक्सी पनि चलाएका थिए ।

कार्कीका अनुसार उनले ‘परिवर्तन’बाट कमाएको सेकेन्डह्यान्ड जिप किनेको र त्यो पोखरामा चलाएको उल्लेख गरेका छन् । ‘गुरु हिरासिंह खत्री तेस्रो फिल्म बनाएर भारत नै फर्कने भएपछि फिल्ममा भविष्य छैन भन्ने लागेर ‘परिवर्तन’बाट पाएको पैसाले जिप किनेँ । त्यो जिप २०२५ सालमा काठमाडौं, रक्सौल, मुजफ्फरपुर, गोरखपुर र भैरहवा हुँदै पोखरा पुर्याएर चलाएका थिएँ,’ उनले फिल्म निर्देशक मोहन राईसँगको कुराकानी समेटिएको ‘जक्स्टापोजिसन’ पुस्तकमा भनेका छन् । 

 चेतन कार्कीले निर्देशनमा उति सफल नभए पनि गीतकारको रुपमा भने निकै नै सफल छन् ।  ‘बहिनीको दया छ भने’ र तीजको एन्थम गीत ‘तीजको लहर आयो वरिलै’ पनि चेतन कार्कीको गीतकार व्यक्तित्वलाई पुष्टि गर्ने प्रतिनिधी गीत हुन्  । गोर्खा दक्षिणबाहु, शुभराज्याभिषेक पदक, रजत महोत्सव पदकसँगै छिन्नलता पुरस्कार पाएका कार्की पछिल्लो समय भने गीत लेखनमा मात्र सक्रिय थिए । म्युजिक नेपालको लगानीमा नारायण वलीसँगको सहकार्यमा चाँडै नै एल्बम सार्वजनिक गर्नेगरी केही दिन अघि गीत रेकर्डिङ भएको हो । 

कार्कीका ‘आत्मा बेचेको छैन’ ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’, ‘हो देश मेरो पनि’ ‘बसिबियाँलो’ ‘माया–प्रीतिको चोखो कथा’ गीत संग्रह पनि प्रकाशित गरिसकेका छन् । यसका अतिरिक्त उनका उपन्यास ‘हनिमून’, लघु उपन्यास ‘ढलेको गिलास’ पनि प्रकाशित छन् । उनले हिन्दी कविता संग्रह ‘कल्पना टुट चुकी है’ पनि प्रकाशन गरेका छन् ।  


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x