कला

आई मिस यु चेतन अंकल !

दीपेन्द्र लामा |
जेठ २, २०७८ १७:२३ बजे

फिल्मकर्मी, कलाकार र साहित्यकारहरुले फेसबुक वालमा चेतन कार्कीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । मेरो मस्तिष्कमा भने पुल्चोकको डेराजीवनमा बितेका पलहरु ताजा भइरहेका छन् । पाटनका कनिबहाल, इलाछें, मंगलबजार र गाबहाल हुँदै पाँचौं डेराका रुपमा पुल्चोक आइपुगेको थिएँ म ।

पुल्चोक अलि फराकिलो लाग्यो । पहिला साथीहरु नेवारमात्र हुन्थे । त्यहाँ आइपुगेपछि तामाङ, गुरुङ, छेत्री, बाहुन साथीहरु पनि थपिए । घुम्ने, खेल्ने, टहलाउने ठाउँ जताततै थियो ।


ADVERTISEMENT

पुल्चोकमा नयाँ ठाउँ र नयाँ मान्छे एक्सप्लोर गर्ने क्रम चलिरहन्थ्यो । त्यही क्रममा भेटिएका नयाँ र विशेष पात्र हुनुहुन्थ्यो चेतन कार्की । त्यतिखेर भर्खर आईएससी पढ्दैथिएँ, उहाँलाई म चेतन अंकल भनेर सम्बोधन गर्थें । ममात्र होइन प्रायः सबैले चेतन अंकल नै भन्थे ।

सानो उमेरमै फिल्मको पारखी भइसकेको थिएँ । हलमा लागेका नयाँ फिल्म नछुटाई हेरिन्थ्यो । त्यस्तै फिल्मसम्बन्धी पत्रिका र म्यागेजिनका हरेक अंक बटुलेर पढिहाल्थेँ ।

पुल्चोकमा ३–४ वटा स्टेसनरी पसल थिए । तर, म दमकलको पश्चिमपट्टिको बाटोमा रहेको पसलमा जान्थेँ । कविता र गजल पनि लेख्ने साहित्यप्रेमी मुरारीप्रसाद सिग्देलको पसल थियो त्यो । त्यहाँ सबैखाले पत्रिकाका नयाँ अंक सरसर्ती पल्टाउने र इच्छा लागेको किन्ने सुविधा थियो ।

त्यही पसलमा हरेक साँझ भेटिनुहुन्थ्यो चेतन अंकल । सुरुसुरुमा उहाँ को हुनुहुन्थ्यो भनेर ख्याल पनि गरिएन । एकपटक उहाँ नेपाली फिल्मका पुराना रोचक किस्साहरु सुनाउँदै हुनुहुन्थ्यो । कतै पत्रिकामा नपढेका र थाहा नभएका नयाँ किस्सा थिए ती ।

उहाँको शैली कस्तो थियो भने आफू पनि सहभागी भएको घटना सुनाउनुहुन्थ्यो र एकछिन सुन्नेबित्तिकै उहाँ चेतन कार्की हो भन्ने कुरा प्रष्ट बुझिन्थ्यो । ‘त्यो चेतन कार्की कहाँ छ, उसलाई बोलाऊ भनिबक्सेछ, अनि म गएँ’ यसरी उहाँले आफ्नो सन्दर्भ घुसाउनुहुन्थ्यो ।

उहाँका गफहरु निकै तथ्यपरक र फराकिला हुन्थे । उहाँलाई जीवित इन्साइक्लोपेडियाको संज्ञा दिँदा फरक पर्दैनथ्यो । त्यसमाथि नेपाली र भारतीय फिल्मका पुराना प्रसंगहरु जीवन्त सुनाउने हुनाले सबैजना मोहित हुन्थे । म पनि मोहित नहुने कुरै भएन । बिस्तारै, पत्रिका किन्नभन्दा पनि उहाँलाई सुन्न त्यो पसलमा जान थालेँ ।

दिउँसो ४ बजे उहाँ पसलमा आइसक्नुहुन्थ्यो । साँझ ६ बजेसम्म बसेर झम्सिखेल अवस्थित घर फर्किनुहुन्थ्यो । कुनै दिन पसल जान पाइएन भने निकै थकथक् लाग्थ्यो । उहाँ बेलाबेला पोखरा गइरहनुहुन्थ्यो । आठदस दिन हराउनुहुन्थ्यो । कहिलेकाहीँ देहरादून जानुहुन्थ्यो, एक महिना नै गायब हुनुहुन्थ्यो । त्यस्तोबेला बडो न्यास्रो लाग्थ्यो ।

उहाँलाई सुन्ने जिज्ञासुहरु चारपाँचजना हुन्थे । तर, त्यतिबेला पसलका सञ्चालक मुरारीप्रसाद र म नै नियमित थियौं । कहिलेकाहीँ म काठमाडौं बाहिर गएर फर्किंदा उहाँले पनि भन्नुहुन्थ्यो, ‘दीपेनबाबु, कहाँ हराउनुभएको तपाईं ?’

हामी चिया पिउँथ्यौं । उहाँ चाहिँ कोक । कोक उहाँको प्रिय पेयपदार्थ थियो । जाडोमा पनि कोक पिउनुहुन्थ्यो । मुरारीप्रसादजी ग्राहकलाई कुराएर भएपनि कोक लिन हतारिनुहुन्थ्यो ।

चेतन अंकल बर्खामा छाता, अरुबेला लौरो टेकेर पत्रिका पसल आइपुग्नुहुन्थ्यो । काठको टुलमा बसेर खल्तीबाट फोटो खिच्ने रिलको कालो बट्टा निकाल्नुहुन्थ्यो । बिर्को पिटिक्क खोल्नुहुन्थ्यो । त्यसमा रहेको वस्तु हामीलाई हत्केलामा अलिअलि खन्याइदिनुहुन्थ्यो । त्यो वस्तु थियो, चिनीको दाना आकारका सुपारी र चीजको धुलोको मिश्रण । निकै मिठो लाग्थ्यो त्यो वस्तु ।

बुवा इन्डियन आर्मी भएकाले उहाँ देहरादूनमै हुर्किनुभयो । त्यहीँ उहाँले १८ वर्षको उमेरमा बायोलोजीमा बिएससी पास गर्नुभएछ । हिन्दी साहित्यमा एमए पनि सिध्याउनुभएछ । त्यसैले उहाँले सुनाउनुभएका किस्साहरु तर्कसंगत र साहित्यिक भएको हुनुपर्छ ।

२०५३–५४ सालतिरको कुरो थियो । त्यतिबेला उहाँ नेपाल टेलिभिजनको ‘गीताञ्जली’ कार्यक्रमका लागि स्क्रिप्ट लेख्नुहुन्थ्यो । उहाँले लेखेका स्क्रिप्ट नै कार्यक्रम सञ्चालिका प्रिया थापाले बोल्थिन् । उहाँले के लेख्नुभएछ भन्ने थाहा पाउन हरेक मंगलबार श्यामश्वेत टिभीमा ‘गीताञ्जली’ कार्यक्रम हेरिन्थ्यो ।

मलाई त्यो गीताञ्जलीको स्क्रिप्ट लेख्नुछ भन्दै उहाँ बेलाबेला छिट्टै घर फर्किनुहुन्थ्यो । इमेलको जमाना थिएन । त्यसैले उहाँ पोखरा वा देहरादून जानेबेला एकैपटक ३–४ वटा शृंखलाका लागि पुग्ने स्क्रिप्ट लेख्नुहुन्थ्यो । कमिजको खल्तीमा स्क्रिप्ट लिएर आउनुहुन्थ्यो । यदाकदा मैले यस्तो लेखेँ भनेर स्क्रिप्ट पल्टाउँदै केही शायरी सुनाइहाल्नुहुन्थ्यो । त्यो शायरी आगामी गीताञ्जली कार्यक्रममा बज्थ्यो । नेपाल टेलिभिजनका विजयउदय पाल्पाली स्क्रिप्ट लिन कहिलेकाहीँ त्यही पसल धाउनुहुन्थ्यो ।

उहाँ जतिबेला पनि नेपालमा बनिरहेका फिल्म ठिक छैनन् भन्नुहुन्थ्यो । र, यथार्थपरक फिल्म नै बनेन भन्दै चिन्ता दर्शाउनुहुन्थ्यो । यथार्थपरक फिल्म भनेको के हो भन्ने प्रश्नले मेरो दिमाग चिमेटोको त्यतिबेलै हो । त्यसअघि हल्काफुल्का, मारधाडवाला हिन्दी फिल्म र तिनका नेपाली संस्करणमै रमाइरहेको थिएँ ।

‘दीपेनबाबुको गाउँ कता हो ?’ एकपटक उहाँले सोध्नुभयो । मैले ‘पर्साको सुवर्णपुर, वीरगञ्जबाट जानुपर्छ’ भनेँ । अनि उहाँले वीरगञ्जको एउटा घटना सुनाउनुभयो । त्यतिबेला उहाँलाई नेपाल प्रहरीमा डिएसपीको पोस्ट दिन्छु भनेर पुलिसको फुटबल टिममा सहभागी गराइएको रहेछ । पुलिसको टिमबाट फुटबल खेल्न उहाँ वीरगञ्ज जानुभएछ । सायद त्यो टुर्नामेन्ट ‘तेजबहादुर अमात्य गोल्डकप’ थियो ।

टुर्नामेन्टमा बिहारको लेहरिआ सारै भन्ने सहरको टिम पनि आएको रहेछ । पुलिस र त्यो टिमको खेल भइरहेको थियो । तर, दर्शकहरुले त्यही बिहारी टिमको समर्थनमा हुटिङ गरिरहेका थिए । खेल सकिएपछि उहाँले ती दर्शकमध्ये एकजनालाई सोध्नुभएछ, ‘तपाईंहरु बिहारकै हो ?’ तर, तिनले भनेछ, ‘होइन, हामी यतै नेपालकै हो ।’

२०१८ सालको घटना थियो त्यो । उहाँलाई त्यतिबेला महसुस भएछ, मधेसीहरुले नेपाललाई अभैm पनि आफ्नो ठान्न थालिसकेका रहेनछन् । २०१७ सालमा सत्ता आफ्नो हातमा लिएका राजा महेन्द्रले २०२०–२१ सालदेखि मधेसका सीमाक्षेत्रमा पहाडियाहरुको बस्ती बसाल्ने अभियानलाई व्यापक बनाए ।

पोखराको तालविकासमा काम गर्दा चेतन अंकललाई सुविधाका लागि एउटा घोडा दिइएको रहेछ । उहाँ अफिसपछि सधैं भट्टीमा जानुहुन्थ्यो । रक्सीले अर्धबेहोस भएको बेला उहाँलाई साथीहरुले घोडाको पिँठ्युमा हातहरु एकापट्टि, खुट्टाहरु अर्कोपट्टि पारेर सुताइदिँदारहेछन् । त्यो घोडाले कतै पनि नलडाई घरसम्म लगिदिँदोरहेछ । त्यो जेहेनदार घोडाको उहाँ सधैं सम्झना गर्नुहुन्थ्यो ।

शाही नेपाल चलचित्र संस्थानमा निर्माण प्रमुख भएर उहाँले काम गर्नुभएको थियो । त्यहाँका रमाइला किस्साहरु पनि उहाँले सुनाउनुभएको थियो । तर, सबैभन्दा रोचक चाहिँ फिल्म ‘जीवनरेखा’को किस्सा थियो । उक्त फिल्ममा नायकको भूमिकामा अभिनय गर्नका लागि धेरैले अन्तर्वार्ता दिएका थिए ।

शिव श्रेष्ठ, भुवन केसी र अर्जुनजंग शाही सर्ट लिस्टमा परे । अर्जुनजंग अन्तिम अन्तर्वार्तामा आएनछन्, पोखरामै अल्झिएर । शिवले पहिले नै निर्देशक प्रकाश थापासँग सेटिङ मिलाएका रहेछन् । निर्देशक थापाले शिवको फोटोमा जुँगादाह्री कोरेर छनोटकर्ताहरुलाई भन्नुभएछ, ‘ल हेर्नुस् यस्तो गेटअपमा पनि ऊ नै पर्फेक्ट छ ।’

त्यसपछि शिव छानिए । वास्तवमा निर्देशक थापामात्र होइन चेतन अंकल पनि शिवका समर्थक हुनुहुन्थ्यो । पछि उहाँले आफ्नो निर्देशन रहेको पहिलो फिल्म ‘विश्वास’मा शिवलाई नै लिनुभयो ।

पुल्चोकमा बस्दा हामी धोबीघाटको ढुंगेधारामा नुहाउन जान्थ्यौं । चेतन अंकलको घर रहेको गल्ली हुँदै जानुपथ्र्यो । सेन्ट मेरिज स्कुलवरिपरि र झम्सिखेलका सडकहरुमा उहाँ हिँडिरहेको भेट्टिनु सामान्य थियो । उहाँलाई सबैले चिन्थे । र, त्यो इलाकामा उहाँलाई सबैले अभिभावकजस्तो मान्थे ।

पुल्चोकमा ४–५ वर्ष बसिसकेपछि म बागडोल, थसिखेल हुँदै काठमाडौंतिर डेरा सरेँ । पत्रकारितामा व्यस्त भएँ । नागरिक पत्रिकामा छँदा उहाँलाई अन्तर्वार्ताका लागि फोन गरेँ । उहाँले ‘हेमराज ज्ञवालीको पत्रिकालाई अन्तर्वार्ता दिन्न बाबु’ भन्नुभयो । किन त्यस्तो भन्नुभयो मैले सोधिनँ ।

मेरो पहिलो फिल्म ‘घामपानी’ रिलिज हुनेबेला फोनबाटै निम्तो दिएँ । उहाँ आफ्नै के–के घरधन्दामा व्यस्त हुनुहुँदोरहेछ । उहाँले जवाफ दिनुभयो, ‘दीपेनबाबु, म तीन दिनलाई व्यस्त छु, त्यसपछि स्याङ्जा जानुछ, तपाईंलाई बधाई र शुभकामना, फिल्म पछि हेरुँला ।’

लगभग २१ वर्षपछि गत चैतको दोस्रो हप्ता उहाँसँग उहाँकै निवासमा भेट भयो । पत्रकार जीवन पराजुलीलाई लिएर गएको थिएँ । ८२ पूरा भएर ८३ टेक्दै गर्दा पनि उहाँको धपेडी उस्तै रहेछ । संगीतकार नारायण ओलीसँग मिलेर आफ्ना केही गीतलाई रेकर्ड गर्ने काममा लागेको छु भन्दै हुनुहुन्थ्यो ।

दुईतीनपटक फोनमा कुरा गरेपछि मात्र उहाँसँग भेट्ने अवसर मिलेको थियो । गीत रेकर्डिङमात्र होइन नातागोतासँगको भेटघाट र जमघटमा पनि सक्रिय हुनुहुँदोरहेछ । समयको मामिलामा उहाँ पहिलेदेखि नै एकदम पंक्चुयल । बिहान ११ बजे भेट्ने तय भएको थियो । हामी सवा ११ बजे पुग्दा उहाँ बाहिर बाटोमा बाटो हेर्दैहुनुहुन्थ्यो ।

‘म यहाँ पौने ११ देखि तपाईंहरुको बाटो हेर्दैछु,’ उहाँले ढिला गरेकामा हल्का आपत्ति जनाइहाल्नुभयो । घरभित्र गएपछि मैले सोधिहालेँ, ‘तपाईंले कोक खान छोड्नुभयो ?’ उहाँ मुस्कुराउनुभयो, ‘कहाँ छोड्नु, तपाईंहरु खाने हो ?’

जीवनसँगको अन्तर्वार्ता सिध्याएपछि उहाँले भन्नुभयो, ‘दीपेनबाबु र मेरो एउटा फोटो खिचिदिनुस् ।’ घरबाहिर बाटोमा उहाँ र मैले फोटो खिचायौं । ‘म देहरादून जाँदैछु, वैशाखको अन्तिम हप्तातिर आउँछु होला, आएर फेरि गफ गरौंला’ भन्दै उहाँले हामीलाई बिदाइ गर्नुभयो । त्यही बिदाइ अन्तिम रह्यो । देहरादूनबाट त उहाँ फर्किनुभयो । तर, कोरोना भाइरससँग हार्नुभयो ।

उहाँसँग भएको ५ वर्ष लामो संगतका कारण नै मैले सुरुदेखि नै फिल्ममाथि तिखो कलम चलाउन सकेको हुँ भन्ने लाग्छ । नेपाली फिल्मका साधारण इन्फरमेसन अरु पत्रिकाबाट पाएँ तर, फिल्म क्षेत्रका पर्दापछाडिका वा अरुले भुलेका तथ्यहरु उहाँबाट सुन्ने मौका पाएँ । यसो सोच्छु, उहाँसँग भेट नभएको भए सायद म फिल्म क्षेत्रमै आउँदैनथिएँ होला ।

तपाईंको भर्वराउँदो व्यक्तित्वको सधैं सम्झना रहनेछ ! आई मिस यु चेतन अंकल !



Author

थप समाचार