कला

ऐश्वर्य र ऐश्वर्याको बीचमा चेपिएकी म रुबी

इकागज |
जेठ ४, २०७८ मंगलबार १५:३१ बजे

काठमाडौं  :  पहिलो मिस नेपाल रुबी राणाले २५ वर्ष अगाडिको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा राजपरिवारसँगको एउटा घटना स्मरण गरेकी छिन्  । सो पोस्टमा उनले विश्व सुन्दरी ऐश्वर्या रायको छायाँमा आफू नेपाल सुन्दरी महत्वहीन भएको दुःखेसो गरेकी छिन्  ।  दुई ऐश्वर्यका बीचमा ‘स्यान्डविच’ बनेकी रुबीको रुवाबासी यस्तोे छ  : 

 यो तस्बिर सन् १९९५ को हो  ।  पेप्सीकोला हिरक साँझ १९९५ दौरानको घटना  फेरि मेरो मानसपटलमा ताजा भएर आयो ।
यो तस्बिर त्यति बेलाका  सम्माननीय प्रधानमन्त्री मनमोहन अधिकारीज्यू, विश्व सुन्दरी एश्वर्या  राय पेप्सीकोलाकी ब्रान्ड एम्बेस्डर र म, प्रथम नेपाल सुन्दरी रुबी राणाको हो ।
त्यही दिन हाम्रो, म रुबी राणा शाह अनि विश्व सुन्दरी ऐश्वर्या रायको बडा महारानी ऐश्वर्य राज्यलक्ष्मी शाहसँगको दरबारमा दर्शनभेटको कार्यक्रम तय भएको थियो । 
एकदमै खुशी लागेको थियो, रानीसँग भेट्न र कुराकानी गर्न ।  


तर एक्कासि मलाई आयोजकबाट, ‘तिमी जानु पर्दैन रानीले विश्व सुन्दरीलाई मात्र दर्शन टक्राउने’ खबर आएपछि मनै खिन्न बनायो । म असमन्जसमा परेँ ।  ‘किन र?’ यही प्रश्न थियो मेरो ।  ‘खै थाहा भएन’, भन्दा मलाई साह्रै दुःख लाग्यो ।

‘किन होला मैले मेरै देशको रानीलाई भेट्न नपाउने ?’ मनमनै खिन्न भावनाले मलाई खाँदै थियो ।  वीरगन्ज सहरको छपकैया गाउँको बासिन्दा क्याप्टेन जनकजंग बहादुर राणा र कमलादेवी राणाको पक्कै पनि प्रिन्सेस थिएँ म । र नेपालको प्रथम नेपाल सुन्दरी ।  किन दर्शन दिन खोजिबक्सिएन रहस्य नै रहने भो मनमा । 
अथवा राणाकी छोरी हो भनेर तर्सिबक्सेको हो कि ? 

मलाई त मेरो रानीलाई  साक्षात दर्शन गर्नुथियो ।  ‘उकाली ओराली’गीतकी चाँदनीको उज्यालो मुहारलाई नजिकबाट नियाल्नु थियो । रानीको भुक्क फुलेको देवीको जस्तै केशसज्जा हेर्ने धोको थियो ।  

काँधमा  सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो । कमल कोपिलाजस्तो हातमा काचका चुराहरू खन्केको आवाज सुन्नु थियो । जति मैले मेरो रानीलाई चिनेको थिएँ विश्व सुन्दरीले के चिनेकी थिई होला । मलाई किन  भेट नदिइबक्सेको होला ?  हो पाहुना ईश्वर हुन्,  मान्दछु, । र म को ? म त आफ्नै देशको चेलीबेटी , छोरी । मलाई अपहेलित गरे जस्तो भावना लाग्यो । 

माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरे जस्तो हीन भावनाले मलाई मेरो ताजको महत्व र चमक धमिलो लाग्न थाल्यो । मनमा अनेकौं प्रश्नले जालो बुन्दै जाँदा आँखाबाट आँसुका धारले रानीप्रतिको मायालाई पखाल्दै गयो ।

मनलाई कठोर बनाएर मैले रानीलाई भेट्ने सपनालाई त्यागेँ ।  हुन सक्छ, यो मेरो मनको वह मात्र हो । यही दृढ़ संकल्पका साथ म आफँै खुशी रहेँ ।  म आफ्नो मनको रानी बन्न सक्छु । मनको रानी, धनको रानी हैन ।

त्यो यही दिनको तस्बिर हो । ऐश्वर्या  रायले बडामहारानीलाई भेटेर आएपछि हामी बालुवाटार प्रधानमन्त्री निवासमा  प्रधानमन्त्रीज्यूलाई भेट्न गएका थियाँै । 
कालो चिल्लो मर्सिडिज कारमा विश्व सुन्दरी र नेपाल सुन्दरी चढेर ।  मलाई सम्झना छ विश्व सुन्दरी अंग्रेजीमा बडा महारानीको खुबै बयान गर्दै थिइन् र म सुनिरहेको थिएँ ,केही नबोली । मेरो मनको पीडा र डाहले मन पोल्दै थियोे  । एक शब्द केही नबोली मैले कुनै प्रतिक्रिया जनाइन् । ‘आर यु ओके’ भनेर पनि सोधिन्, विश्व सुन्दरीले ।
मैले मुन्टो मात्र हलाएर जवाफ दिएँ । तर जब मैले प्रधानमन्त्रीज्यू र उहाँको श्रीमतीलाई भेटेँ मेरो मुड एकदमैसित परिवर्तन भो । अति सरल र मिजासिलो  । उहाँको श्रीमतीले गरेको आदर सत्कार र कुराकानीले मलाई अति नै प्रफुलित बनायो ।  अभिभावक जस्तो व्यवहारले म आफूलाई छोरी जस्तो अनुभव हुन थाल्यो । 

उहाँले भन्नुभो , ‘हामी देशबासीहरु एकदमै खुसी छौँ तिमीलाई नेपाल सुन्दरी देख्न पाउँदा । नेपालको यो प्रथम प्रयास हो । निरन्तरता जारी रहोस् ।
पछाडिबाट मधुरो स्वरमा, ‘हाम्री नेपाल सुन्दरी पनि निक्कै अग्ली रहिछिन् ’  प्रधानमन्त्रीज्यूको श्रीमतीले भन्नुहुँदा हामी सबै हाँसेका थियाैँ ।

सम्झनाका कुराहरू जुन मैले व्यक्त गरेँ यो एउटा मनमा बिझेको काँडा जस्तो थियो । जुन आज निकालेर हजुरसमक्ष पेस गर्दैछु ।  र पनि मेरो मनको रानीले बडामहारानी ऐश्वर्यलाई सधैं खोजिरह्यो ।  भाग्यमा भेट्न थिएन होला र पो भेट भएन भनेर मेरो मनको रानीले मलाई बेला बेला सम्झाउँछे ।


Author

थप समाचार
x