कला

हलिउडलाई नेपाल बोलाउँदै ‘डिज्‍नेम्यान’ किरण

सामीप्यराज तिमल्सेना |
जेठ २७, २०७८ बिहीबार १५:५४ बजे

काठमाडौँ : ‘ब्युटी एन्ड दि बिस्ट’, ‘अलाद्धिन’, ‘दि लाइन किङ’, ‘दि हन्चब्याक अफ नोट्रेड्याम’ ९० को दशकको हलिउडका एक से एक चर्चित एनिमेटेड फिल्म हुन् । एनिमेटेड फिल्म भर्खरै बामे सर्न लागेको अवस्थामा वाल्ट डिज्‍नेले बनाएका यी फिल्मले बक्स अफिसमा तहल्का मच्चाएका थिए । डिज्‍नेले बनाएका यी फिल्ममा नेपालको साइनो छ । त्यो साइनो हो, किरणभक्त जोशीको । 

नेपालमा जन्मिएका किरण १९ वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्निया पुगेका थिए । त्यहीँ उनले क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ पढे र पढाइ सकिएलगत्तै डिज्‍नेको कम्प्युटर एनिमेसन प्रडक्सन सिस्टममा करिअर सुरु गरे । १९९१ देखि डिज्‍नेसँग जोडिएको यो नाता सन् २००७ सम्म जारी रह्यो ।


नेपालमै  ‘इनसेसेन्ट रेन’ नामको एनिमेसन स्टुडियो खोल्नुअघि उनले डिज्‍नेमा १६ वर्ष बिताइसकेका थिए । विकिपेडियामा उनको प्रोफाइल हेर्दा देखिन्छ, उनले ४० हाराहारी हलिउडका टप रेटेड फिल्ममा काम गरेका छन् । त्यसमा विश्व चर्चित ‘टर्मिनेटर : डार्क फेट’ , ‘एक्सपेन्डेब्लस ३’, ‘ज्याक रायन’ आदि सामेल छन् । यसबाहेक किरण आफैँले ‘मण्डला’ नामको एनिमेटेड सर्ट फिल्म र ‘मुभिङ माउन्टेन्स : दि अवेकनिङ ’ शीर्षकको डकुमेन्ट्री बनाएका छन् ।  

पछिल्ला दिनमा यिनै किरण नेपाललाई सुटिङ डेस्टिनेसन बनाउने अभियानमा लागेका छन् । यसका लागि उनले हलिउडलाई नेपाल देखाउने अभियान सुरु गरेका छन् । गत वर्ष किरणकै पहलमा विश्वका नामी फिल्ममेकरको टोली काठमाडौँ उत्रेको थियो ।

 हलिउडका लेखक तथा निर्मातासँग काठमाडौंको र्‍याडिसन होटलमा संवाद गर्दै किरण 

काठमाडौँ इन्टरनेसनल फिल्म फेस्टिभलको (निफ)को छेकोमा किरणले चलचित्र ‘टर्मिनेटर २’ का निर्माता ल्यारी कसानोफ, ‘एक्समेन’ तथा ‘थोर’का लेखक ज्याक स्टेन्ज, नेटफ्लिक्सका स्टुडियो एक्जुकेटिभ डामाइन्ड डि फ्रोबेरभिल तथा अस्ट्रेलियन फिल्ममेकर जोयलोन होफलाई नेपाल झिकाएका थिए । वर्ल्ड बैंकसँगको सहकार्यमा किरणले नेपाली फिल्ममेकरसँग उनीहरूलाई अन्तक्रिया पनि गराएका थिए । तर, यो अभियानमा ब्रेक लाग्यो, कोभिड १९ को कहरले । 

नेपाल–अमेरिका ओहोरदोहोर गरिरहने किरण दुई महिना अघिसम्म नेपाल नै थिए । तर, कोभिड १९ को दोस्रो लहर आउन लागेको सूचना पाएपछि किरण अमेरिका फर्किए । काठमाडौँसँगै अमेरिकामा पनि रेनेसान्ट स्टुडियोको कार्यालय छ । हलिउडका प्रोजेक्टहरू उनले यही अफिसमा बसेर डिल गर्छन् ।

तर, यहीँ रहँदा उनले नेपाललाई ‘फिल्म टुरिजम डेस्टिनेसन’ बनाउने अभियानलाई तीव्रता दिएका छन् । उनले यसका लागि वर्ल्डबैंकसँग मिलेर एउटा भिडियो बनाएका छन्, जसमा नेपालका पर्यटकीय गन्तव्यको परिचयसँगै नेपाल कला र संस्कृतिको खानी भएको देखाइएको छ । किरणले त्यो भिडियो हलिउडका स्टुडियोलाई देखाउँदै सुटिङका लागि नेपाल जान प्रेरित गरिरहेका छन् ।

‘यता स्टुडियोले नै धेरै कुरा निर्णय गर्ने हुँदा उनीहरूलाई नै भिडियो देखाउँदै नेपाल जान आग्रह गरिरहेको छु । धेरैले चासो दिएका छन् तर यो चासो काममा रूपान्तरण हुन समय त लागिहाल्छ नि,’ किरण भन्छन् । नेपाल विश्वकै लागि सुटिङ गन्तव्य बन्‍ने सम्भावना भए पनि नेपालले नीतिगतसँगै संरचनागत रूपमा व्यापक काम गर्नुपर्ने किरणको निष्कर्ष छ । उनले नेपालले फिल्मले दिन सक्ने फाइदाबारे ध्यान नदिँदा लिन सक्नेजति लाभ पनि लिन नसकेको अनुभव सँगालेका छन् ।

‘डाक्टर स्ट्रेन्जको मूल कथा नेपालमा आधारित छ तर नेपालमा यो फिल्म १० प्रतिशतभन्दा सुटिङ भएन । बेलायतले दुई-तीन वर्षअघि सुटिङ गरेको ‘ब्ल्याक नार्सिसस’मा म पनि आबद्ध थिएँ । यो पनि थोरै मात्र सुटिङ गरेर फर्कियौँ,’ किरण भन्छन्, ‘किन यस्तो भइरहेको छ भने हामीसँग उनीहरूलाई टिकाइराख्‍ने पोलिसी छैन । पूर्वाधार त परको कुरा ।’

अमेरिकाको क्यालिफोर्नियामा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा, हलिउड निर्माता र किरण 

पछिल्लो समय क्यानाडाको भ्यानकोभर, मन्टरियल आदि ठाउँ पोस्ट प्रडक्सनका लागि प्रख्यात हुँदै गएका छन् । ‘दि लर्ड अफ दि रिङ’को सुटिङपछि न्युजिल्यान्डले पर्यटनमा मारेको फड्को लोभलाग्दो छ । नेपालले पनि यताका अनुभवबाट सिक्नुपर्ने किरणको जिकिर छ । ‘सम्पन्‍न देशले पनि सुटिङका लागि आउने फिल्मलाई कर छुट गर्ने, सब्सिडी दिने आदि काम गर्छन् । हाम्रोमा यो कुराको कमी छ । को–प्रडक्सनको नीति पनि छैन । मैले यो विषयमा पनि कुरा उठाइरहेको छु,’ किरणले इकागजसँग भने । 

उनले नेपाल सरकारले गर्नुपर्ने यस्ता धेरै कुरा यही हप्ता अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई पनि जानकारी गराएका छन् । केही दिनअघि राजदूत क्यालिफोर्निया आएको अवसरमा आफूले हलिउडका निर्मातालाई समेत लिएर गएर फिल्ममार्फत हुन सक्ने पर्यटनको सम्भावनाबारे बेलिविस्तार लगाएको किरणले बताए । 

‘राजदूतको टिम इमिगे्रसन र पासपोर्टसम्बन्धी समस्या समाधानका लागि घुम्ती टोली बनाएर अमेरिकाको विभिन्‍न राज्य घुमिरहेको रहेछ । क्यालिफोर्निया आएको समयमा राजदूतले मसँग भेट्न चाहेको बताएपछि मैले हलिउडका केही साथीलाई लिएर गएको थिएँ,’ किरणले भने, ‘उहाँलाई मैले फिल्मले सिर्जना गर्न सक्ने अवसरबारे ब्रिफ गरेँ । हाम्रो कुरा सुनेपछि उहाँले विस्तृतमा प्रपोजल लेखेर पठाउनु भन्‍नुभएको छ । सकारात्मक कुराकानी भएको छ ।’

किरणका अनुसार सो भेटमा न्युयोर्कमा फ्युचरिज्म स्टुडियोका सञ्चालक जिओफ क्लार्क र ल्यारी कसानोफ, लेखक तथा निर्माता ज्याक स्टेन्ज सहभागी थिए । ल्यारी र ज्याक गत वर्ष नेपाल पनि आएका थिए । स्टुडियोलाई नेपाल आउन मनाउने प्रयत्नसँगैसँगै किरणले आफैँ पनि अमेरिकाका कलाकारलाई लिएर नेपालमा सुटिङ गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

यदि महामारीले नछेक्दो हो त यही महिनामा नेपालमा सो फिल्मको सुटिङ भइरहेको हुन्थ्यो । तर, किरणले सबै कुरा सामान्य भए अक्टोबर/नोभेम्बरबाट यो फिल्मको काम सुरु गर्ने योजना बनाएका छन् ।

किरणले फिल्मको कथा ज्याक स्टेन्जले नै लेखेको र फिल्ममा नेपाली कलाकार पनि रहने जानकारी गराए । ‘फेस्टिभल चलिरहँदा नै ज्याक मनाङ-मुस्ताङतिर घुम्‍न गएको थियो । उसलाई नेपाल यत्ति धेरै राम्रो लाग्यो कि एउटा पूरै फिल्म यहाँ सुटिङ गरौँ भन्‍ने थाल्यो । म त यही चाहन्थेँ नै । ज्याकले अमेरिका फर्कनेबित्तिकै लेख्‍न थाल्यो र केही समयमा सकियो पनि । यो फिल्म बन्यो भने स्टुडियोलाई कन्भिन्स्ड गर्न थप सजिलो हुन्छ भन्‍ने लागेको छ,’ किरणले भने ।  

किरणका अनुसार थ्रिलर विधाको यो फिल्ममा तीनजना मुख्य कलाकार अमेरिकी रहनेछन् भने फिल्ममा बलिउड अभिनेता गुलसन ग्रोबर पनि रहनेछन् । त्योबाहेक नेपाली कलाकार पनि फिल्ममा प्रशस्त रहने उनले बताए । किरण भन्छन्, ‘अमेरिकी कलाकारसँगै गुलसनसँग पनि कुरा भइसकेको छ । यो महामारी तह लाग्नेबित्तिकै म नेपाल आएर बाँकी तयारी पूरा गर्छु ।’

किरणले निर्माण गरेको फिल्म ‘मण्डला’को पोस्टरसँगै किरण र  ‘एक्समेन’ तथा ‘थोर’का लेखक ज्याक स्टेन्ज ।


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x