कला

संगीत र अन्जानको सांगीतिक चिन्ता ‘बगर पल्ट्यो खोली’

इकागज |
असार १, २०७८ मंगलबार १३:४९ बजे

फोटो : लेखकको सामाजिक सञ्जालबाट

काठमाडौँ : पर्वतको मोदी खोलामा अचेल पानी बग्दैन । बालुवा पनि बग्दैन । ढुंगा-माटो बग्ने झन् कुरै भएन । बरु त्यहाँका ढुंगा-माटो ठूल्ठूला महल चढिरहेका छन् । कोही घरको सिँढी चढेर उक्लिँदै छन् । कोही महलको मेरुदण्ड बनेका छन् । गीतकार संगीतले इकागजसँग यस्तै अनुभव बाँडे, सोमबारको बिहानै ।  

मोदी खोलामा ६ वटा जलविद्युत् आयोजना सञ्चालित छन् । जसमध्ये एउटा सरकारी पनि हो । यो दृश्य संगीतले देखेको ६ वर्षअघि हो । त्यतिबेलाको मोदी खोलाको बगर अहिले खाल्डो र खाल्डोमा पनि पहाड जस्तो छ ।


जहाँको ढुंगा, माटो र बालुवाको भाउ अकासिएको छ । अनि सरकार पनि त्यसैको व्यापारमा लागिपरेको छ । किनकि ढुंगा, बालुवा र गिट्टीको कमिसन कति हो कति ।६ वर्षअघि मोदी खोलाकै दृश्यले अभियन्ता तथा गीतकार संगीतको छाती चिरिसकेको थियो ।

तर उनको कलेजो त्यतिबेला छिनियो, जतिबेला नांगिदै गरेको चुरेलाई थप निर्वस्त्र पार्न सरकार आफैँ कपडा खोलेर होमियो । नीति तथा कार्यक्रममा चुरे दोहन गर्ने प्रस्ताव ल्यायो । बजेटमा जनताकै सम्पत्ति, भावी पुस्ताको सम्पत्तिलाई मास्ने बेच्ने कुरा गरियो ।

अनि ६ वर्षअघिको मोदी खोलाको सम्झनालाई संगीतले शब्दमा ढाले । मुखैले संगीत भरे । निलकण्ठले शब्दमा स्वर भरे । यी सबैका साक्षी अन्जान बाबु छुट्ने कुरै भएन । संगीत र अन्जान बाबुको सफल दोस्ती ‘चरी लैजा समाचार’बाट सुपरहिट भइसकेको जगजाहेर नै छ । जब जब प्राकृतिक प्रकोपले जनताको घरबार उजाडिन्छ । मानिसहरु संगीत र अन्जान बाबुलाई सुनेर चित्त बुझाउँछन् ।

मोबाइलमा रेकर्ड भयो, कोठाबाटै सार्वजनिक गरियो

अहिले देश दुखेको बेला । चुरे रोएको बेला । ढुंगा, बालुवा र गिट्टीको तस्करी बढेको बेला । वन फडानी चुलिएका बेला । प्रकृतिमाथि बलात्कार भइरहेका बेला । सामाजिक अभियन्ता सडकमा छन् । प्लाकार्ड देखाएर सरकारलाई ध्यानाकर्षण गराइरहेका छन् । 

तर सुरकार सुन्दैन । यो समस्या भनेरै बुझ्दैन । केवल विरोधी सम्झिन्छ । अनि नामैले संगीत उनको मनबाट उब्जियो वर्तमान नेपालको राष्ट्रिय गीत ‘बगर पल्ट्यो खोली’ । जसलाई उनले कोठामै संगीत भरे । कोठामै रेकर्ड गरे । त्यो पनि मोबाइलमा ।

बाहिर निस्कनलाई त निषेधाज्ञा छ । घरभित्रै बस्नेलाई जुन पीडा छ । छातीमाथि जुन ढुंगा राखिएको छ । त्यसले थिचिएर संगीतले गीत लेखेका हुन् । अन्जान बाबुसँग मिलेर नेपाली मौलिक लोकगीतमा स्वर मिसाएका हुन् ।

‘६ वर्षअघि मोदीखोलामा जुन दृश्य देखेको थियो । त्यो आज देशभर छ । सबै खोला र नदीमा छ । जसको व्यापार अहिले सरकारले नै गरिरहेको छ’, संगीतले इकागजसँग भने, ‘यसले ढिलोचाँडो नेपाल सखाप पार्छ । हाम्रो प्रकृति विनाश गर्छ । हामी बसेको पृथ्वी पनि ध्वस्त गर्छ । पृथ्वीको विकल्प छैन । त्यही भएर लकडाउनमा गीत लेखेर मोबाइलमै रेकर्ड गराएँ ।’

मोबाइलमा रेकर्ड गरेर इकागजको इनबक्समा आएको संगीतको वर्तमान समयको राष्ट्रिय गीत हामीले हुबहु राखेका छौँ : 

बगर पल्ट्यो खोली 
बगर पल्ट्यो खोली
सुख्खा पल्ट्यो हिउँचुली
तर, साहुले बेच्यो बिजुली ।

खानी र खोला बाँडेर
वन खायौ पूरै फाँडेर
ज्यामीलाई छलेर, डाँडेर ।

चौतारी, पोखरी मिचेर
ढुङ्गो र माटै बेचेर
कहाँ जान्छौ मान्छे किचेर ।

मनपरीमाथि मनपरी झन्
हैजामा पनि ‘फैदा’मै छन्
यी ओरलोकी हुन् कि पोरलोकीजन् ।

को हो धरती बेचुवा
बोल न मुआ, बोल न बुवा
हामी त ह्वैनौं बँधुवा ।

 


Author

थप समाचार
x