कला

नेपाली फिल्मको राेल नम्बर

पहिलो नेपाली फिल्म ‘आमा’ आईएमडीबी रेटिङमा पनि पहिलो

सामीप्यराज तिमल्सेना |
असार १, २०७८ मगलवार १६:२१ बजे

काठमाडौँ : नेपालमा सबैभन्दा धेरै दर्शकले हेरेको फिल्म कुन ? ‘छक्का पञ्‍जा’ । तर, राम्रो नी ? यो प्रश्नमा भने एकैनासे उत्तर आउने कुनै सम्भावना हुन्‍न । दर्शकअनुसार फरक-फरक जवाफ आउँछ । कुन फिल्म हेर्दा हुने र कुन नहेर्दा पनि हुने ? नेपालमा यसको कुनै चित्त बुझाउने आधार छैन ।

बाहिरतिर भने इन्टरनेट मुभी डाटाबेस (आईएमडीबी)लाई धेरैले भरपर्दो सूचना मानिन्छन् । यसमा धेरै रेटिङ पाउने सिनेमा राम्रो र कम रेटिङ पाउने फिल्म नराम्रो भन्नेमा दर्शक सहमत छन् ? तर, के बाहिरको हकमा लगभग मिल्ने यो रेटिङ नेपाली फिल्मका हकमा  पनि मिल्छ ? केही मिलेको जस्तो पनि लाग्छ र केही नमिलेको पनि । किनकि यसमा सबै नेपाली फिल्म समावेश छैन । पेजमा जम्मा ३७ वटा मात्र फिल्म देखाउँछ । यसो गर्दा धेरै चर्चित फिल्म छुटेका छन् चाहे ति व्यवसायिक हुन् वा कलात्मक ।
आईएमडीबीमा ‘आमा’ पहिलो, ‘छक्का पञ्‍जा’ लिस्टमा छैन
आईएमडीबीमा सबैभन्दा धेरै रेटिङ पाउने फिल्म ‘आमा’ रहेको यसको वेबसाइटले देखाउँछ । हिरासिंह खत्री निर्देशित यो फिल्मलाई नेपालको पहिलो फिल्म मानिन्छ । २००७ सालमा भारतमा ‘सत्य हरिश्चन्द्र’ बनेको भए पनि त्यो फिल्मलाई पहिलो नेपाली फिल्म भन्ने कि नभन्‍ने विवाद छ ।


यही विवादको फाइदा उठाउँदै ‘आमा’ले पहिलो नेपाली फिल्मको रुपमा ठाउँ पाउँदै आएको छ । आईएमडीबी रेटिङमा पनि नेपाली फिल्ममध्ये यसको रेटिङ उच्च छ । डाटाबेसमा देखाएअनुसार यो फिल्मले ९.२ रेटिङ पाएको छ । 

अचम्म त के छ भने यो फिल्म यो डाटाबेस प्रयोग गर्ने दर्शकले हेर्नै पाएका छैनन् । यसको कमजोर प्रति युट्युबमा छ तर यो पुरै हेरेर दर्शकले रेटिङ गरे होलान् भनेर पत्याउन गाह्रो छ । तर के कति कारणले यसले यति धेरै रेटिङ पायो, अचम्म  छ । 

नेपाली फिल्मध्ये दोस्रो धेरै रेटिङ भक्तराज आचार्यको जीवनीमा बनेको ‘आचार्य’ले पाएको छ । प्रशान्त रसाइलीले निर्देशन गरेको यो फिल्ममा आचार्यकै ज्येष्ठ सुपुत्र सत्यराज आचार्यले शीर्ष भूमिका निर्वाह गरेका छन् । यो फिल्मले आईएमडीबीमा ८.६ रेटिङ पाएको छ ।  

राम्रा नेपाली फिल्मको लिस्ट बनाउँदा कसैले पनि नछुटाउने नाम हो, ‘नुमाफुङ’ । नविन सुब्बा निर्देशित यो फिल्म समीक्षकले सबैभन्दा ज्यादा रुचाएको फिल्ममध्ये पर्छ । आईएमडीबी रेटिङमा भने यो फिल्म ‘आचार्य’ बराबर छ । यो फिल्मले पनि ८.६ नै पाएको छ । 

समीक्षक र दर्शक दुवैले रुचाएको सिनेमा ‘पशुपतिप्रसाद’ बढी रेटिङ पाउने फिल्मको सूचीमा चौथो स्थानमा छ । दीपेन्द्र के खनाल निर्देशित यो फिल्मले दर्शकबाट ८.५ रेटिङ पाएको छ । यो फिल्मलाई १३ सय हाराहारी दर्शकले भोट गरेको देखिन्छ । 

यो सूचीको पाँचौं स्थानमा भने ‘गड लिभ्स इन हिमालय’शीर्षकको फिल्म छ । सञ्जय श्रीनवास निर्देशित यो फिल्ममा तुलसी घिमिरे, माल्विका सुब्बा, मेलिना मानन्धर आदि कलाकारले अभिनय गरेका छ । २२ जना भोटर सहभागी भएको यो फिल्मले ‘पशुपतिप्रसाद’ बराबर नै ८.५ रेटिङ पाएको छ । 

तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’लाई व्यावसायिक र कलात्मक फिल्मको सेतु मानिन्छ । यति मात्र होइन यो फिल्म निरुता सिंहको डेब्यू फिल्मको रुपमा पनि दर्शकबीच प्रिय छ । यो फिल्म आईएमडीबी रेटिङमा छैटौं स्थानमा छ । यो फिल्मले ८.३ रेटिङ पाएको छ । 

दयाहाङ राईलाई स्टारडमको रथमा सवार गराउने ‘कबड्डी’ यो सूचीको ७ औं स्थानमा छ । रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्म ५ सय भोटरले दिएको रेटिङका आधारमा सातौं स्थानमा छ । यो फिल्मले आईएमडीबी रेटिङमा ८.२ अंक पाएको छ । 

आईएमडीबीको आठौं स्थानमा अर्को कालजयी फिल्म ‘मुकुण्डो’ले स्थान पाएको छ । छिरिङरितार शेर्पाको डेब्यू निर्देशन रहेको यो फिल्मले पनि ‘कबड्डी’सँग अंक बाँडेको छ अर्थात् यो फिल्मले पनि ८.२ रेटिङ पाएको छ । यो फिल्ममा गौरी मल्ल र मौसमी मल्लको दमदार अभिनय छ । 

निश्चल बस्नेतको ‘मस्ट टक अबाउट’ फिल्म ‘लुट’ यो सूचीको ११ औं स्थानमा छ । तर, उनको नै निर्देशन रहेको ‘टलकजंग भर्सेज टुल्के’ ले आईएमडीबीको नेपाली फिल्मको सोपान क्रममा ९ औं स्थान ओगटेको छ । ५ सय हाराहारी दर्शकले भोट गरेको यो फिल्मले ८.१ अंक पाएको छ । 

सूचीको दसौं स्थान भने ‘प्रेमपिण्ड’ले ओगटेको छ । नीरविक्रम शाह, सरोज खनाल र सनी रौनियारको अभिनय रहेको यो फिल्मले पनि ८.१ नै रेटिङ पाएको छ । ‘गैह्री खेतको शिरै हान्यो’बोलको कालजयी गीत भएको यो फिल्मलाई यादव खरेलले निर्देशन गरेका हुन् । 

व्यवसायिक रुपमा एकदमै चर्चामा रहेको ‘छक्का पञ्‍जा’का सिरिज र समीक्षात्मक रुपमा चर्चामा रहेको ‘कालोपोथी’ भने रेटिङका आधारमा २० भित्र पनि अटाएका छैनन् । योमध्ये ‘कालो पोथी’ ७.१ अंकका साथ २६ औं स्थानमा छ भने छक्का पञ्‍जा’ यो सूचीको पुछारतिर मात्र छ । यसैगरी व्यावसायिक रुपमा सफल भएका फिल्म पनि रेटिङमा अगाडि रहन सफल भएका छैनन् ।

यो रेटिङको खेलमा नयाँभन्दा पुराना फिल्मको बाहुल्य छ । पहिले धेरै चर्चामा रहेका ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘बसन्ती’, ‘दर्पणछायाँ’ आदि फिल्मले आईएमडीबीमा राम्रो अंक पाउँदा पछिल्लो समयका धेरै हिट फिल्म यो लिस्टमा छुटेका छन् । 

आईएमडीबीले रजिस्टर्ड प्रयोगकर्ताको भोटिङको आधारमा यसको सूची निकाल्ने गरेको छ । आईएमडीबी आफैंले सूची सार्वजनिक गर्दा भने भोटरबाहेक फिल्मको समीक्षालाई पनि आधार मान्ने गरेको जनाएको छ । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x