कला

‘शेरनी’ रिभ्यु

बघिनी बखान : सर्वश्रेष्ठ प्राणीबाट क-कसलाई खतरा छ ?

सामीप्यराज तिमल्सेना |
असार ८, २०७८ मंगलबार १९:३३ बजे

यो पृथ्वी कसको ? मान्छेको मात्र कि अरू जीव-जगतको पनि ? 

मान्छेले आफ्नो समृद्धिका लागि अरू जीव–जगत्को अस्तित्वमा धावा बोल्न थालेपछि यो प्रश्न दिनानुदिन जटिल बन्दै गइरहेको छ । संसारबाट जंगल खुम्चँदै गएको छ र यही कारण ‘इको सिस्टम’को महत्वपूर्ण हिस्सा मानिने जंगली जीव लोप हुँदै छन् । जो बचेका छन्, ती आफ्नो आहाराका लागि तड्पिन बाध्य छन् । आहाराकै खोजीमा मानव बस्तीमा घुस्नु उनीहरूको बाध्यता हो तर यो बाध्यताको मूल्य उनीहरूले प्राणाहुति दिएर पूर्ति गरिरहनु परिरहेको छ । तर के यसले मान्छेको समस्या छुःमन्तर भएको छ ? छैन । 


उल्टै नयाँ-नयाँ स्वरूपमा बल्झिरहेको छ । जल, जंगल र जमिनबीच आफ्नै एउटा लय छ । यही लयलाई पूर्ण बनाउन बीचमा आउँछन्, जंगली जनावर । जस्तो कि, जंगली जनावरका लागि जंगल चाहिन्छ र जंगल भयो भने पानी पर्छ र पानी पर्यो भने बल्ल मान्छेले खेतीपाती गर्न पाउँछ र यसबाट आहारा जुटाउँछ । यसमा लय लरबरियो भने जन र जीव दुवैको जीवन संकटमा पर्छ । तर, मानिसको धनी हुने ‘अनब्रिडल डिजायर’ले विश्वभरि नै जन र जीवबीच द्वन्द्व बढेको छ, जसलाई राष्ट्रिय निकुञ्जको वरिपरिबाट आउने समाचारले पुष्टि गर्छन् । 

लियो टोल्सटोयले मानिसको यो ‘अनब्रिडल डिजायर’लाई धेरै वर्ष पहिले ‘हाउ मच ल्यान्ड डज अ म्यान निड ?’ शीर्षकको कथामा अभिव्यक्त गरेका छन् ।  लियोको सो कथानुसार मुख्य पात्र पाहोम जमिनको लोभमा यति लिप्त हुन्छ कि गरिबीबाट निस्केर सम्पन्न भइसक्दा पनि सम्पत्तिप्रतिको उसको लोभमा कुनै कमी आउन्न । यस्तोमा उसले एक दिन सूर्य नअस्ताउँदासम्म हिँडेर भ्याउने जमिन उसको हुने प्रस्ताव पाउँछ । एक दिन हिँडेर जीवनभर बसी बसी खान पुग्ने लोभमा पाहोम भोकप्यास र थकान नभनी दिनभर हिँड्छ । सूर्य डुब्नै लाग्दा उसलाई आफू धेरै टाढा आएको महसुस हुन्छ र दौड्दै सुरु गरेको ठाउँ फर्कन्छ । तर, टुंगोमा आइपुग्दा नपुग्दै ‘कोल्याप्स’ हुन्छ । नोकरले उसलाई खाल्डो खनेर पुर्छ र यो खाल्डोको लम्बाइ हुन्छ, ६ फिट । लियो कथाको अन्त्यमा सोध्छन्, ‘आखिर मानिसलाई कति जमिन भए पुग्छ ?’

जमिनको लोभमा मानिसले गर्न थालेको जंगल अतिक्रमणले जन र जीवबीच नयाँ संघर्ष सुरु भएको छ । अझ यो द्वन्द्वमा सरकारको प्रवेश भएपछि संकट त्रिपक्षीय बनेको छ । अघिल्लो शुक्रबार मात्र अमेजन प्राइममा रिलिज भएको ‘शेरनी’ यही त्रिपक्षीय भिडन्तको कहानी हो । तर, यहाँ मानिसले जंगल मासेकोे कुरालाई भने पृष्ठभूमिमा मात्र राखिएको छ । जन र जीवबीचको लडाइँ फिल्मको मुख्य कथाका रूपमा प्रस्तुत भएको छ । अनि यी दुईको बीचमा पिल्सने सरकारका इमानदार कर्मचारी पनि । 

‘शेरनी’ कथा हो, एउटा बघिनीको जो आफू र आफ्नो बच्चाको आहाराका लागि ‘बफर जोन’ पार गरेर मानव बस्ती छेउछाउ आइपुगेकी छ । अनि विपन्न भारतको बस्तीका यी बासिन्दाको जीविकाको मुख्य आधार बोका–बाख्राको शिकार गरेर बघिनीले मान्छेलाई आतंकित बनाएकी छे । यो क्रम बढ्दै जाँदा बोका मात्र हैन, केटाकेटी र वृद्धा पनि यसको शिकार बन्न बाध्य हुन्छन् । बघिनीले यसरी मृत्यु शृंखला चलाइरहँदा कथामा प्रवेश हुन्छ विद्या भिन्सेन्ट (विद्या बालन)को जो ९ वर्ष कुर्सीमा विनाकाम बसेपछि पहिलो पल्टमा फिल्डमा खटिने जिम्मेवारी पाउँछिन्, डीएफओ (डिस्ट्रिक्ट फरेस्ट अफिसर)का रूपमा । यसपछि सुरु हुन्छ, विद्या र बघिनीको ‘बाघचाल’ खेल । विद्या बघिनीलाई सकुशल राष्ट्रिय निकुञ्जमा पु¥याउन चाहन्छे । बघिनी पनि त्यहीँ फर्कन चाहन्छे तर दुवैको यो चाहनामा अवरोध अनेक छन् । ‘शेरनी’ एउटै गन्तव्य ताकेर हिँडिरहेका दुई बघिनीको सफलता÷असफलताको कथा हो । 

फिल्मको कथा एकदमै झिनो छ । तर, निर्देशक अमित मुसरकरले आस्था टिकुसँग मिलेर लेखेको कथामा धेरै तह निर्माण गरेका छन् । यो तहमा भारतको कर्मचारीतन्त्र, प्रकृति र विकासको द्वन्द्व, वातावरणीय सन्तुलन र समाजमा महिलाको स्थान आदि विषय मुखरित भएका छन् । गरिबको आडमा हुने राजनीतिको बासी कथा पनि फिल्ममा समानान्तर रूपमा प्रस्तुत गरिएको छ । 

अमित मुसरकर तिनै निर्देशक हुन्, जसले सरकार र विद्रोहीको चेपमा परेको सोझा आदिवासीको कथालाई ‘न्युटन’मा प्रस्तुत गरेर वाहवाही लुटेका थिए । भारतको कर्मचारीतन्त्र र सबाल्टर्नका अधिकारमाथि गम्भीर विमर्श गर्ने यो फिल्मले सन् २०१७ को अस्करमा भारतको प्रतिनिधित्व गरेको थियो । प्रजातन्त्रीय पद्धतिको विकृतिमाथि सिधा प्रहार गर्ने यो फिल्मको अधिकांश भाग जंगलमा सुटिङ गरिएको थियो । अमितको यो नयाँ फिल्म पनि अधिकांश समय जंगलमा नै केन्द्रित छ र जनावरकै कुरा गर्छ । यसो गरिरहँदा फिल्मले जनावर मात्र होइन, मान्छेभित्र रहने जनावरलाई पनि सतहमा ल्याएको छ ।  

जंगल, जनता र जीवजन्तुबीचको सन्तुलन हाम्रो समृद्धिको चाहनाले कसरी बिगारिरहेको छ, फिल्मको मुख्य कथ्य यही हो । तर, मुख्य पात्रका रूपमा महिला छानेर र महिलाप्रति पुरुषले गर्ने व्यवहार देखाएर उनले फिल्ममा ‘फेमिनिस्ट टच’ पनि दिएका छन् । जस्तो कि, फिल्मको सुरुवातमै एउटा दृश्य छ, जहाँ आफ्नो जिम्मेवारी पूरा नगरेको ठेकेदारलाई जब विद्याले काम फत्ते गर्न दबाब दिन्छिन्, ऊ काम सक्नतिर नलागेर थप मिठाई खुवाउने लोभ देखाउँछ ।

पुरुष अझै पनि महिलाले आफूलाई काम अह्राएको देख्न चाहन्न भन्ने मनोविज्ञानको यो ज्वलन्त उदाहरण मान्न सकिन्छ । अनि यो दृश्यले पूरा फिल्मको ‘टोन’ पनि सेट गर्छ । फिल्मभरि विद्या पुरुषलाई काम अह्राइरहन्छिन् तर ठेकेदारले झैँ कसैले पनि उनलाई टेर्दैन । अर्को एउटा दृश्यमा त बोल्न ठिक्क परेकी विद्याको हातबाट माइक छिनाएर निर्देशकले पुरुषले महिलाको स्टेज मात्र होइन, बोली पनि बन्द गर्ने गरेको संकेत गरेका छन् । फिल्मभरि नै विद्याले यस्ता अव्यक्त सकसलाई सहजतापूर्वक धारणा गरेकी छिन् । सायद, उनको यही क्षमताका कारण होला, ‘कहानी’ फिल्म रिलिज भएपछि मिडियाले उनलाई आमिर, शाहरूख र सलमान पछि ‘चौथो खान’ नामकरण गरेका थिए । यो फिल्मबाट उनको यो पदवी थप ‘सिमेन्टेड’ भएको महसुस हुन्छ । 

डाँडामा बसेर वन विनाश र विकासको दृश्य हेर्दै विद्या रुने दृश्य फिल्मको सबैभन्दा शक्तिशाली दृश्य हो । यो रुवाइले दर्शकलाई असहज पनि बनाउँछ र त्राण पनि दिन्छ । यो दृश्य त्यतिबेला पर्दामा आउँछ जब यही जंगल मासिएका कारण बघिनी आफ्ना साना दुई डमरुलाई लिएर राष्ट्रिय निकुञ्ज फर्कन असफल हुन्छे । यसरी एक शब्द नबोलीकन फिल्मले विकासको असन्तुलनले वन्यजन्तुको जीवनमा पारेको संकटलाई छ्याङ्ग पारेको छ । अझ नुरानी (विजयराज)ले बोलेको यो संवादले पर्यावरणको समग्र मुद्दालाई स्थापित गरिदिएको छ । नुरानी भन्छन्, ‘अगर विकास के साथ जिना है तो पर्यावरणको बचा नहीँ सकते और अगर पर्यावरणको बचाने जाओ त विकास उदास हो जाता है ।’ 

भर्खरै मेलम्चीको बाढी खेपेका हामीलाई बराबर यो संवाद अन्त कहाँ लागू होला र ?

अमितको अघिल्लो फिल्म ‘न्युटन’को तुलनामा ‘शेरनी’ कमजोर फिल्म हो । तर, विषय छनोटको हिसाबले अमितले ‘न्युटन’मा भन्दा ‘शेरनी’मा १ अंक भए पनि ज्यादा पाउँछन् । किनकि मानवीय समस्यामाथि असंख्य सिनेमा बनेका छन् तर वन्यजन्तुको अधिकारलाई गहिरो गरी बुझाउने यो पहिलो मेनस्ट्रिम फिल्म हो । अनेक मुद्दा देखाउनतिर नलागेर ‘न्युटन’झैँ सिधा सिधा मान्छे र बघिनीको कथामा केन्द्रित भएको भए यो फिल्म थप चोटिलो बन्थ्यो । धेरै कुरा एकै फिल्ममा देखाउन लाग्दा अमित लम्बाईमा मार खाएका छन् भने नहुँदा पनि हुने केही दृश्य राखेर उनले दर्शकको धैर्यलाई चुनौती दिएका छन् । जंगलमा बारम्बार बघिनीको खोजीमा हिँड्ने दृश्य र विद्याको सासू (इला अरुण) को भूमिका फिल्म तन्काउने केही प्रतिनिधि दृश्य हुन् । 

तर, तपाईंलाई पर्यावरणमा रुचि छ र आधुनिक समयमा यसले भोगिरहेका चुनौतीका विषयमा बुझ्न चाहनुहुन्छ भने ‘शेरनी’ नछुटाउनु राम्रो । अनि गत पुसमा हेटौँडा–पथलैयाको राजमार्गमा कारको ठक्करबाट बघिनीको मृत्युपछि भएको होहल्ला सम्झनु भएको छ भने पनि यो फिल्म हेर्दा जाती । यसले वन्यजन्तुको संरक्षणको जिम्मा संरक्षणविद्को मात्र होइन, हाम्रो पनि हो है भन्ने चेतना पनि दिन सक्छ । 

विकास भनौँ या समृद्धि, मानवकेन्द्री सोच मात्र हाबी भएको हाम्रो समाजमा यो सिनेमाले दिने सन्देश झनै महत्वपूर्ण छ । हाम्रा लोककथा–दन्त्यकथामा मात्र होइन, शाह–राणाहरूको जीवनकथामा सिकार–सोख एउटा मुख्य हिस्साका रूपमा जसरी आउँछ, त्यो भन्दा अघि बढेर अहिलेका हाम्रा गणतान्त्रिक महाराजहरू झन् जीवजन्तु सिकार मात्र गरिरहेका छैनन्, झनै अघि बढेर उनीहरूकै बासस्थान प्रकृतिकै सिकार गरिरहेका छन् । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x