लेखक तथा सम्पादक रोशन दाहालका दुई पुस्तक सार्वजनिक
काठमाडौं - लेखक तथा सम्पादक रोशन दाहालका दुई पुस्तक सार्वजनिक भएका छन् । ‘शरीरमा आत्माको यात्रा’ र ‘वर्तमानको शक्ति’ ।
६ हजार जनाभन्दा बढी मानिसमाथि अध्ययन–अनुसन्धान गरेपछिको निचोडका रुपमा ‘शरीरमा आत्माको यात्रा’ पुस्तक लेखिएको लेखक रोशन दाहाल बताउँछन् । उनका अनुसार यो नेपाली माटोमै जन्मिएको मौलिक ज्ञान समेटिएको पुस्तक हो ।
वर्षौंदेखि हजारौँ मानिसलाई पूर्वजन्म–चिकित्सा गराउँदै आएका लाफ्टर बाबाले यस पुस्तकका निम्ति चाहिने सामग्री जुटाउन सहयोग गरेका थिए । लेखक दाहालले बाबाजीले पूर्वजन्म गराइरहेका सत्रहरुमा आफैँ उपस्थित भएर हेरेका तथा आफैँले पनि केही अनुभव गरेका थिए ।
पुस्तकमा पूर्वजन्मको अनुभव गरेका मानिसमध्येका केही प्रमुख घटना उल्लेख छन्; जसमा पृथ्वीनारायण शाह, भीमसेन थापालगायत कुनै समयका इटलीका राजाहरुसमेतका प्रसङ्ग उल्लेख छन् ।
मेरो जीवन यो रुपमा किन छ, यतिका मान्छेमा यिनै केही निश्चित मान्छे मेरा नातेदार किन भए, जीवन कर्मफल मात्रै हो या अरु पनि केही, जीवनमा किन समस्या आउँछन् र केही समस्याको जति गर्दा पनि समाधान हुन सक्दैन, बच्चादेखि नै किन हरेक मानिसको फरकफरक स्वभाव हुन्छ, मान्छेले गर्नुपर्ने चाहिँ के हो – जीवनसँग सम्बन्धित यी र यस्ता अनगिन्ती प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ यो पुस्तकले ।
आफ्ना विभिन्न पूर्वजन्महरुमा पुगेर मृत्यु, मृत्युपछि र जीवनअघिको अवस्था तथा लोकलोकान्तरहरुको रोमाञ्चक यात्रा गरेका मानिसहरूको अनुभव सुन्दा निकै आश्चर्यजनक लाग्छ र संसार रहस्यमयी पनि ।
पूर्वजन्मको अनुभव गरेका हजारौँ मानिसको सत्य घटना र अनुभवमा आधारित यस पुस्तकले नयाँ शोध गर्न सकिने एउटा नयाँ बाटो देखाइदिएको छ । आजका हरेक मानिसले, विशेष गरी युवावर्गले यस विषयमा किन जान्नुपर्छ र आफ्नो जीवनको रथलाई सही दिशामा कसरी रुपान्तरण गर्ने भनेर खुलस्त पारिदिएको छ ।
पुस्तकको उद्देश्य मानिसहरूलाई पूर्वजन्मप्रति विश्वास दिलाउनु नभई नेपालको मौलिक ज्ञानका बारेमा जानकारी दिनु रहेको लेखको भनाइ रहेको छ । पूर्वजन्ममा रुचि हुने या नहुने दुवै थरी पाठकका निम्ति पुस्तक पठनीय रहेको छ ।
पशुपति क्षेत्रमा चलिरहेको कोटीहोममा कथावाचक देवी चन्द्रकला सखी, भारतबाट आएका कथावाचक अनिरुद्धाचार्यजी, गायक आनन्द कार्की, विश्व दर्शन अभियानका संस्थापक नारायण भट्टराई, स्टार्ट लिभिङ प्रा.लि. का प्रमुख तिरेश केसीलगायका व्यक्तित्वहरुको उपस्थितिमा यो पुस्तकको विमोचन सम्पन्न भएको थियो ।
दोस्रो पुस्तक ‘वर्तमानको शक्ति’ विश्वप्रख्यात आध्यात्मिक वक्ता एकहार्ट टोलको प्रसिद्ध पुस्तक ‘द पावर अफ नाउ’ को अनुवाद हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया