कला

विदेशी फेस्टिभलमा छानिने फिल्मकर्मीलाई चलचित्र विकास बोर्डको बाटोखर्च

अस्कर जित्‍ने फिल्मलाई ८ लाख, कान्स जानेलाई साढे २ लाख

सामीप्यराज तिमल्सेना |
असार १७, २०७८ बिहीबार १४:५३ बजे

काठमाडौं :  चलचित्र विकास बोर्डले अस्कर अवार्ड जित्ने वा मनोनयनमा पर्ने फिल्ममेकरलाई ८ लाख रुपैंया पुरस्कार दिने घोषणा गरेको छ । बोर्डले ‘वल्र्ड सिनेमा’मा उपस्थिति जनाउने फिल्म वा फिल्मकर्मीलाई सरकारको तर्फबाट हैंसे गर्ने उद्देश्यसहित यो प्रस्ताव पास गरेको हो ।

बोर्डले अस्कर मात्र होइन विश्वका प्रतिष्ठित अन्य फिल्म फेस्टिभलमा छनौट हुने वा पुरस्कार जित्ने फिल्मलाई ट्राभल ग्रान्ट दिने निर्णय गरेको हो ।  विकास बोर्ड अध्यक्ष दयाराम दाहालले बोर्डको २१ औं वार्षिकोत्सवको अवसर पारेर बोर्डले गरेका विविध कामबारे जानकारी गराउँदै ‘ट्राभल ग्रान्ट’को अवधारणा पनि लागू गरिएको जानकारी गराएका हुन् । अध्यक्ष दाहालले बताएअनुसार अब विदेशी फेस्टिभलमा सहभागी हुने फिल्मकर्मीलाई बोर्डले यात्रा तथा बसोबासका लागि निश्चित रकम उपलब्ध गराउनेछ । 


फेस्टिभलको ओज हेरी रकम भने फरक फरक रहने अध्यक्षले जानकारी गराएका छन् । बोर्डले यसका लागि कार्यविधि बनाएर नै कुन कुन फिल्म फेस्टिभल वा फिल्म ल्याबमा जाने फिल्मकर्मीले कति पैसा पाउने भन्ने निक्र्योल गरेको छ । 

बोर्ड अध्यक्ष दाहालले ‘चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन कार्यविधि’ बनाएर नै सहयोग पाउने फेस्टिभलहरू सूचीकृत गरिएको र कार्यविधिमा सूचीकृत भएका फेस्टिभलले मात्र बोर्डको सहयोग पाउने जनाएका छन् ।‘विदेशका फिल्म फेस्टिभलमा सहभागी भइरहने फिल्मकर्मी साथीहरूकै सुझावमा यो कार्यविधि बनाइएको हो ।

यसमा विश्वका राम्रा भनिएका सबै फेस्टिभल समेट्ने कोशिस गरेका छौं,’  उनले भने, ‘यो फिल्मकर्मीको व्यक्तिगत प्रयासलाई सरकारको तर्फबाट होस्टे गर्ने प्रयत्न हो । बोर्डले उपलब्ध गराउने पैसा पर्याप्त नहुन पनि सक्छ । तर, कम्तीमा पैसा नभएर कुनै फिल्ममेकर फेस्टिभलमा जानबाट बञ्चित हुन नपरोस् । यही उद्देश्यले हामीले यसको सुरुवात गरेका हौं ।’

बोर्डले सहयोग दिने फिल्म वा फिल्मकर्मीलाई ३ भागमा वर्गीकरण गरेको छ । पहिलो भागमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल छन् भने दोस्रोमा बोर्डले ‘स्क्रिप्ट डेभलपमेन्ट’ र ‘प्रोजेक्ट मार्केट ल्याब’ लाई सूचीकृत गरेको छ । फिल्म फेस्टिभल विधाअन्तर्गत कान्स, बर्लिन, भेनिस, लोकार्नो, टोरन्टो, सन्डान्स आदि फेस्टिभलमा सहभागी हुने फिल्मकर्मीलाई १ लाखदेखि साढे २ लाख रुपैंयाँसम्म सहयोग उपलब्ध गराउने बोर्डले जनाएको छ ।

यसमा पनि सर्ट फिल्मले फेस्टिभल हेरी ५० हजारदेखि १ लाख रुपैंयाँसम्म नगद पाउनेछन् भने फिचर फिल्मले ७५ देखि २ लाख ५० हजारसम्म पाउनेछन् । बोर्डले कान्स, बर्लिन, भेनिस जस्ता फेस्टिभलमा जानेलाई २ लाख ५० हजार र भारत तथा सार्क फिल्म फेस्टिभल जस्ता फेस्टिभलमा सहभागी हुनेलाई ७५ हजार रुपैंयाँ दिने नीति तय गरेको छ । 

हेर्नस्, चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने सम्बन्धी कार्यविधि :

यता ‘स्क्रिप्ट डेभलपमेन्ट’ तथा ‘प्रोजेक्ट ल्याब’मा छनौट हुने फिल्मकर्मीले भने ठाउँ हेरी ५ लाखदेखि १ लाखसम्म पाउनेछन् । यो भागमा भने बोर्डले ‘ट्राभल ग्रान्ट’सँगै बसोबास, नेटवर्किङ तथा सहभागी शुल्क पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

जसअनुसार बोर्डले टोरिनो, बुसान, रोट्रड्याम, लिम, इएभ जस्ता ‘स्क्रिप्ट डेभलपमेन्ट’ जस्ता ल्याबमा जाने फिल्मकर्मीलाई यात्रा खर्चसँगै बसोबासका लागि पनि सहयोग गर्ने कार्यविधि बनाएको छ । यस्ता ल्याबमा जानेले बोर्डबाट ५ लाख बराबरको सहयोग पाउनेछन् । यही विधामा भारत तथा हङकङका ल्याबमा जानेलाई भने ७५ हजार रुपैंयाँ मात्र बोर्डले उपलब्ध गराउनेछ । 

तेस्रो भाग अर्थात् अवार्डअन्तर्गत भने बोर्डले अस्कर, गोल्डेन ग्लोब, एसिया प्यासिफिक र एसियन फिल्म अवार्डमा सहभागी हुने फिल्मकर्मीलाई आर्थिक सहयोग दिने नियम पास गरेको छ । यसमा अस्करमा सेलेक्सन भएर स्क्रिनिङ हुँदा मात्र  २ लाख पाउनेछन् भने नोमिनेसनमा वा विजेता बने ८ लाख पाउनेछन् ।

त्यसैगरी गोल्डेन ग्लोब, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन फिल्मले सेलेक्सन भएबापत १ लाख र विजेता बने २ लाखदेखि १ लाख ५० हजार रुपैंयाँसम्म पाउनेछन् । बोर्डले यही सालबाट स्टोरी बैंकको अवधारणालाई पनि अघि बढाएको छ । बोर्डले सुरुवाती चरणदेखि नै फिल्ममेकरलाई सघाउने उद्देश्यले स्टोरी बैंकको अवधारणा अघि ल्याएको बताएको छ ।

बोर्ड अध्यक्ष दाहालका अनुसार बोर्डले फिल्मकर्मीबाट स्क्रिप्ट आह्वान गर्ने र यसरी आएका स्क्रिप्टमध्ये ३ स्क्रिप्टलाई नगद सहयोग गर्ने जनाएको छ । अध्यक्ष दाहालले केही दिनमै पहिलो सालको परिणाम प्रकाशन गर्ने र अर्को सालका लागि आह्वान गर्ने तयारी भइरहेको जानकारी गराए । 

‘सुरुवाती चरणबाटै फिल्ममेकिङमा सरकारको सहयोग रहोस् भनेर हामीले स्क्रिप्टलाई सहयोग गर्ने नीति अख्तियार गरेका हौं । कम्तीमा १० वटा फिल्मलाई सरकारले सहयोग गर्यो भने राम्रा फिल्म बन्ने वातावरण बन्छ भन्ने लागेर हामीले यसको थालनी गरेका हौं । तर, यसलाई संस्थागत गर्ने चुनौती छ । यसमा तपाईंहरूको सक्रिय भूमिकाको अपेक्षा छ ,’ उनले सञ्चारकर्मीलाई संकेत गर्दै भने । 

बोर्डले १ वर्षको समयावधिमा धेरै नीतिगत काम गरेको जनाउँदै चलचित्र ऐन अर्थ मन्त्रालय र कानुन मन्त्रालयबाट पनि पास भइसकेको जनाउँदै अध्यक्ष दाहालले अब संसदबाट मात्र पास हुन बाँकी रहेको जानकारी दिए ।

यसैगरी उनले साँगामा बन्न लागेको स्टुडियो पनि चाँडै नै टेन्डरको प्रक्रियामा जान लागेको बताएका थिए । ‘महामारीका कारण हामीले क्षेत्रिय फिल्म फेस्टिभल तथा अरु केही कार्यक्रम पूरा गर्न पाएनौं । अबको एक वर्षमा हामी सीप अभिवृद्धिका कार्यक्रमसँगै थप नयाँ कार्यक्रम गर्ने तयारीमा छौं,’ दाहालले भने । 

 

 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x