मो दिलीप भानुभक्त भइकन आज यस्तो
२०५३ भदौ । नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा गाईजात्रा चलिरहेको थियो । गाईजात्रा भन्नु नै उसबेला मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समूहका अनेक प्रस्तुति हुन्थे । यसमा हास्य कलाकारको प्रहसन मुख्य हुन्थ्यो अनि बीचबीच्चमा गीत नृत्य अनि कविता । अनि नृत्यको फाँट समातेका थिए, फुच्चे दिलीप रायमाझीले । ‘महजात्रा’नाममा सञ्चालन हुने यो कार्यक्रममा चर्चित निर्देशक यादव खरेल पनि कविता वाचन गर्थे । यसरी ‘महजात्रा’ चलिरहँदा दिलीप रायमाझीले एक दिन दुर्लभ प्रस्ताव पाए । उनले कल्पनै नगरेको यो प्रस्ताव थियो, आदिकवि भानुभक्त बन्ने ।
‘महजात्रा चलिरहँदा यादव दाइले कविता वाचन गर्नुहुन्थ्यो । म नाच्थेँ । तर, एक दिन बोलाएर भानुभक्तमा काम गर्छौ भनेर सोध्नुभयो । मैले गर्छु नि दाइ भनेँ । तर, यतिन्जेल मलाई फिल्मको कुनै सानोतिनो रोल होला भन्ने ठानेको थिएँ । तर, शीर्ष भूमिका नै भनेपछि चाहिँ खुसीभन्दा पनि डर लागेको थियो,’ दिलीपले २५ वर्षअघिको त्यो क्षण सम्झँदै भने ।
कीर्तिपुरका रैथाने दिलीप फिल्मका फ्यान थिए । कीर्तिपुरको युनिभर्सिटीमा फिल्मको बाक्लै सुटिङ भइरहन्थ्यो । सुटिङमा कहिले भुवन केसीलाई देख्थे त कहिले राजेश हमाललाई । यी दुईबाहेक शिव श्रेष्ठको फिल्मको सुटिङ छ भने पनि दिलीप बिहानैदेखि स्कुल हापेरै पनि सुटिङ हेर्न तैनाथ रहन्थे ।
यसरी फिल्म भनेपछि मरिहत्ते गर्ने दिलीप यसको केही वर्षभित्रै नृत्य निर्देशक राजु शाहको संगतमा पुगेका थिए । टाढाबाट भुवन केसी र राजेश हमाललाई हेर्ने दिलीप पछिल्लो समय उनीहरूकै पछाडि रहेर नृत्य गर्थे । फिल्मको भाषामा यसरी नाच्नेलाई ‘ब्याकग्राउन्ड डान्सर’ भनिन्छ र दिलीप अब्बल दर्जाका ‘ब्याकग्राउन्ड डान्सर’ थिए । यही राम्रो नाच्ने खुबीका कारण नै उनले ‘महजात्रा’मा नृत्य टोलीको नेतृत्व गर्ने अवसर पाएका थिए । र, यही अवसरले उनका लागि नकल्पेको ‘हिरो’ बन्ने बाटो खोलेको थियो । तर, यो बाटो असाध्यै दुःसाध्य थियो । जुन छिचोलेको यथार्थ सम्झेर दिलीप आज पनि चकित पर्छन् ।
‘सुटिङको ४/५ दिनसम्म पनि कतिबेला मलाई सेटबाट बिदा गर्ने हुन् भन्ने लाग्थ्यो । एक त पहिलो फिल्म । त्यसमाथि सय वर्ष पुरानो भाषा । दिग्गज कलाकारसँग अभिनय गर्नुपर्ने सकस त छँदै थियो,’ दिलीप भन्छन्, ‘फिल्म पाएँ भनेको दिनभन्दा पनि सकियो भनेको दिन म ज्यादा खुसी थिएँ ।’
मेरो डेब्यु फिल्म आदिकवि भानुभक्त हो भन्दा मेरो फिल्मी करिअर नै सफल भए जस्तो अनुभव हुन्छ
त्यसो त यो फिल्मको पहिलो रोजाइ थिएनन्, दिलीप रायमाझी । फिल्मका लेखक तथा निर्देशक यादव खरेलले भानुभक्तको भूमिकाका लागि हरिवंश आचार्यलाई लिन खोजेका थिए । तर, निर्माण टिमसामु एउटा चुनौती आइदियो । फिल्ममा भानुभक्त जवानदेखि वृद्धसम्म एकै कलाकार खेलाउनुपर्ने थियो । यस हिसाबले हरिवंशलाई वृद्ध त देखाउन मिल्थ्यो तर जवान देखाउन गाह्रो थियो । त्यसैले यादव खरेल यस्तो जवानको खोजीमा थिए जसलाई बूढो पनि देखाउन सकियोस् ।
तर, यो सकसको निदान पनि हरिवंशले नै गरिदिए, भानुभक्तका लागि दिलीपको अडिसन लिने सुझाव दिएर । हरिवंशको सुझाव शिरोपर गर्दै खरेलले बालकृष्ण समले भानुभक्तमाथि लेखेको ‘भक्त भानुभक्त’ नाटकका केही संवाद बोल्न लगाए । लुक टेस्ट गरे । स्क्रिन टेस्ट गरे अनि सबैमा पास भएपछि भने, ‘ल अब सुटिङमा पनि पास भयौ भने तिमी भानुभक्त ।’ यसरी छनौट भएर ४/५ दिनसम्म सुटिङ गरेपछि बल्ल एक दिन खरेलले उनलाई फिल्मका लागि छनौट भएको जानकारी दिए ।
‘सिंहदरबारमा भाषा विवादसम्बन्धी एउटा दृश्य थियो । यो राम्रो गरेपछि बल्ल यादव दाइले ल अब चैं सेलेक्ट भयौ भन्नुभयो । डरैडरमा सुटिङ गरेको हुनाले उसबेला मैले यो फिल्म गर्दाको आनन्द लिन पाइनँ । जब आजभोलि भानुभक्तको कुरा हुँदा यो फिल्मको पनि कुरा हुन्छ । स्कुल-युनिभर्सिटीमा मेरो नाम पनि आउँछ । यहाँहरू जस्तोले नि बेलाबखत यही फिल्मका कारण सम्झनु हुन्छ, यतिबेला बल्ल यो फिल्म गर्दाको आनन्द महसुस गर्छु,’ दिलीपले भन्छन् ।
फिल्म खेल्ने कन्फर्म भएपछि पनि सुटिङका दुःख भने कम थिएनन् । एउटा त भाषाकै समस्या थियो । दिलीपले आजभन्दा दुई सय वर्ष अगाडिको भाषा बोल्नुपर्ने थियो । त्यसमा पहिलो चोटि क्यामेराको केन्द्रमा बसेर अभिनय गर्नुपर्ने । केही दिनकै सुटिङमा दिलीपको आँखा सुन्निएर हैरान । अनि एक दिन सुटिङ गर्दागर्दै दिलीप बेहोस पनि भए ।
‘ब्याकग्राउन्डमा बसेर नाच्दा न सिधा सिधा रिफ्लेक्टर खेप्नुपथ्र्यो न क्यामराको पिर । घाममा रिफ्लेक्टर खाँदाखाँदा मेरो त आँखै सुन्नियो, ‘दिलीपलाई सम्झना छ, ‘अर्को एकचोटि त सुटिङ गर्दागर्दै बेहोस नै भएछु ।’
फिल्मको सुटिङ काठमाडौं र भानुभक्तकै घर चुँदी रम्घामा भएको थियो । फिल्ममा आउने अन्तिम दृश्यतिरको सुटिङ थियो । दृश्यानुसार अशक्त भएका भानुभक्तले रामायणका श्लोक छोरा रमानन्दलाई भन्ने र उनले लेख्ने दृश्य थियो । ‘म जसरी आएको त्यसरी जानेछु...’ दिलीप बोल्दै थिए, बोल्दाबोल्दै उनुको शरीर शीताङ्ग भयो । अनुहार चिसो भयो । हेर्दाहेर्दै दिलीपको वाक्य रोकियो ।
‘फिल्म पाएँ भनेको दिनभन्दा पनि सकियो भनेको दिन म ज्यादा खुसी थिएँ ।’
‘म त बोल्दाबोल्दै बेहोस भएछु । पछि सुटिङ हेर्न आएका गाउँलेले ल यो बाबुकोमा त भानुभक्त बाजे पसे भन्दै जिस्काए,’ उसबेला दुःख भए पनि मलाई यो सिनेमाको हिस्सा हुँदा गर्व लाग्छ । मेरो डेब्यु फिल्म आदिकवि भानुभक्त हो भन्दा मेरो फिल्मी करिअर नै सफल भए जस्तो अनुभव हुन्छ,’ दिलीपले भने । यति मात्र होइन यो फिल्म रिलिजपछि उनले अभिनयमा ‘बेस्ट न्यु-कमर अवार्ड’ पनि हात पारेका थिए ।
भानुभक्तको जीवन दर्शन र आफ्नो सोच एकै भएकाले पनि आफूले त्यो पात्रलाई राम्ररी आत्मसात् गर्न सकेको बताउँछन् दिलीप । ‘स्कुल पढ्दा म घाँसीको चरित्रबाट प्रभावित थिएँ । घाँसीले झैं नाम कमाउनु पर्छ भनेर कलाकारितामा लागेको हुँ । पछि यही चरित्र जन्माउने सर्जकको भूमिका निर्वाह गर्न पाएँ, त्यो पनि दिग्गज साहित्यकारहरूको संगतमा । म असाध्यै अनुगृहीत छु, यो फिल्मका लागि र यसैमार्फत सुरु भएको मेरो फिल्म करिअरप्रति,’ दिलीपले कुराकानीको बिट मार्दै भने ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया