कला

कान्सको बजारमा पैसा खोज्दै तीन नेपाली फिल्म

सामीप्यराज तिमल्सेना |
असार ३१, २०७८ बिहीबार १६:२७ बजे

काठमाडौँ : अघिल्लो हप्ता अर्थात् जुलाई ६ बाट सुरु भएको कान्स फिल्म फेस्टिभल यो शनिबार सकिँदै छ । फेस्टिभल सकिने दिन नजिकिँदै जाँदा फेस्टिभलको सर्वोत्कष्ट पुरस्कार पाम डि अर कसको पोल्टामा पर्ला भन्ने अनुमान घनीभूत छ । दाबेदार ठान्ने धेरैको मुटु ढुकढुक गरिरहेको छ । तर, कमलाई थाहा छ, यो भिडमा तीन नेपाली फिल्मकर्मी पनि छन् । उनीहरूको प्रतिस्पर्धा भने पाम डी अरका लागि होइन, त्यहाँसम्म पुग्ने फिल्म बनाउनका लागि हो । अर्थात्, उनीहरू कान्स पुगेका हुन्, फिल्म बनाउने लगानी खोज्न । 

जुलाई ६ देखि १७ सम्म चल्ने फ्रान्सको फिल्म फेस्टिभलमा समानान्तर रूपमा अर्को मेला पनि चलिरहेको छ । त्यो मेला हो, लगानी खोज्ने ।  ‘मासे डु फिल्म’ भनिने यो फिल्म मार्केटमा नै ३ नेपाली फिल्मकर्मी आफ्नो फिल्म लिएर पुगेका हुन् । 


‘मासे डु फिल्म’मा यतिबेला पासाङ दावा शेर्पाको ‘कुहिरोपारिको सहर’, राजन कठेत र सुनिर पाण्डेको ‘नो विन्टर होलिडे’ र सुबिना श्रेष्ठको ‘देवी’ लगानीकर्ता खोज्ने अभियानमा छन् । यसमध्ये ‘कुहिरोपारिको सहर’ फिचर फिल्म हो भने ‘नो विन्टर होलिडे’ र ‘देवी’ डकुमेन्ट्री । 

कान्समा पुगेका तीनै फिल्म विभिन्न प्रतियोगितामा जितेर त्यहाँसम्म पुगेका हुन् । जस्तो पासाङको ‘कुहिरोपारिको सहर’ले भारतको एनएफडीसी फिल्म बजारमा उत्कृष्ट ७ मा पर्दै ‘मासे दु फिल्म’सम्म को यात्रा तय गरेको हो । 

पासाङका अनुसार यो फिल्म यही वर्षको जनवरी १६ देखि २१ सम्म गोवामा चलेको फिल्म बजारमा २१ फिल्ममध्ये उत्कृष्ट ७ मा परेको हो । एनएफडीसीले सहभागी हुन आएका विश्वभरका ७ फिल्मलाई कान्सको फिल्म मार्केटका लागि सिफारिस गर्ने निर्णय गरेको हो । यसमा पासाङको ‘कुहिरोपारिको सहर’ पनि परेको हो । यसरी कान्सको फिल्म मार्केट पुगेको फिल्मका लागि लगानीकर्ता खोज्नेक्रम जारी रहेको निर्माता प्रेम अधिकारीले जानकारी गराए । 

कान्सको यो मार्केटमा जानेले वितरक, फिल्म फेस्टिभलका प्रतिनिधि, निर्माता, फिल्म फन्ड, को–प्रडक्सन कम्पनी आदिका प्रतिनिधिसामु आफ्नो फिल्मको विशेषताबारे बयान गर्न पाउँछन् । फिल्मको कथा वा प्रस्तुति मन पराउने जोकोहीले फिल्मका लागि सहकार्य गर्न इच्छा जनाएमा फिल्मले लगानीकर्ता वा फन्ड पाउँछ । वा वितरकले भविष्यमा फिल्म लिइदिने सम्झौता पनि गर्न सक्छन् । 

‘९ तारिख हाम्रो मुख्य प्रस्तुति थियो । योपछि व्यक्तिगत रूपमा १७ जनासँग कुरा भइसक्यो । सबैले एकदमै राम्रो रेस्पोन्स गरिरहनु भएको छ,’ प्रेमले भने, ‘केही न केही त लिएरै आउँछौं भन्ने लागेको छ ।’

कान्सको यो बजारबाहेक युरोपियन निर्माताहरूले पनि चासो देखाएकाले फिल्मले को–प्रडक्सन पाउनेमा प्रेम आशावादी छन् । अस्कर कलेज ग्रयाजुएट पासाङ स्वयंको लेखन रहेको फिल्मले महिलाको कथा प्रस्तुत गर्छ जो पक्षघात भएको कठोर मनको श्रीमान्को मन जित्ने असफल प्रयास गर्छे । सबै कुरा मिले यो फिल्म अर्को वर्ष फ्लोरमा लैजाने पासाङको तयारी छ । 

‘कुहिरोपारिको सहर’झैं राजन कठेत र सुनिर पाण्डेको ‘नो विन्टर होलिडे’ले पनि बीचको एउटा पुरस्कार जितेर कान्सको मार्केटमा ठाउँ बनाएको हो । यो फिल्मले गत मार्चमा सम्पन्न भएको ‘हङकङ एसिया फाइनान्सिङ फोरम (एचएएफ)’मा ‘एचएएफ गो टु दि कान्स’ जितेको थियो । डकुमेन्ट्री विधाको यो फिल्मले ‘वर्क इन प्रोग्रेस’ विधाअन्तर्गत १० हजार अमेरिकी डलर पनि जितेको निर्देशकमध्येका एक राजन कठेतले इकागजलाई जानकारी गराए । 

डकुमेन्ट्रीले ढोरपाटन क्षेत्रमा बस्ने दुई सौताले सँगै जाडो कटाउने कथालाई प्रस्तुत गर्ने राजन बताउँछन् । यो कथा भने उनीहरूले एउटा युट्युब भिडियोबाट लिएका हुन् । ‘हामीले युट्युबमा उहाँहरूको भिडियो हेरेका थियौँ । त्यो भिडियो पत्रकारिताको एंगलले बनाइएको थियो । हामीले त्यो कथामा स्कोप देखेपछि डकुमेन्ट्री बनाउने निर्णय गरेका हौँ,’ राजनले भने ।

राजनले डकुमेन्ट्री बनाउने भएपछि तीन महिना दुई महिलाको दैनिकीको अनुसन्धान गरेको र ७० दिन खिचेको बताए । ‘झट्ट सुन्दा कथा रोचक लागे पनि त्यसलाई कसरी न्यारेट गर्ने द्विविधा थियो । सम्पादनमा धेरै मेहनत गर्नुपर्यो । अहिले एउटा लाइन समातेका छौँ तर अझै एक पटक खिच्नुपर्ने भएको छ,’ राजनले भने । कान्सको बजारमा भने गत १० तारिख उनीहरूको प्रस्तुति थियो । त्यहाँबाट पनि राम्रै प्रतिक्रिया आएको राजनले जानकारी गराए ।

यसैगरी कान्सको बजारमा पुगेको सुबिना श्रेष्ठको ‘देवी’ पनि थुप्रै अवार्ड जित्दै ‘मासे दु फिल्म’मा पुगेको हो । डकुमेन्ट्री विधाको यो फिल्म बंगलादेशको ‘इन्टरनेसनल फिल्म इनिसिएटिभ अफ बंगलादेश’को ‘साउथ एसिया डक्स इन प्रोग्रेस’हुँदै कान्ससम्म पुगेको हो । यसअघि यो फिल्म  डकुमेन्ट्री विधाका फिल्मलाई फन्ड उपलब्ध गराउने लन्डनको ‘दि ह्विकर्स’ अवार्डको टप फाइभमा पर्न सफल भएको थियाे  । 

कान्समै पनि यो डकुमेन्ट्रीले ‘कान्स डक्स इन प्रोग्रेस’ विधामा ‘अनररी मेन्सन’ पाइसकेको छ । निर्देशक सुबिना श्रेष्ठले दुई दिनअघि मात्र सामाजिक सञ्जालमा यसको सूचना दिएकी छिन् । यो डकुमेन्ट्रीले भने ‘देवी’ नामकै पूर्व सशस्त्र लडाकुको कथा पेस गर्छ जो जनयुद्धको समयमा बलात्कारको सिकार हुन्छिन् । र, न्यायका लागि अनवरत संघर्षमा छिन् । 

दुई वर्षअघि प्रियंका कार्कीले कान्सले निम्त्याएर त्यहाँ पुग्ने पहिलो नेपाली कलाकार नै आफू भएको दाबी गरेपछि सर्वसाधारणबीच पनि कान्स फिल्म फेस्टिभल परिचित बनेको थियो । तर, प्रियंकाको कान्सको निम्तोमा पुग्ने पहिलो नेपाली कलाकारवाला दाबी कालान्तरमा झुठो निस्किएको थियो । प्रियंका कान्सको निम्तोमा नभई त्यहीँ हुने कुनै साइड इभेन्टमा सहभागिताका लागि पुगेकी थिइन् ।

बरु गत साल नै फिडेल देवकोटा निर्देशित फिल्म ‘काङलिङ’ कान्सको एटलियर डे सिने फाउन्डेसनमा विश्वभरबाट छानिएका १५ फिल्ममध्ये एकमा पर्न सफल भएको थियो । त्यसैगरी पूजा गुरुङ र विभूषण बस्नेतको निर्माणाधीन फिल्म ‘दि होल टाइमर्स’ पनि दुई वर्षअघि यही सेक्सनमा छानिएको थियो । मीन भामले निर्माण गर्ने तयारी गरिरहेको ‘अ इयर अफ कोल्ड’को स्क्रिप्टले पनि दुई वर्षअघि कान्सकै सिने फाउन्डेसनबाट ७५ हजार युरो पुरस्कार जित्न सफल भएको थियो । 


Author

सामीप्यराज तिमल्सेना

सिनेमा, संगीत र नाटक विधामा कलम चलाउने तिमल्सेना मनोरञ्जन ब्युरो चिफ हुन्।


थप समाचार
x