कला

ट्रेन्डिङको १ नम्बरमा आकाश-पूजाको ‘धर्ती आकाश’, अर्जुन–दुर्गा भन्छन्, ‘गज्जब प्रतिक्रिया पाइरहेका छौँ ’

इकागज |
साउन ३, २०७८ आइतबार ११:५८ बजे

काठमाडौं :  दुर्गा खरेल र रोशन अधिकारीले गाएको ‘धर्ती आकाश’ ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ । शुक्रबार साँझ रिलिज भएको गीत दुई दिन भित्रै एक नम्बर बन्न सफल भएको हो । 

उसो त ट्रेन्डिङमा आउनु मात्र कुनै गीतको सफलता हैन । यहाँ हरेक हप्ता ५० औं गीत रिलिज हुन्छन् र तीमध्ये कोही न कोही ट्रेन्डिङको एक नम्बरमा आउँछन् । तर, यसरी आउने सबै गीत दर्शकको मनमा बस्छन् भनै भन्ने कुनै ग्यारेन्टी हुन्न ।


तर, अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतलाई भने दर्शकले रुचाएका पनि छन् । यसको संकेत हो, यो गीतलाई ‘लाइक’ गर्ने संख्या अनि गीतमा आएका कमेन्ट । दुई दिन भित्रै यो गीतलाई ५४ हजार दर्शकले लाइक गरेका छन् भने गीतको भिडियोमा ६ हजार बढी दर्शकले कमेन्ट गरेका छन् । दुई दिन नुपुग्दै गीतले १० लाख दर्शक पाएको छ ।  

संगीतकार अर्जुन पोखरेल धेरै पछि आफूले सार्वजनिक गरेको गीतमा यत्तिको प्रतिक्रिया पाएको बताउँछन् । ‘नबोली नबोली स्लिपर हिट जस्तो थियो । विस्तारै विस्तारै मन पराउँदै यसले करोडको यात्रा तय गरेको थियो । तर, यो गीत अझ आक्रामक हिसाबले गएको छ । छोटो समयमै ट्रेन्डिङको १ नम्बरको यात्रा गरेकोले मात्र होइन, व्यक्तिगत रुपमा पनि गीतलाई लिएर मैले सकारात्मक प्रतिक्रिया पाइरहेको छु,’ अर्जुनले भने । 

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल । 

केही समय अघि मात्र डान्सिङ नम्बर ‘काले केटा २’ ल्याएकी गायिका दुर्गा खरेल पनि यो गीतले पाएको प्रारम्भिक प्रतिक्रियाबाट उत्साहित छिन् । मेलोडियस गीत गाउँदै सांगीतिक दुनियाँमा पहिचान बनाएकी दुर्गाले बीचमा डान्सिङ नम्बर गाए पनि आफूलाई यस्तै गीत मनपर्ने बताइन् । 

‘स्टेजमा डान्सिङ नम्बरका गीतको पनि डिमान्ड हुनाले हामी त्यस्ता गीत पनि गाउँछौं । तर, मेरो व्यक्तिगत रुचि यस्तै गीत गाउनमा हो,’ दुर्गाको भनाइ छ । 
दुर्गालाई युगन गायनमा रोशन अधिकारीले साथ दिएका छन् । संगीतकार पोखरेलले उनको आवाज मन परेर उनलाई यो गीत गाउन दिएको बताए ।
‘उहाँ मसँग एउटा गीत गर्न आउनु भएको थियो । उहाँको आवाज मीठो लागेपछि मैले यो गीतमा सहकार्य गरेको हुँ,’ पोखरेलले भने । 

गीतको मर्मलाई भिडियोले मजाले आत्मसात गरेको छ । विधान कार्कीले निर्देशन गरेको भिडियो मुस्ताङ र धम्पुसमा खिचिएको हो । उत्सव दाहालको छायांकन रहेको गीतले धेरै बिग बजेट फिल्मको गीतलाई बिर्साउँछ । 

भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्माको अभिनय रहेको छ । र दुवैको अभिनय रहेको गीत यो समयमा आएको छ जब दुवैको ब्रेकअपको खबरले फ्यान मर्माहत छन् । अझ गीत सार्वजनिक गर्ने कार्यक्रममा नै पूजाले रुवाबासी गरेपछि त गीतले झनै माइलेज पाएको छ । गीतका शब्दले ब्रेकअप अघि पूजा–आकाशले व्यक्त गर्ने भावलाई आत्मसात गरेको धेरैले महसुस गरेका छन् । 

आकाश श्रेष्ठ र पूजा शर्माका साथ अर्जुन र दुर्गा 


Author

थप समाचार
x