कला

जीवनमा बाबुको नियन्त्रण रहुन्जेल गीत नगाउने ब्रिट्नीको घोषणा

इकागज |
साउन ४, २०७८ सोमबार १४:१२ बजे

लसएन्जल्स :  गायिका तथा नायिका ब्रिट्नी स्पेयर्स एक महिनादेखि आफ्नै बुबाविरुद्ध कानुनी लडाइँ लडिरहेकी छिन् । ब्रिट्नीले बुबालाई संरक्षणकर्ताको जिम्मेवारीबाट हटाउन माग गर्दै लसएन्जल्स अदालतमा फिराद गरेकी थिइन् जुन अदालतले मानेन ।

लामो समयपछि चलेको बहसपछि ब्रिट्नीले आफ्नो रोजाइको वकिल राख्नेसम्म अधिकार पाइन् जुन निर्णयबाट ब्रिट्नी खुशी छैनन् । ब्रिटनीले दुई हप्ता अघि अदालतमा आफ्नो कुरा राख्दै आफू ठीक रहेको अभिनय गरे पनि भित्र ठीक नभएको खुलासा गरेकी थिइन् ।


यो क्रममा उनले बुबाका कारण आमा बन्ने अधिकारबाट समेत बञ्चित बताएकी थिइन् । उनको गुहार थियो, बुबालाई सन् २००८ देखि बनाइएको कन्जरभेटरसिपबाट बेदखल गरियोस् । 

तर, अदालतले ब्रिट्नी पूर्णतया निको नभइसकेको प्रमाणलाई विश्वास गर्दै उनको आग्रह खारेज गरेको थियो । अदालतको यो निर्णयले क्षुब्ध बनेकी ब्रिट्नीले आइतबार इन्स्टामा यो निर्णयको आलोचना गर्दै आफ्नो जीवन र कमाइमा बुबाको नियन्त्रण रहुन्जले गीतै नगाउने घोषणा गरेकी छिन् । 

‘यो कन्जरभेटरसिपले मेरा सबै सपना मार्यो,’ इन्स्टामा पोस्ट गरिएको लामो पोस्टमा उनले लेखेकी छिन्, ‘ त्यसैले मसँग अब आस मात्र बाँकी छ ।’ सन् २०१८ देखि सार्वजनिक कार्यक्रममा नदेखिएकी ब्रिट्नीले अगाडि लेखेकी छिन्, ‘ मैले के लाउने, भन्ने, सुन्ने आदि कुराको नियन्त्रण बुबाले गरुन्जेल म स्टेजमा देखिन्न । बरु टन्न मेकअप गरेर स्टेजमा भएको महसुस गरेर बस्छु ।’

यही वर्ष उनको जीवन माथि बनेको डकुमेन्ट्री ‘फ्रेमिङ ब्रिट्नी स्पेयर्स’ सार्वजनिक भएपछि कन्जरभेटरसिपको कुरा सतहमा आएको थियो । ब्रिट्नीको पक्ष लिँदै धेरै हलिउड सेलेब्रिटीले ब्रिट्नीको स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए ।  अदालतमा विचाराधिन यो मुद्दाको २९ सेम्टेम्बरमा अर्को सुनुवाई तोकिएको छ ।  


Author

थप समाचार
x