कला

पेनेलोप क्रुजको ‘प्यारालल मदर्स’ भेनिसको ओपनिङ फिल्म

इकागज |
साउन ४, २०७८ सोमबार १६:३५ बजे

इटाली :  सेप्टेम्बरबाट सुरु हुने इटालीको भेनिस फिल्म फेस्टिभल पेड्रो अल्माडोरको ‘प्यारालल मदर्स’ सँगै ओपनिङ हुने भएको छ । फिल्ममा पेनलप क्रुजको मुख्य भूमिका रहेको छ । 

महामारीको समयमा सुटिङ भएको प्रतीक्षित फिल्म उत्कृष्ट पुरस्कारका लागि पनि प्रतिस्पर्धामा रहनेछ ।  पेड्रो र पेनलपको यो दोस्रो सहकार्य हो । दुवैले यसअघि सन् २०१९ मा रिलिज भएको फिल्म ‘पेन एन्ड ग्लोरी’मा सहकार्य गरेका थिए । फिल्ममा एन्टिनियो भेन्डरस पनि महत्वपूर्ण भूमिकामा थिए । फिल्म अस्करमा अन्तर्राष्ट्रिय फिचर फिल्मतर्फ पनि अन्तिम ५ मा मनोनयनमा परेको थियो । 


पेड्रोको यो फिल्मले तीन आमाको कथा पेस गर्छ जो फरक फरक मातृत्वको अनुभव लिएर बसेका छन् । फेस्टिभल आफ्नो फिल्मसँगै सुरुवात हुने कुराले उत्साहित बनाएको पेड्रोले बताएका छन् । ‘निर्देशकको रुपमा मेरो जन्म यही फेस्टिभलबाटै भएको हो ।

३८ वर्षपछि यही फेस्टिभलमा आफ्नो फिल्म सुरुवात गर्न पाउँदा खुशीको सीमा छैन । यो सम्मान म वर्णन गर्न पनि सक्दिन,’ पेड्रोको भनाइ छ,‘म फेस्टिभल प्रति कृतज्ञ छु र अपेक्षामा खरो उत्रने प्रयास गर्नेछु ।’

फेस्टिभलले यसअघि नै बिग बजेट ‘ड्युन’ वल्र्ड प्रिमियर हुने जानकारी गराइसकेको छ । योबाहेक ‘हलोविन किल्स’, ‘दि पावर अफ डग’, ‘स्पेन्सर’जस्ता ठूला स्टारको अभिनय रहेको फिल्मले पनि भेनिसबाटै प्रदर्शन यात्रा सुरु गर्दैछन् ।

भेनिसको ७८ औं संस्करण सेप्टेम्बर १ बाट सुरु भएर ११ सम्म चल्नेछ । यो पटक फेस्टिभलको मुख्य निर्णायकको जिम्मेवारी ‘प्यारासाइट’ निर्देशक बङ जून होले निर्वाह गर्दैछन् भने फेस्टिभलले ‘लाइफ इज ब्युटिफुल’ निर्देशक रोबेर्टो बेनिग्नीलाई लाइफ टाइम अचिभमेन्ट प्रदान गर्दैछ । 
 


Author

थप समाचार
x