कला

‘पर्खी बसेँ २’ मा पल र मालिकाको जोडी !

इकागज |
साउन ७, २०७८ १२:१५ बजे

काठमाडौं :  म्युजिक भिडियोमा रुचाइएको जोडी पल शाह र मालिका महतको जोडी ‘पर्खी बसेँ २’मा पनि देखिने भएको छ । निर्माण कम्पनीले गोपीकृष्ण मुभिज्ले दुवैसँग मौखित रुपमा सहमति गरेको र केही दिनमै दुवैसँग सम्झौता गर्ने जनाएको छ । 

‘फूलबुट्टे सारी’ र ‘टाढा भए पनि’ बोलका दुई गीतमा पल र मालिकाको जोडी रुचाइए पछि दुवैलाई लिएर म्युजिक भिडियो बनाउने र फिल्म बनाउने निर्माताको रुचि ह्वात्तै बढेको हो । जोडीको यही क्रेजलाई मध्येनजर गर्दै गोपीकृष्णले पनि फिल्ममा यो जोडी लिन लागेको बताइएको छ ।


ADVERTISEMENT

दोस्रो वेभ साम्य भएर दैनिकी सामान्य हुन थालेसँगै फिल्मकर्मी सुटिङको तयारीमा लागेका छन् । सुटिङको समयमा महामारीको दोस्रो वेभ आएर सरकारले लकडाउन घोषणा गरेपछि सुटिङमा रहेका फिल्म ‘प्याकअप’ गर्न बाध्य भएका थिए भने सुटिङमा निस्कन ठीक्क परेका फिल्म पनि थन्किएका थिए । 

यसरी घोषणा गरेर थन्किएका फिल्ममा ‘पर्खी बसेँ २’ पनि एक थियो । गोपीकृष्ण मुभिज र हिमालय फिल्मस्को ब्यानरमा फिल्म बन्ने भनी सम्झौतासमेत भएका फोटो सञ्चारमाध्यममा सार्वजनिक भएका थिए । गोपीकृष्णले २०६५ सालमा बनाएको यो फिल्मको सिक्वेल निर्देशनको अभिभारा ‘लभ डायरिज’ निर्देशक  सौरभ चौधरीलाई दिइएको थियो । बीचैमा सौरभ यो फिल्म छाडेर ‘प्रसाद २’ निर्देशन गर्न लागेका थिए । तर, निर्माण टिमले उनैलाई लिएर फिल्मको काम अगाडि बढाउने निधो गरेको स्रोतले बतायो । 

फिल्ममा एक हिरो र दुई हिरोइन रहने बताइएको छ । आजभन्दा १४ वर्षअघि बनेको यो फिल्म राजबल्लभ कोइरालाको डेब्यु फिल्म थियो । फिल्ममा निखिल उप्रेती र युना उप्रेतीको पनि मुख्य भूमिका रहेको थियो । एक दक्षिण भारतीय फिल्मबाट हुबहु नक्कल गरी बनाइएको यो फिल्मको निर्देशन दीपक श्रेष्ठले गरेका थिए । 



Author

थप समाचार