कला

‘ब्ल्याक विडो’ ढंगले रिलिज नगरेको भन्दै स्कारलेटले हालिन् डिज्नेविरुद्ध मुद्दा

इकागज |
साउन १५, २०७८ शुक्रबार १३:० बजे

लसएन्जल्स :  ‘ब्ल्याक विडो’ अभिनेत्री स्कारलेट जोन्सनले आफ्नै फिल्मका वितरकविरुद्ध मुद्दा हालेकी छिन् । जोन्सनले सम्झौताअनुसार आफ्नो फिल्म रिलिज नगरेको भन्दै डिज्ने कोलाई मुद्दा हालेकी हुन् । जोन्सनको फिल्म हलसँगै डिज्नेको स्ट्रिमिङ साइट डिज्ने प्लसमा पनि रिलिज भएको थियो । 

मार्भलको ‘ब्ल्याक विडो’ हलसँगै स्ट्रिमिङ साइटमा रिलिजमा कयौं फिल्ममध्ये एक थियो । जोन्सनले स्ट्रिमिङ साइटको व्यापार बढाउन हल रिलिजमा सम्झौता गरिएको भन्दै असन्तुष्टि जनाएकी हुन् । जोन्सनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘मार्भलसँगको सम्झौताका बखत फिल्मलाई राम्ररी रिलिज गर्ने भनिएको थियो । तर डिज्नेले हस्तक्षेप गरेर राम्ररी रिलिज हुन पाएन ।’


त्यसैगरी जोन्सनले दायर गरेको मुद्दामा डिज्नेले जानी जानी बजार पुरै नखुल्दै फिल्म रिलिज गरेको र यसो गर्नुका पछाडि डिज्ने प्लसको व्यापार बढाउने उद्देश्य रहेको पनि जिकिर गरिएको छ । मार्भलको फिल्म डिज्नेमा रिलिज गर्दा जोन्सनको कुरालाई ध्यान नदिएको पनि आरोप लगाइएको छ । 

जोन्सनको मुद्दामा प्रतिक्रिया दिँदै डिज्ने प्रवक्ताले जोन्सनले मुद्दा मामिला गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । आफूहरूले जोन्सनसँगको सम्झौताअनुसार नै फिल्म रिलिज गरेको पनि उनको जिकिर छ । उनले सम्झौताअनुसार थप २० मिलियन अमेरिकी डलर बराबरको रकम लगिसकेको पनि दाबी गरेका छन् । 
जोन्सनले केही दिन अघि मात्र आफू मार्भलको फिल्मको नदेखिने घोषणा गरेकी थिइन् । यो घोषणाको साता नबित्दै उनले डिज्नेविरुद्ध मुद्दा हालेकी हुन् । 


Author

थप समाचार
x