कला

मदन पुरस्कारको नजरमा गत वर्षका ९ किताब , ‘कल्पग्रन्थ’देखि ‘करिया’सम्म

इकागज |
साउन १५, २०७८ शुक्रबार १७:३३ बजे

काठमाडौं : मदन पुरस्कार गुठीले २०७७ सालमा प्रकाशित पुस्तकहरू मध्येबाट ९ वटा पुस्तकको सूची प्रकाशित गरेको छ । गुठीले केही वर्ष यता वर्षभरि प्रकाशित पुस्तकबाट उत्कृष्ट १० पुस्तकको सूची निकाली त्यसमध्ये एकलाई पुरस्कृत गर्दै आएको छ ।

यो साल भने गुठीले ९ वटा मात्र पुस्तकको नाम सार्वजनिक गरेको हो । गुठीले अघिल्लो वर्ष मदन पुरस्कार गुठीमा दर्ता भएका २ सय २२ पुस्तकबाट सूची निकालेको जनाएको छ । यसैगरी सूची प्रकाशित गर्दा अप्रकाशित सामाग्रीहरूको बाहुल्य रहेको पुस्तकलाई छनौटको आधार बनाइएको पनि जनाइएको छ । 


यसरी छनोट भएका पुस्तकमा गिरि श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको  ‘ फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’, भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह सम्वत् १७१९–२०२० रहेका छन् । 

अघिल्ला वर्षहरूमा मदन पुरस्कार गुठीले आत्मकथाका पुस्तक सूचीकृत गर्दै केही आत्म प्रशंसाले ओतप्रोत भएका भरिएका कृतिलाई पनि पुरस्कृत गरेको थियो जसलाई लिएर मदन पुरस्कारले आलोचना खेप्नु परेको थियो । यो साल पनि थुप्रै प्रतिष्ठित व्यक्तिका आत्मकथा प्रकाशित भएका थिए तर गुठीले त्यस्ता किताबलाई सम्भावित विजेताको सूचीमा अटाएको छैन । 

गुठीले केही समयपछि विजेता कृतिको नाम प्रकाशित गरी घटस्थापनाका दिन पुरस्कार प्रदान गर्दै आएको छ । गत साल भने महामारीका कारण भर्चुअल रूपमा पुरस्कार वितरण समारोह आयोजना गरिएको थियो । गत साल चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ले मदन पुरस्कार पाएको थियो भने प्रवासकी संगीतकार शान्ति ठटाललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको थियो । 


Author

थप समाचार
x