कला

किरण केसीलाई १ लाख ११ हजार राशिको वासुदेव लुइँटेल पुरस्कार

इकागज |
साउन १७, २०७८ आइतवार १२:५६ बजे

काठमाडौं :  यसवर्षको वासुदेव लुइँटेल पुरस्कार हास्यव्यङ्ग्य क्षेत्रमा आफ्नो चिनारी बनाएका कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ । वासुदेव–विद्यादेव लुइँटेल गुठीले वासुदेव लुइँटेल पुरस्कार ०७७ कलाकार केसीलाई दिने घोषणा गरेको हो ।

गत शुक्रबार साउन १५ गते बसेको गुठीको वैठकले कलाकारितासँगै कुनै समय गायनमा समेत आफ्नो उपस्थिति जनाइ सकेका केसीलाई १ लाख ११ हजार एक सय ११ रुपैयाँ, प्रतीक चिन्ह र कदरपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो । 


यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । हास्यव्यङ्ग्य साहित्य, कला र अभिनयका फाँटमा कार्यरत सिर्जनशील प्रतिभाहरू मध्येबाट छनोट गरी सो पुरस्कार दिइँदै आएको गुठीले जनाएको छ । 

वासुदेव शर्मा लुइँटेलले ०२३ सालमा कौवा प्रकाशन खोलेर आफूसहित भैरव अर्याल, दाताराम शर्मा, घटोत्कच शर्मा, रामकुमार पाँडेलगायत लेखकका हास्यव्यङ्ग्यसम्बन्धी दर्जनौँ पुस्तक प्रकाशन गरेका थिए । उनैले ०५० सालमा वासुदेव विद्यादेव गुठी स्थापना गरेर प्रत्येक वर्ष हँस्यव्यङ्ग्य क्षेत्रमा पुरस्कार प्रदान गर्ने सुरुवात गरेका थिए ।

कलाकारसँगै फिल्म निर्मातासमेत रहेका केसीले पछिल्लो समय निर्माण गरेको फिल्म हो , ‘लक्का जवान’ । रिलिजको लागि तयार रहेको फिल्म कोरोना भाइरसको महामारीका कारण प्रदर्शन हुन् सकेको छैन । यसका साथै उनी पछिल्लो समय विज्ञापन , म्युजिक भिडियो , टेलिफिल्ममा व्यस्त छन् ।


Author

थप समाचार
x