कला

भुवन केसी–दीपाश्री सम्बन्धः  पहिले ‘जोकर’ अहिले ‘साझेदार’ !

इकागज |
साउन १८, २०७८ सोमबार ११:४९ बजे

काठमाडौं :  भुवन केसी र दीपाश्री निरौलाको समूह नेपाली सिनेमाको ‘पावर हाउस’ मानिन्छ । फिल्मले गर्ने व्यापारको मामलामा दीपाश्रीको समूह अगाडि छ तर खर्चिलो र ग्लसी सिनेमा बनाउने निर्माताको रुपमा भुवन केसी हाराहारी मानिन्छन् ।

आआफ्नो खाले सिनेमाका उस्ताद दुवैको सहकार्य फिल्ममा जुरेको छैन तर शनिबार सार्वजनिक भएको एउटा भिडियोमा दीपाश्री र भुवन केसीले धक फुकाएर कम्मर भाँचेका छन् । तीजको गीतमा त्यति त गर्न पनि पर्यो । तर, गीत सार्वजनिक कार्यक्रममा भुवन केसी र दीपाश्री निरौलाबीचको न्यानोले धेरैको ध्यान खिच्यो । दुवैले कार्यक्रममा आफूहरू बीच सदाकाल सौहाद्रपूर्ण सम्बन्ध रहेको पनि दाबी गरे । 


तर, भुवन र दीपाले सम्बन्ध ठीकठाक छ भनेको साँचो हो तर यो अलि ठीक भएको हो दीपाश्रीको महानायक काण्डपछि ।  । कुनै समय भुवन केसी र दीपाश्री निरौलाको समूहबीच शीत युद्ध थियो । भुवन केसीले दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले बनाउँदै गरेका सिनेमालाई ‘जोकर’का सिनेमा भन्थे । अनौपचारिक कुराकानीमा उनले यो समूहलाई ‘जोकर’ भन्थे । 

तर, अघिल्लो लकडाउनमा दीपाश्री निरौलाले राजेश हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि सारा देश दीपाश्रीमाथि खनियो । दीपाले दोहो¥याएर, तेह¥याएर माफी मागिन् । राजेश हमाललाई महानायक हैनस् भनेर दीपाश्रीले भुवन केसीको मुखको कुरा बोलिदिएकी थिइन् ।

किनकि भुवन केसी पनि राजेश हमाललाई महानायक भनिने गरेकोमा असन्तुष्ट रहँदै आएका थिए । दीपाश्रीले यही कुरा भनिदिएपछि भुवन दीपासँग नजिकिए । सारा देश दीपाको विरुद्ध लागेको बेलामा भुवनले ‘दीपा आइ एम विद यु’ भनेर सान्त्वना दिए । यहीँबाट भुवन र दीपाको समूह नजिकियो । 

लकडाउन खुकुलो भएसँगै भुवन केसी र दीपक–दीपा मिलेर फिल्म बनाउन लागेको समाचार आयो । मिलेर फिल्म बनाउने भने पनि यसको पहिलो प्रस्ताव भुवन केसीको थियो । भुवन केसीले दीपकराज गिरी र दीपाश्री निरौला अटाउने फिल्मको कथा लिएर गएका थिए ।

निर्माण उनले गर्ने र अभिनय तथा निर्देशन दीपक–दीपाको समूहले गर्ने । तर, उद्योग खुल्नै नपाई बन्द भएपछि यो प्रस्ताव ज्यूँका त्यूँ छ । अस्ति गीत सार्वजनिक कार्यक्रममा दीपाश्रीले साझेदारीको कुरा गरेको यही फिल्मको सन्दर्भमा हो । 

राजनीतिमा स्थायी शत्रु नहुने भनाइ प्रचलित छ । मनोरञ्जन उद्योगमा यो सबैभन्दा बढी लागू हुन्छ । आज काटाकाट परेको हुन्छ तर भोलि कतिबेला काँध मिलाउँछन्, पत्तै हुन्न । अहिले भुवन र दीपाबीच पनि भएको यही हो । अब महामारी यस्तै रहने हो भने त सँगै फिल्म बनाउने कुरा चाहिँ सम्झिने पानी छम्किने त होला !


Author

थप समाचार
x