कला

अ गुड अपोलोजी : प्रेमसम्बन्धमा आफूखुसी कि पार्टनरकाे खुसी ?

इकागज |
साउन १८, २०७८ सोमवार १३:५१ बजे

काठमाडौं :  प्लेब्याक थिएटर, थिएटरको यस्तो शैली हो जसमा दर्शकले सुनाएका कथालाई कलाकारले अभिनयको माध्यमबाट तुरुन्तै अभिव्यक्ति दिन्छन् । सन् १९९० पछि प्रचलनमा आएको नाटकको यो शैली पछिल्लो समय थेरापीका लागि समेत प्रयोग गरिन्छ । 

नेपालमा पनि यो शैली नाट्यकर्मीबीच प्रचलनमा छ । काठमाडौंमा रहेका मण्डला तथा कौशी थिएटरले प्लेब्याक गरेर समसामयिक मुद्दालाई नाटकीय स्वरुप दिँदै आएका छन् । 


कौशी थिएटरले नाटकको यो स्वरुपलाई दुरुस्त प्रयोग गरेर लघु फिल्म बनाएको छ । केही दिनअघि मात्र कथा घेराको युट्युबमा सार्वजनिक भएको ‘अ गुड अपोलोजी’ यही प्लेब्याक शैली पछ्याउँदै बनाएको फिल्म हो । फिल्मलाई सुदाम सिकेले निर्देशन गरेका हुन् । फिल्ममा लेखनसमेत उनकै रहेको छ । 

फिल्म सुरु हुन्छ, आकांक्षा कार्कीले प्रदीप नामक चरित्रले पठाएको कथालाई कलाकारले चिठ्ठीको रुपमा प्रस्तुत गरेबाट । यो क्रममा कलाकारहरू इंगी होपो कोइँच सुनुवार, रोशनी स्याङबो, बिनिता गुरुङ र अर्चना पन्थी पर्दामा देखिन्छन् ।

 छोटो संवाद बोल्दै हराउने उनीहरूको संवादबाट बुझिन्छ, प्रदीप भन्ने मानिस आफ्नो कपाल नभएको कुराले दुःखी छन् । पर्दामा देखिएका कलाकारहरू मध्ये केहीले काइँयो बनेर प्रदीपलाई सम्झाउँछन् त कसैले फुटेको ऐना । कसैले भने मन बनेर । 

फिल्ममा २ मिनेट भित्र देखिने यी दृश्यले प्लेब्याक थिएटरको मर्म बुझाउँछन् । तर, यहाँपछि सुरु हुने कथा फिल्मको मुख्य अंश हो जहाँ आशा नामक युवतीले ७ वर्ष अगाडिको एउटा घटना सुनाउँछिन् । आशाका अनुसार उनी विगतमा कोही केटासँग सम्बन्धमा हुन्छिन् जसलाई उनले मन पनि पराउँछिन् । तर, केटाले अलि चाँडै फिजिकल हुन खोजेको कुरा उनलाई बिझाउँछ । केटाले छुँदा , किस गर्न खोज्दा उनलाई अप्ठेरो लाग्छ । यही बहानामा दुवैको सम्बन्ध सकिन्छ ।

तर, युवकसँग सम्बन्ध तोडे पनि उनलाई ती दिनले छाडेका छैनन् । उनलाई युवकसँग हुँदाका क्षणले पिरोलिरहेका छन् । उनले प्लेब्याकमा यही कथा सुनाउँछिन् ।
यो कथा थिएटरमा काम गर्ने साथी बिनिता गुरु‌ंगले सुनिरहँदा सचिन मल्लले पनि सुन्‍न पुग्छन् जाे यसबेला  बिनितासँगै बसिरहेका छन् ।  

आशाले व्यक्त गरेको पीडाले उसलाई आफ्नो गल्ती महसुस हुन्छ । पार्टनरको पूर्ण सहमतिविना शारीरिक सम्बन्ध राख्नु गलत रहेछ भन्ने ज्ञान हुन्छ । युवक पश्चातापको भुंग्रोमा पिल्सिन्छ । र उसले केही समयपछि आशाले कथा सुनाएकै प्लेटफर्ममा गएर माफी माग्छ ।  

तर, मिहिन गरी हेर्दा बुझिन्छ केटाले माफी मागेको भने आशालाई हैन, सहजीकरण गरिरहेकी आकांक्षलाई हो । युवकको आवाज सुन्ने बित्तिकै आकांक्षाको आवाजमा आएको परिवर्तन, अनुहारमा आएको परिवर्तन आदि कुराले युवकले यौन हिंसा गरेकी युवती आकांक्षा नै हुन् भन्ने प्रष्ट हुँदै जान्छन् । यो दृश्यमार्फत निर्देशकले यौन हिंसाका यस्ता घटना एकादुईमा मात्र भइरहेका छैनन्, सर्वत्र भइरहेका छन् भन्ने सन्देश दिन खोजेका छन् । 

कथा घेराले निर्माण गरेको यो फिल्मको कथा र निर्देशन सुदाम सिकेले गरेका हुन् । सुदाम आफैं पनि थिएटर आर्टिस्ट हुन् । त्यसको प्रभाव फिल्मको समग्र फिल्म निर्माणमा देखिएको छ । फिल्मको कथा वाचनका लागि सुदामले प्लेब्याकको शैली र त्यसको गुण सर्लक्क ग्रहण गरेका छन् ।

एकै खाले शैलीमा यस्ता कथा भनिरहेकोमा फिल्ममा यो शैली नयाँ लाग्छ । तर, प्लेब्याकको शैली नबुझेका दर्शकलाई के भइरहेको छ बुझ्न गाह्रो पर्छ । यसैगरी फिल्मको मुख्य घटना,युवकले छुन खोजेको र युवतीलाई असहज भएको कुरा संवादमा सीमित गरिँदा यसले दर्शकमा अपेक्षित प्रभाव पार्न नसकेको महसुस हुन्छ ।

ब्याकको शैलीका कारण पीडित प्रत्यक्ष नदेखिने कुरा निर्देशकले पीडितलाई पर्दामा जानाजान लुकाएको कुरा बुझ्न सकिन्छ । तर, निर्देशकले पीडकलाई भने राम्ररी प्रस्तुत गरेका छन् । यसो गरिरहँदा सुदामले यौन दुव्यर्वहार जस्ता संवेदनशील मुद्दामा पीडितभन्दा पीडकलाई पिछा गर्नुपर्छ भन्ने सन्देश स्थापित गर्न खोजेका छन् । यो सुदामको निर्देशकीय सुझबुझ र परिपक्वता हो । 

फिल्म कहीँ कमजोर जस्तो महसुस हुन्छ भने त्यो कलाकारको डाइलग डेलिभरीमा हो । संवाद अलि धेरै बनावटी हिसाबले बोलेको र भावलाई राम्ररी अभिव्यक्त गर्न नसकेको भान हुन्छ । खास गरी सचिन मल्ल र विनिताबीचको संवादमा यो कमी महसुस गर्न सकिन्छ ।

तर, फिल्मको कथा र यसलाई प्रस्तुत गर्ने शैलीले यस्ता सानातिना कमजोरी दर्शकलाई बिझाउँदैनन् । फिल्ममा रजिला श्रेष्ठको छायांकन कथा सुहाउँदो छ । अनुहारले भाव बताउने दृश्यमा उनले क्लोजअप सटको राम्रो प्रयोग गरेकी छिन् । कृष्ण भण्डारीको सम्पादन पनि चुस्त छ । 

यौन दुव्र्यवहार यस्तो मुद्दा हो जुन हामीले दिनदिनै भोगिरहेका हुन्छौं, भोग्न बाध्य पारिरहेका हुन्छौं तर महसुस गरिरहेका हुँदैनौँ । यस्तो विषयलाई लिएर फिल्म बन्नु, सुखद पक्ष हो । कथा घेरा र सुदामको यो प्रयास स्तुत्य छ । 

 


Author

थप समाचार
x