कला

‘मनी हाइस्ट’को अन्तिम भाग : के प्रोफसरका सबै दाउ सकिएका हुन् ? (ट्रेलर)

इकागज |
साउन १९, २०७८ मंगलबार १३:३० बजे

 अन्तिम सिजनसँगै शृंखला अन्त्य गर्ने घोषणा गरेको ‘मनी हाइस्ट’ले अन्तिम भागको पहिलो भोल्युमको ट्रेलर सार्वजनिक गरेको छ । नेटफ्लिक्सले केही समय पहिलेनै अन्तिम सिजन दुई भागमा आउने जनाएको थियो । योमध्ये पहिलो भाग सेप्टेम्बर ३ मा रिलिज हुँदैछ । सोमबार साँझ सार्वजनिक ट्रेलरमा स्पेनको ब्यांक कसरी युद्धभूमिमा परिणत हुन्छ भन्ने कुरा देखाइएको छ । 

यसअघिका शृंखलामा प्रोफेसरले अन्तिम समयमा स्पेन सरकारलाई रोक्ने कुनै न कुनै उपाय पत्ता लगाउँदै आएका थिए । तर, यो भागमा उनका सबै अस्त्र सकिएको र उनी भिड्ने मनस्थितिमा रहेको देखाइएको छ । त्योबाहेक ट्रेलरले फिल्मका मुख्य पात्र अलभारो मोर्टेलाई कसरी ब्लास्टमा उडाइन्छ र त्यसको रियाक्सन के रहन्छ भन्ने देखाइएको छ ।


केही समयअघि सार्वजनिक भएको टिजरमा यसको छोटो अंश देखाइएको थियो र फ्यान अलभारो गुमाउने कुराले दुःखी भएका थिए । तर, ट्रेलरको अन्तिम भागले  अलभारो मात्र होइन धेरै चरित्रलाई फ्यानले गुमाउनु पर्ने संकेत गरेको छ  । किनकि ट्रेलरमा सरकार र प्रोफेसरको ग्याङ भिडेको देखाइएको छ । 

‘मनी हाइस्ट’ विश्वको सर्वाधिक लोकप्रिय सिरिजमध्ये एकमा पर्छ । नेपालमा पनि यसका कम फ्यान छैनन् । यही कारण २४ घन्टा नबित्दै यसको ट्रेलर नेपालको युट्युब ट्रेन्डिङमा छ । यो समाचार तयार पार्दासम्म नेपालमा यो २२ औं नम्बरमा छ । यसरी विदेशी भाषाको ट्रेलर नेपालको ट्रेन्डिङमा पर्ने यदाकदा मात्र हुन्छ । 


 


Author

थप समाचार
x