कला

अद्भुत नाटक ‘राजकुमारी वनछङ’ खुला आकाशमा मञ्‍चन गरिने

अजय अलौकिक |
भदौ ५, २०७८ शनिवार १८:२ बजे

बेइजिङ- आजभन्दा तेह्र सय वर्षअघि तिब्बती राजा स्रङचन गम्पोले नेपाली राजकुमारी भृकुटीलाई विवाह गरेको कुरा हामी इतिहासमा पाउँछौँ । यसै गरी तिब्बती राजा गम्पोले चीनको थाङ (६१८-९०७) वंशीय राजकुमारी वनछङसँग पनि विवाह गरेका थिए । राजकुमारी वनछङको यही तिब्बत यात्राको इतिहासलाई लिएर सन् २०१३ देखि तिब्बतको ल्हासामा खुला आकाशमुनि भव्य नाटक प्रदर्शन गरिँदैआएको छ । 

तिब्बती राजासँग विवाह गर्न सोह्र वर्षीय थाङ राजकुमारीले असङ्ख्य नदी तर्दै, पहाड पर्वत काट्दै, हिमपात तथा प्राकृतिक प्रकोप सहेर तीन वर्ष लामो यात्रा तय गरी ल्हासा पुगेको इतिहास छ । यसै लामो यात्रा र प्रेमीप्रेमिकाको मिलनलाई करिब नब्बे मिनेट लामो नाटकमा उतारिएको छ ।


खुला आकाशमुनि मञ्चन गरिने नाटक र पृष्ठभूमिको पहाडलगायत वरिपरिका वस्तुहरूको प्रयोग, कलाकर्मीसँगै सर्वसाधारण किसानहरू गरी ८०० बढीको अभिनय, भेँडाको बथान तथा पात्रहरूको पहिरन, स्टेजको सजावटले दर्शकलाई प्राचीन समयमा नै पुर्याउँदछ । यसै गरी हिउँदको दृश्यमा दर्शक-दीर्घामै कृत्रिम हिउँ पारेर रोमाञ्चित बनाउनुका साथै न्यानो लुगाको आवश्यकता बोध गराउँदा आफै पनि उक्त नाटकको एक पात्र हो कि भन्ने महसुस गराउँदछ । 

यो अद्भुत नाटक तिब्बतको पोताला दरबार, जोखाङ मन्दिरजस्तै एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको छ । आयोजक संस्थाका अनुसार, यो नाटक प्रदर्शन थालेदेखि हालसम्म ३० लाख दर्शकले अवलोकन गरिसकेका छन् । 

साथै, यो वर्ष तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वर्ष हो । यही अगस्ट १९ तारिख ल्हासा सहरको पोताला दरबारचोकमा तिब्बत शान्तिपूर्ण मुक्त भएको सत्तरीऔँ वार्षिकोत्सव समारोह मनाइएको छ । यो ७० वर्षको अवधिमा तिब्बती जनताको जीवनस्तरमा निकै सुधार आएको छ, गाउँसहरमा ठूलो परिवर्तन देखिन्छ, विपन्नताबाट समृद्धउन्मुख छ । 

सन् १९५९ मा १७ करोड ४० लाख चिनियाँ युआनको तिब्बतको जीडीपीबाट सन् २०२० मा १ खर्ब ९० अर्ब २७ करोड ४० लाख चिनियाँ युआन पुगेको छ । अहिले स्थिर तथा समृद्ध अर्थतन्त्रका साथै पर्यावरणीय वातावरणमा पनि व्यापक सुधार भएको एउटा नयाँ तिब्बत देख्‍नपाइन्छ ।


Author

थप समाचार
x