कला

कंगनाको ‘थलाइवी’ ले विकेन्डमा कति कमायो ?

इकागज |
भदौ २८, २०७८ सोमवार १६:१५ बजे

मुम्बई - वर्षभरी समाचारमा छाएकी कंगना रनावतको फिल्म रिलिज हुँदा राम्रै भिड जम्मा हुने अपेक्षा थियो । केही वर्षदेखि बलिउडमा नातावादको बहसको नेतृत्व गरिरहेकी कंगनाले सुशान्त सिंह राजपुतको आत्महत्यापछि त यसलाई ब्रम्हास्त्र झैं सबतिर चलाइन् ।

यसमा उनलाई फिल्ममा ब्रेक दिने महेश भट्टदेखि ‘क्विन’मा मौका दिने अनुराग कश्यपसम्म सामेल थिए । तर कन्ट्रोभर्सीले फिल्मलाई फाइदा हुन्छ भन्ने दृष्टान्त कंगनाको पछिल्लो रिलिज ‘थलाइवी’मा देखिएन । तीन भाषामा एक साथ रिलिज भएको फिल्मलाई दर्शकले हेर्न जाने चेष्टा गरेनन् ।


 कंगनाको फिल्मले पहिलो दिन हिन्दी भाषाबाट २० लाख कमाइ गरेको थियो । तमिल र तेलगु भाषामा समेत गर्दा फिल्मले १ करोड २० लाख कमाइ गरेको थियो । 
हिन्दी भाषाको फिल्मका लागि महाराष्ट्र ठूलो बजार हो । यहाँ हल खुलेका छैनन् । त्यसका बावजुद २० लाखको मात्र व्यापार निकै कम भएको व्यापार विश्लेषकको टिप्पणी छ ।

महाराष्ट्र खुलेको भए पनि फिल्मले थप २० लाखको मात्र व्यापार गर्ने र यो कंगनाको फिल्मका सवालमा कमै नै हुने उनीहरूको राय छ ।  दोस्रो दिन फिल्मको कमाइमा थोरै बढोत्तरी भयो । फिल्मले शनिबार १ करोड ६४ लाख भारु कमाइ गर्यो जसमा हिन्दी भाषाको योगदान धेरै थियो । हिन्दी भर्सनबाट मात्र फिल्मले ९७ लाख कमाइ गरेको थियो । 

आइतबार शनिबारको भन्दा थप दर्शक हलमा देखिए । यो दिन फिल्मले हिन्दी भर्सनबाट १ करोडको व्यापार गर्यो भने बाँकी दुई भाषामा गरेर ९० लाख ।  तीन दिनमा फिल्मले ६ करोड हाराहारीको व्यापार गरेको छ जुन कंगनाको हकमा एकदमै कम हो । किनकि यसले समीक्षकबाट सकारात्मक समीक्षा पाएको थियो । फिल्ममा कंगना र अरविन्द स्वामीको अभिनयको सबैले तारिफ गरेका थिए भने निर्देशकको पनि तारिफ भएको थियो ।  
 


Author

थप समाचार
x