कला

करिष्माको 'महानायिका' पदवीमा भुवन केसी र शिव श्रेष्ठको कटाक्ष, दुवैको एकै स्वर :  गौरी मल्ल हाम्रो ‘महानायिका’

इकागज |
असोज ४, २०७८ सोमबार १०:२९ बजे

काठमाडौँ -  पहिलो पुस्ताका अभिनेता भुवन केसी र शिव श्रेष्ठले आफूहरुका लागि गौरी मल्ल महानायिका भएको बताएका छन् । आइतबार ‘डाँडाको बर पीपल’को गीत सार्वजनिक कार्यक्रममा दुवैले गौरी मल्ल महानायिकाको खास दाबेदार भएका बताए । अभिनयको कसीमा राखेर हेर्ने हो भने गौरी जस्तो सशक्त अभिनेत्री उद्योगले पाउन समय लाग्ने पनि दुवैको टिप्पणी थियो । 

अभिनेता भुवन केसीले फिल्मसँग कसरी जोडिन पुगेँ भन्ने सिलसिला बताउने क्रममा फिल्ममा शिव श्रेष्ठसँगै गौरी मल्लले पनि अभिनय गरिरहेको कुरा निर्देशक शोभित बस्नेतबाट थाहा पाएपछि आफू फिल्ममा अतिथि भूमिकामा पनि काम गर्न राजी भएको बताएका थिए । यही क्रममा उनले गौरी मल्ल आफ्ना लागि महानायिका भएको बताएपछि कार्यक्रममा महानायिका र अन्य उपाधिबीच बहस चलेको थियो । 


‘गौरीका् पहिलो फिल्म ‘सन्तान’देखि ‘कन्यादान’ हुँदै थुप्रै फिल्ममा मैले गौरीसँग काम गरेको छु । अहिले त पछिको पिढीमा पनि गौरी जस्तो अभिनयमा डुब्न सक्ने अभिनेत्री देखेको छैन । त्यसैले मेरो लागि गौरी महानायिका हो,’ भुवनको भनाइ थियो । भुवन केसीले ‘जे बोल्छु सत्य बोल्छु’ भन्दै गौरीलाई महानायिका मात्र होइन शिव श्रेष्ठलाई पनि महानायकको उपाधि दिएका थिए । 

‘शिव श्रेष्ठ यस्तो हिरो हो जसले पाकिस्तान थर्काएर नेपाल चिनायो । उहाँ पनि मेरो लागि महानायक हो’ भुवनले शिवको तारिफ गर्दै भने ।  भुवन केसीपछि बोलेका शिव श्रेष्ठले पनि गौरी मल्लको योगदानको चर्चा गर्दै उनलाई महानायिकाका कै रूपमा सम्बोधन गरे । 

‘अभिनयको दृष्टिकोणबाट हेर्ने हो भने गौरी साँच्चिकै महानायिका हो,’ शिवले भुवन केसीको प्रस्तावमा समर्थन जनाउँदै भने, ‘ उहाँ इन्स्टिच्युट हो । उहाँसँग सेटमा मैले सधैं सिकेको छु । आज उहाँको योगदान हेर्नुस् । आज म पत्रकारसँग अनुरोध गर्न चाहान्छु । तपाईंहरु हामीभन्दा अपडेटेड हुनुहुन्छ । सायद तपाईंहरुलाई पनि चित्त बुझ्यो होला गौरीलाई महानायिका भन्दा ।’

भुवन केसीको तारिफमा पनि केही समय खर्चिएका शिव श्रेष्ठले भुवन केसीलाई सुपरस्टार भन्दै उनलाई जादुगरको पनि संज्ञा दिएका थिए । ‘भुवन केसी हुन्थेन भने आज यो उद्योग यहाँ आइपुग्ने थिएन ।

उद्योग जब चुर्लुम्म डुबेको थियो त्यो बेला उहाँले करोडपति बनाएर उद्योगलाई जीवन दिनु भएको थियो’ शिवले भने,‘आजसम्म उद्योगका लागि भुवन केसीले जति गरेको छ त्यो अरु कसैले पनि गर्न सकेको छैन । आफूले मात्र नभएर अनमोल केसी दिएर पनि उहाँले योगदान गरिरहनु भएको छ ।’

दुवै हिरोले आफूलाई महानायिका भनेपछि गम्भीर बनेकी गौरीले आफूलाई उपाधिभन्दा पनि काम दिन आग्रह गरेकी थिइन् । ‘कसैले यो उपाधि लिएर रमाउन सक्छ भने त्यो उहाँहरूको कुरा हो । तर व्यक्तिगत रूपमा म रमाउन । मलाई उपाधि हैन काम दिनुस्’ गौरीको भनाइ थियो । 

केही समयअघि राजेश हमालको हातबाट करिष्मा मानन्धरले महानायिकाको पदवी लिएपछि महानायकसँगै महानायिकाको उपाधि पनि चर्चामा आएको थियो । एउटा कुनै संस्थाले करिष्मालाई महानायिका घोषणा गरेको थियो जसको मुख्य अतिथि राजेश हमाल थिए । यो कार्यक्रम जतिबेला भएको थियो जब राजेश हमालले संकटमा उपाधिअनुसारको काम नगरेको भन्दै दीपाश्री निरौलाले प्रश्न उठाएकी थिइन् । 


Author

थप समाचार
x